• आइतबार-पौष-२१-२०८१

कनिष्ठ सहसचिवको मस्ती 

 

काठमाडौं । परराष्ट्र मन्त्रालयकी पूर्व सचिव सेवा लम्सालले जुनियर सहसचिव विष्णुप्रसाद गौतमलाई महत्वपूर्ण जिम्मेवारी दिएर हिंडेकोमा कर्मचारीहरुले असन्तुष्टि जाहेर गरेको बुझिएको छ । गौतमलाई उपसचिवबाट बढुवा हुनासाथ शिष्टाचार महापाल अर्थात् चिफ अफ प्रोटोकल महाशाखाको जिम्मेवारी दिएर सिनियर सहसचिवहरूलाई अपमान गरेको गुनासो बाहिर आएको छ । सिनियर सहसचिवहरुलाई भने राहदानी र काउन्सिलर विभागमा थन्काएर जुनियर गौतमलाई भने महत्वपूर्ण जिम्मेवारी किन र कसको स्वार्थमा दिइयो भन्ने प्रश्न मन्त्रालयमा उठ्ने गरेको बताइन्छ ।


गौतम उपसचिव हँुदा अमेरिकामा चारवर्ष वाणिज्यदूत भएर काठमाडौं फर्किएका थिए । लगत्तै सहसचिवमा बढुवा हुनासाथ शिष्टाचार महापालको जिम्मेवारी पाएका थिए । जबकि सो जिम्मेवारी सिनियर सहसचिवहरुलाई दिनुपर्ने स्रोतले दावी गरेको छ । वरिष्ठहरुलाई वाइपास गर्दै जुनियरलाई महत्वपूर्ण जिम्मेवारी दिनुलाई मन्त्रालयका कर्मचारीहरुले अर्थपूर्ण रुपमा लिएका छन् । रोचक विषय त उनी अमेरिकाबाट नेपाल फर्किए पनि उनका श्रीमती र छोराछोरी भने उतै रहेको स्रोतले दावी गरेको छ । स्रोत भन्छ ‘कूटनैतिक निकायमा कार्यरत कर्मचारीका श्रीमती र छोराछोरीलाई विदेशमा राख्नुलाई खासै उचित मानिदैन ।’


शिष्टाचार महापालको जिम्मेवारी पाउनका लागि सहसचिव गौतमले तत्कालीन परराष्ट्र सचिव लम्साल र मन्त्री नारायणकाजी श्रेष्ठको निकै सेवा गरेको स्रोतले दावी गरेको छ । परराष्ट्र सेवामा शिष्टाचार महापालको जिम्मेवारी प्राप्त गर्नुलाई वीरगन्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको जस्तै मालदार र आर्थिक रूपमा पनि आकर्षक पद मानिने जानकार स्रोत बताउँछ । कुनैपनि विदेशी राष्ट्र प्रमुख, सरकार प्रमुख, मन्त्री, सचिव वा कुनै विदेशी प्रतिनिधिहरू नेपाल भ्रमणमा आउँदा उनीहरूलाई त्रिभुवन विमानस्थलमा प्रोटोकल अनुसारको स्वागत, सवारी साधनमा राखेर बासस्थान सम्म पु¥याउने, बसोबास, घुमफिर, द्विपक्षीय भेटघाट गराउने र विदाइ गर्नेसमेत जिम्मेवारी शिष्टाचार महापालको रहने गरेको बताइन्छ ।


 जुनियर सहसचिव गौतमलाई राहदानी विभाग वा कन्सुलर विभागको महानिर्देशकको जिम्मेवारीमा खटाउनुपर्नेमा त्यसो नगरी बढुवा हुनासाथ प्रोटकल महाशाखा प्रमुखमा कसको स्वार्थ, दवाव र प्रभावमा गरियो भन्ने प्रश्न उठ्ने गरेको स्रोतको भनाई रहेको छ । कामु परराष्ट्र सचिव अमृत बहादुर राईले पनि आफूसँगै अमेरिका बस्दा गौतमले साथ दिएको आधारमा यतिखेर शिष्टाचार महापालमै निरन्तरता दिएकोे स्रोतले दावी गरेको छ ।


अझै सहससिचव गौतम विकसित देशमा महावाणिज्यदूत बनेर जान चलखेलमा गरिरहेको मन्त्रालय स्रोतले बताएको छ । परराष्ट्र मन्त्रालयमा ११ जना सहसचिवहरूको दरबन्दी रहेकोमा संभवत यही महिनाभित्र थप त्यति नै संख्यामा उपसचिवहरू सहसचिव बढुवा हुँदैछन् । परराष्ट्रमा कार्यरत उपसचिवहरू हरि प्रसाद ओडारी, प्रकाश अधिकारी, दधिराम भण्डारी, डमरुवल्लभ पौडेल र पारस पण्डित सहसचिव बढुवा सिफारिस भइसकेका छन । यसअघि पनि पाँच जना उपसचिवहरू सहसचिव बढुवाका लागि सिफारिस परेका थिए । नयाँ सहसचिव सिफारिस भएर आएसँगै गौतम सिनियर सहसचिवको हैसियतले विदेशतिर हाँकिने चलखेलमा लागेको बताइएको छ ।


विदेशमा चार वर्ष बसेका कर्मचारीलाई तीन–चार वर्ष स्वदेशमा जिम्मेवारी दिएर मात्र विदेश सेवामा खटाउनुपर्ने मन्त्रालयको नीति रहेको छ । तर, सहसचिव गौतम भने एक वर्षमै पुन विदेश सेवाको लागि चलखेलमा लागिसकेको स्रोतले जनाएको छ । रोचक विषय त के छ भने सहसचिव गौतमले यतिखेर मन्त्री डा. आरजु राणा देउवा र सचिव राईले गरेका कतिपय कूटनीतिक गोप्य निर्णयहरुलाई नेकपा माओवादीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठकहाँ पु¥याउने गरेको आरोप उनीमाथि लाग्दै आएको छ । 


बढुवा सिफारिस 
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको बढुवा समितिले विभिन्न सेवा, समूह र श्रेणीका आठजना उपसचिवहरूलाई सहसचिव बढुवाका लागि सिफारिस गरेको छ । लोकसेवा आयोगको सिफारिस अनुसार ०८१ पुष ११ गते बसेको बढुवा समितिको बैठकले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा बढुवा हुने नेपाल परराष्ट्र सेवा ५ जना, नेपाल लेखापरीक्षण सेवा १ र नेपाल इन्जिनियरिङ सेवाका २ उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । नेपाल परराष्ट्र सेवातर्फ उपसचिवहरूको नाम माथि उल्लेख भइसकेको छ ।


नेपाल लेखापरीक्षण सेवातर्फ उपसचिवमा टिकाराम श्रेष्ठ, नेपाल इन्जिनियरिङ सेवातर्फ उपसचिवहरू नारायण प्रसाद श्रेष्ठ र शम्भु मिश्र रहेका छन । आयोगको सिफारिसअनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि नेपाल वन सेवा, फरेष्ट रिसर्च समूहतर्फ उपसचिव राजेन्द्र कुमार बासुकला, नेपाल विविध सेवा, सूचना प्रविधि विज्ञतर्फ उपसचिव आदेश खड्का र नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूहतर्फ अम्बिका प्रसाद आचार्यलाई सहसचिव बढुवा सिफारिस गरिएको छ । (साँघु साप्ताहिक, २०८१ पुस १५) 
 

प्रतिकृया दिनुहोस