• आइतबार-चैत-३-२०८१

क्लबस्तरीय ह्विलचियर बास्केटबल चैत ४ देखि


काठमाडौ । अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा चैत ४ गतेदेखि सुरु हुने भएको छ । 


नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए)को आयोजनामा हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते हुने तय भएको हो । संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

 

संघका अनुसार दुई दिन चल्ने प्रतियोगितामा पुरुषतर्फ सात र महिलातर्फ ६ गरी १३ टोलीले सहभागिता जनाउने पक्का भएको हो ।  प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताका टेक्निकल हेड तथा कमिस्नर प्रेमसुन्दर होनाका अनुसार पुरुषतर्फ समूह ‘ए’ मा दुई विभागीय टोली एपीएफ र आर्मीसहित इस्पाइनल कट इन्जरी नेटवर्क नेपाल (एससिआइएनएन) र ह्विलचियर स्पोट्र्स एसोसिएसन (डब्ल्युएसए) छन् । 


अर्को समूहमा बिआईए, नेपाल आदिवासी जनजाती अपांग संघ (एनआइडिए) र आयोजक टोली एनएससिआइए छन् । महिलातर्फ भने समूह ‘ए’ मा एससिआइएनएन, राष्ट्रिय आदिवासी अपांग महिला संघ नेपाल (निडवान) र आयोजक टोली एनएससिआइए छन् । अर्को समूहमा जावलाखेल ह्विलचियर स्पोट्र्स क्लब (जिडब्युएससी), डब्ल्युएसए र बिआइए छन् । 

 

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको पहिलो दिन १५ खेल हुनेछन् । यी सबै लिग चरणका खेल सकिएसँगै दोस्रो दिन सेमिफाइनल, फाइनल, तेस्रो र चौथो स्थानका लागि प्रतिस्पर्धा हुने टेक्निकल हेड होनाले जानकारी दिए । 

 

हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल विजेताले फाइनलमा स्थान बनाउने छन् । ‘पराजित हुने दुई÷दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्,’ उनले भने । प्रतियोगिताको पहिलो खेलमा पुरुषतर्फ एपिएफ र एससिआइएनएन भिड्ने छन् । महिलातर्फ जावलाखेलले डब्ल्युएसएलाई चुनौती प्रस्तुत गर्नेछन् ।

 

संघका अध्यक्ष देवी आचार्यका अनुसार महिला र पुरुष दुवै टिमको विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रोले ४० र तेस्रोले ३० हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको हाइ स्कोरर र सर्वोत्कृष्ट खेलाडीले समान तीन हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

यस प्रतियोगितामा सहभागी हुने सबै खेलाडीलाई जर्सीसहित प्रतिदिन एक हजार रुपैयाँ दरले यातायात खर्च र खाना खाजासमेत उपलब्ध गराइने उनले जानकारी दिइन् । यस प्रतियोगिता सम्पन्न गर्न १२ लाख २९ हजार रुपैयाँ लाग्ने आचार्यले जानकारी दिइन् । ‘मिति सर्दै जाँदा बल्लतल्ल ४ र ५ गते समय पाएका हौं । त्यसैले अनिश्चितता हुँदा तयारीका लागि पर्याप्त समय नै पाइनौं । छोटो समयमै विभिन्न निकायहरूमा आर्थिक सहयोग गर्न अनुरोध गरेका थियौं । तर, त्यसअनुसार सहयोग पाएनौं,’ उनले भनिन् ।

 

उनका अनुसार युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेश र प्रदेश खेलकुद विकास परिषद्बाट मात्रै सहयोग प्राप्त भएको छ । हालसम्म १० लाख रुपैयाँ उठेको अध्यक्ष आचार्यले जानकारी दिइन्। यसपल्ट राखेपले भेन्यु उपलब्ध गराएको छ । यस्तै, नेपाल बास्केटबल संघ र एनएससिआइएले सहकार्य गर्नेछन् ।

 

पत्रकार सम्मेलनमा संघका अध्यक्ष आचार्य र टेक्निकल हेड होना, महासचिव राजु खड्का, उपाध्यक्ष सुन्दर राई, सचिव रवीन्द्र खड्का, वरिष्ठ सदस्य अनन्त राईलगायतको उपस्थिति थियो ।
 

 

प्रतिकृया दिनुहोस