• शनिबार-फाल्गुण-१०-२०८१

गगन थापा भन्छन्– पूर्वराजालाई आफ्ना मत जाहेर गर्दा पक्राउ गर्न वा मुख बन्द गर्न हुँदैन

 

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले पूर्वराजालाई आफ्ना मत जाहेर गर्दा पक्राउ गर्न वा मुख बन्द गर्न आवश्यक नरहेको बताएका छन् । उनले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको पनि बताएका छन् ।

 

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जनताले पटकपटक तानाशाह शासन व्यवस्थाको अनुभूति गरेकाले लोकतन्त्रको विकल्प नसोचेको बताए । पूर्वराजाको शासनकालमा राष्ट्रद्रोहको मुद्दामा कांग्रेससहितका अन्य पार्टीका नेतालाई जेलमा हालेको उदाहरण रहेको भन्दै थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्ना मत जाहेर गर्दा पक्राउ गर्न वा मुख बन्द गर्न नहुने स्पष्ट पारे ।

 

‘गणतन्त्रको सुन्दर पक्ष भनेको पूर्वराजाले पनि नागरिकको हैसियतमा आफ्ना मत राख्ने स्वतन्त्रता पाएका छन् । विगतमा पूर्वराजाको शासनकालमा  राष्ट्रद्रोहको हामीले बोलेकै भरमा राज्यद्रोहको मुद्दामा जेलमा हालिएको थियो । पूर्वराजालाई आफ्ना मत जाहेर गरेकै भरमा पक्राउ गर्न वा मुख बन्द गर्न जादैनौँ’, थापाले भने । उनले प्रजातन्त्रमा नागरिकले मुलुकको व्यवस्थाप्रति होइन, सरकारको कामकारवाहीप्रति असन्तुष्टि निर्वाचनको माध्यमबाट व्यक्त गर्ने गरेको उल्लेख गरे ।

 

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा देशले अब धेरै दुःख र कष्ट सहन नसक्ने भन्दै आफूलाई साथ दिन आह्वा गरेका थिए । शाहको त्यस्तो आह्वानपछि राजावादी नेताहरु उत्साहित भएका छन् । तर गणतान्त्रिक नेताहरु भने रुष्ट बनेका छन् ।

प्रतिकृया दिनुहोस