युरोपेली मुलुक अन्य देश तथा समाजको तुलनामा कसरी बढी विकसित तथा समृद्ध छन् ? किन सर्वाधिक सुखी छन् ? कसरी उनीहरूको सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक विकास तीव्र भयो ? यसको अध्ययन–अनुसन्धानपछि नेपालको समृद्धि र सुखीका बारेका सोच निर्माण गर्नु पर्दछ । नेपालमा केही भएन र हुँदैन भनेर कोकोहोलो गर्ने सोचले नेपाल बन्दैन । नेपालमा पनि केही भयो । केही हुँदैछ । केही हुनेछ ।
आजको आधुनिक समाज र मान्यताले मानिसको निजी स्वतन्त्रलाई समृद्धिको लागि अनिवार्य तत्व मान्यो । मानिसका स्वतन्त्रतासँगै सामाजिक अवस्थामा वृद्धि हुने कुरा मानियो । धनी र भौतिक साधनस्रोत बढी भएर मात्र समृद्ध र सुखी हुने होइन । सामाजिक, सांस्कृतिक र मानवीय पक्षका अनेकौँ अवस्थामा सुधार हुनु आवश्यक छ । शिक्षा र स्वास्थ्यकोे स्तर समेत माथि उठन सकेको हुुनुपर्दछ । मानिसहरूले धन–सम्पत्तिलाई बढी महŒव दिएका कारण धेरै धन हुने व्यक्तिलाई मूल्याङ्कन गरियो । सूचना प्रविधिको बढी प्रयोग गरेर अमेरिका सर्वाधिक सम्पन्न भयो ।
समृद्धिबिनाको सुखीको औचित्य हुँदैन । सुखी हुन समृद्धि आवश्यक पर्दछ । सुखी नेपाली र समृद्ध नेपालको नाराले सार्थकता प्राप्त गर्न दुवैको उचित वृद्धि आवश्यक हुन्छ । नागरिक र व्यक्तिलाई चाहिने निजी स्वतन्त्रता, आधारभूत सेवा तथा सुविधा, सुरक्षा र संविधानले ग्यारेन्टी गरेको सम्मानपूर्वक बाँच्न पाउने अवस्थाको देखिने र अनुभूति गर्न सकिने प्रत्याभूतिबाट मात्र सुखी र समृद्धितर्फ अघि बढ्न सकिन्छ । यी पक्षमा पश्चिमा मुलुकहरू विश्वमा नै अघि देखिए । उनीहरूले उल्लिखित पक्षमा सदियौँदेखि ध्यान दिएका छन् ।
आधुनिक युगको चर्चा गर्दा सन् १७७६ को अमेरिकी स्वतन्त्रता सङ्ग्रामको घोषणामा थोमस जेफरसन (१७४३–१८२६) ले ‘परस्युइट अफ ह्यापीनेश’ लाई मानिसको स्वतन्त्रताजस्तै महŒव दिए । बेलायतका विधिशास्त्री जेरेमी बेन्थम (१७४८–१८३२) ले ‘युटिलिटी’ (उपयोगिता)को पक्षलाई स्थान दिनु पर्ने उल्लेख गरे । कानुनले ‘पेन’ लाई ‘एभ्वाइट’ गरेर ‘प्लेजर’ लाई बढाउन सक्नु पर्ने उनको मत रह्यो । जर्मनका दार्शनिक हेगेल (१७७०–१८३१) ले ‘आइडालिज्जम’ (आदर्शवाद)बाट मानवको सबै आवश्यकता पूर्ति हुने भने । धनी–गरीब हुने कुरालाई धर्म र पापसँग जोडे ।
जर्मनका दार्शनिक कार्ल माक्र्स (१८१८–१८८३) ले आइडालिज्जमलाई सुल्टो पारेर ‘मेट्रालिज्जम’ को वकालत गरे । द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको प्रतिपादन गरी धर्मलाई अफिमसँग तुलना गरिदिए । धनी र गरीब हुने कुरा वर्गीय शोषण हो भन्ने तर्क माक्र्सको रह्यो । भौतिकवाद र विज्ञानवाद, स्वतन्त्रता र प्रगतिको वकालत विश्वभर हुनथाल्यो । विज्ञानवादले आर्थिक र भौतिक सम्पन्नत्तालाई सुखीको आधार मान्यो । आर्थिक, भौतिक सुविधा, जीवनको सन्तुष्टी, सामाजिक र मनोवैज्ञानिक विषयका साथै नवीन विचारको रूपमा ‘फ्रिडम एण्ड सेल्फ कन्ट्रोल’ जस्तो अवधारणलाई ‘ह्यापीनेश’ आधार मान्न थालियो ।
पश्चिमा र युरोपियन दार्शनिकहरूले समृद्धिको लागि आर्थिक पक्षमा मात्र जोड नदिई व्यक्तिको निजी स्वतन्त्रता, चाहना र अधिकारको सुरक्षा र संरक्षण गर्नुपर्ने कुरामा बढी जोड दिए । दिगो विकासको आधुनिक मान्यताले समृद्धिको लागि आर्थिक वृद्धिलाई मात्र जोड दिनु नहुने कुरा अघि सा¥यो । यही कारण अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), विश्व बैंक, संयुक्त राष्ट्र सङ्घ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले समृद्धिमा मानव जीवनका सबै पक्षको सार्थक सन्तुलन हुनुपर्ने कुरा प्रस्ट गरेका छन् ।
विश्वमा समृद्धि
विश्व बैंकको सन् २०२४ को प्रतिवेदनले प्रतिव्यक्ति आय बढी भएका मुलुकहरूमा अमेरिकाको सर्वाधिक धेरै (७६,३७० अमेरिकी डलर) रह्यो । सर्वाधिक बढी प्रतिव्यक्ति आय भएका मुलुकहरूमा बेलायत, जापान, नर्वे, आयरल्याण्ड, आइसल्याण्ड, फ्रान्स, सिङ्गापुर, स्वीडेन, स्विट्जरल्याण्ड लगायतका पश्चिमा मुुलुकहरू देखिन्छन् । अफगानिस्तान (प्रतिव्यक्ति आय ३९० अमेरिकी डलर) बुरुन्डी, चार्ड, कङ्गो, इथियोपिया, लाइबेरिया, माली, रुवान्डा, युगान्डा, यमन आदि मुुलुकहरू समृद्धिमा सर्वाधिक पछाडि रहे । नेपालको प्रतिव्यक्ति आय १३४० अमेरिकी डलर देखियो । सुखीको विश्व सूचीमा माथिल्ला सूचीका सबैजसो युरोपेली प्रजातान्त्रिक मुलुक अगाडि छन् ।
सन् २०२४ मा प्रकाशित ‘वर्ड पपुलेशन रिभ्यु’को प्रतिवेदन अनुसार फिनल्याण्ड विश्वको सर्वाधिक सुखी हुने मुलुकमा प¥यो । डेनमार्क, आइसल्याण्ड, स्वीडेन, नेदरल्याण्ड, नर्वे, लक्जेम्बर्ग, अष्ट्रेलिया र स्विट्जरल्याण्ड विश्वका प्रमखु दश सुखी हुने मुलुकहरूको सूचीमा छन् ।
निजी स्वतन्त्रता, विधिको शासन, प्रजातन्त्र, मानवअधिकार, जनउत्तरदायी र जवाफदेही शासन र सरकार, संविधानवाद, नागरिक अधिकार, कानुनी शासन जस्ता मूल्य मान्यता अगाल्ने युरोपेली सबै दृष्टिले माथि देखिन्छन् । पश्चिमा र युरोपियन मुलुकहरू दर्शन र विचारको दृष्टिले पनि माथि रहे । पश्चिमाहरू आजभन्दा पच्चीस सय वर्षअघिदेखि नै व्यापार, पारावहन, सन्धि, विदेश सम्बन्ध, वैदेशिक व्यापार र पर्यटनमा विस्वास सहित अभ्यासरत रहे । जबकी पूर्वीय र अन्य मुलुकहरू चाहिँ खेतीपाती, पशुपालन, वस्तु विनिमय र परम्परागत उत्पादनमा निर्भर बने । नेपाली समाजमा हेर्ने हो भने अहिले पनि त्यो अवस्था रह्यो ।
यही कारण पश्चिमा र युरोपियनहरूको समृद्धि उच्च देखियो । युरोपमा दार्शनिक र विद्वान् बढी रहे । जहाँका दार्शनिकहरूले निजी स्वतन्त्रता, सुरक्षा, सम्पत्ति र जिउधनको सुरक्षा र सम्मानको महत्वलाई दुई हजार वर्षअघि नै प्रस्ट गरे । ज्यान ज्याक रुसो, इम्युनल कान्ट, जेरेमी बेन्थम, जोन लक, रोनाल्ड डोर्किन, एच.एल.ए. हार्ट, जोन रावल, अमत्र्य सेन जस्ता विधिशास्त्रीहरूले मानिसको स्वतन्त्रता, न्याय, प्रजातन्त्र, विधिको शासन, मानवअधिकार र सहभागितामूलक प्रणालीको वकालत गरे । नेपालमा पच्चीस सय वर्षअघि जन्मेका गौतम बुद्धले भने मानवीयता, नैतिकता, शान्ति र सहयोगमा जोड दिए । सुखीमा त्यसको पनि अर्थ रहन्छ ।
नेपालमा समृद्धि
नेपालमा समृद्धि, विकास र परिवर्तनको मुद्दा उठेको र उठाइएको लामो समय भयो । २०४६ सालमा आएको दलीय व्यवस्थापछि विकास र समृद्धको विषय बढी नै सतहमा ल्याइयो । २०५२ सालदेखि थालिएको हिँसाले विकासमा मुद्दालाई छायाँमा पारिदियो । २०५८ सालपछि तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि मुलुको ध्यान सत्ता जोगाउन र लोकतन्त्र ल्याउनमा मात्र रह्यो । २०६३ साल वैशाख ११ गते विघटित संसदको पुनस्थापना भएपछि राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक पक्षमा मुलुकले फड्को मार्ने अपेक्षा गरियो । जुन स्वभाविक थियो ।
२०६३ सालमा अन्तरिम संविधान बन्यो । दुई पटकको संविधान सभाको निर्वाचनपश्चात २०७२ साल असोज ३ गते गणतान्त्रिक संविधान बन्यो । त्यसपछि विकास र समृद्धका मुद्दा अझबढी मुखरित हुनथाले । संविधान जारी हुने बेलामा प्रधानमन्त्री रहनुभएका एमाले अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय नारा (एजेन्डा) अघि सारेपछि यसले सर्वाधिक चर्चा र महत्व पाइरहेको छ । अहिले पनि प्रधानमन्त्री र सरकारको मूल मुद्दा समृद्धि, विकास र सुखी नेपाली भन्ने नै रह्यो । जुन मुद्दा नेपाल र नेपालीको आफ्नो मुद्दा पनि हो ।
अर्काेतर्फ अहिले नेपालमा ‘समृद्धि भएन, केही पनि भएन, केही पनि हुँदैन’ भन्ने स्यालहुइया पनि छ । केही पनि नभएको होइन । विकासको विश्व सूची हेर्दा पनि नेपालले अपेक्षकृत सफलता प्राप्त गरेको छ । मूल सवाल पश्चिमा युरोपियन मुलुकहरूको तुलनामा किन विकास भएन भन्ने सवाललाई मसिनोसँग विश्लेषण गर्नु पर्दछ । माथि उल्लेख गरेजस्तो युरोपको मानवीय, सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक विकासको गति उच्च देखियो ।
दार्शनिकहरू युरोपका बढी छन् । सुशासन, लोकतन्त्र, मानव अधिकार, संविधानवाद र विधिको शासनमा ती अघि छन् । क्रान्ति र संघर्षको इतिहास लामो छ । नागरिकमा आफ्नो देश, शासन, सरकार र प्रणालीप्रति उच्च भरोसा र सम्मान देखिन्छ । यस्ता कारणबाट युरोपको विकास उच्च भयो । उनीहरू समृद्ध छन् । यद्यपि नेपाल पनि अघि बढ्दैछ । विकास, समृद्धि र सुखीमा निरन्तर अघि आएको छ । यतिमात्र हो–‘उनको स्पिड बढी छ ।’ नेपालमा पनि केही हुँदै आयो । नेपालमा अहिले पनि केही हुँदैछ । नेपालमा पनि अबका दिनमा केही सुधार र परिवर्तन चाहिँ अवश्य हुनेनैछ । आशावादी चाहिँ हुनैपर्दछ । (साँघु साप्ताहिक, २०८१ माघ २८)
प्रतिकृया दिनुहोस