• आइतबार-चैत-३-२०८१

बागमती किनारको शङ्खमूल क्षेत्रबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन



काठमाडौँ, २ चैत : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ शङ्खमूलस्थित बागमती नदी किनारमा भएको सफाइबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 
 

बागमती सफाइ महाअभियानको ६१८औँ हप्तामा आज शङ्खमूल दोभानस्थित बागमतीको सेतो पुल क्षेत्रमा सफाइ गरिएको थियो । सफाइमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका पदाधिकारी एवं कर्मचारी, स्थानीयवासी, आलोकनगर बाग्मती सफाइ समूहको सक्रियता रहेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो । 

 

यही चैत ९ गते शनिबार ६१९औँ हप्तामा विशेष कार्यक्रम आयोजना गर्न लागिएको छ । विशेष कार्यक्रमका साथ गरिने उक्त दिनको सरसफाइ अभियानमा सहभागिताका लागि महाअभियानले अपिल गरेको छ । 

 

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियानअन्तर्गत प्रत्येक हप्ताको शनिबार सफाइ गर्ने गरिएको छ । महाअभियानबाट प्रभावित भएर देशका मुख्य नदी, सहर गरी १०८ भन्दा बढी स्थानमा सफाइ भइरहेको अभियानकर्मी डा माला खरेलले जानकारी दिनुभयो ।
---

 

प्रतिकृया दिनुहोस