• बुधबार-मङ्सिर-१९-२०८१

प्रचण्ड–माधवको रसायन भारत ?

 

काठमाडौं । पछिल्ला दिनमा फेरि एकपटक माओवादी केन्द्र र एकीकृत समाजवादी (एस)को एकताको कुराले बजार गर्माएकोे छ । राजनीतिक बजारमा उनीहरुको संभावित एकताको विषयमा चर्चा भइरहेको छ । तर, अहिलेसम्म धेरै पटक चर्चा भएर सेलाएका कारणले पनि विश्वास गरिहाल्ने अवस्था भने नबनेको पनि नेताहरुले बताउछन् । 


एस पार्टीका अध्यक्ष माधव नेपाल भने कुनै पनि हालतमा आफू प्रधानमन्त्री हुने लाइनमा लाग्ने भएकोले एकताको विषयलाई रणनीतिको रुपमा लिन खोजेको पनि बताइन्छ । एमाले वा माओवादी जता जाँदा प्रधानमन्त्री बन्ने संभावना हुन्छ त्यतै जाने पनि एसभित्र चर्चा भइरहेको छ । तर, एस आफै पार्टीको रुपमा भने अर्को चुनावसम्म नहुने संभावना बढेको छ । अहिले प्रचण्डले माधव नेपाललाई प्रधानमन्त्री बनाउने आश्वासनसहित एकतामा बोलाउन थालेको बताइएको छ । अहिलेको कार्यकालमा गणित मिलेर प्रधानमन्त्री बन्ने संभावना आयो भने नेपाललाई अगाडि सार्ने बचनसहित एकतामा जोड दिएर प्रचण्डले खबर पठाउने गरेको तर नेपाल स्वयम् चाहिँ प्रचण्डलाई विश्वास गर्ने अवस्थामा भने छैनन् । 


उनले आफूनिकटसँग प्रचण्डलाई विश्वास गर्न नसकिने पात्रको रुपमा बताउने गरेका छन् । उनले दशैताका आएका भारतीय गुप्तचर स्रोतहरुलाई पनि एकता नगर्ने र प्रचण्डलाई विश्वास गर्न नसकिने पात्रको रुपमा सुनाएको स्रोतको दावी छ । यद्यपि, पछिल्ला दिनमा भने भारतले नै प्रचण्ड र नेपाललाई मिलाइदिन खोजेको अर्थमा पनि विश्लेषण भइरहेको छ । ओलीको चीन भ्रमणलाई बद्नाम गर्न प्रचण्डले भारतीय सञ्चाररमाध्यममा ओलीले चाइना कार्ड खेलेको र भारतसँग सम्बन्ध विगार्न खोजेको भन्दै भारतीय लाइनमा अभिव्यक्ति दिएका थिए । 


त्यसले प्रचण्ड नै पछिल्ला दिनमा भारतको विश्वासिलो नेता हो भन्नेजस्तो देखिन थालेको छ । भारतले विश्वास गर्ने अर्को नेतामा माधव नेपाल पनि हुन् । नेपालमा ओली र देउवाको मिलनपछि रुष्ट भारत आफ्ना विश्वासयोग्य नेताहरुलाई मिलाईदिएर शक्ति आर्जन गराउने खेलमा सक्रिय हुनसक्ने पनि विश्लेषण भइरहेको छ । त्यसैले गर्दा पनि अहिले फेरि प्रचण्ड र नेपालको एकताको चर्चा भएको बताइन्छ । 


कांग्रेस र एमालेको नेतृत्व भारतको संस्थापन लाइनले भरोसा गर्ने र उनीहरुको राजनीतिक लाइन अनुसार चल्ने अवस्थामा रहेका छैनन् । त्यसले गर्दा भारत नेपालको राजनीतिमा अप्ठ्यारोमा परेको बुझाइमा रहेको छ । भारतीयहरुले नेपालमा चीन र पश्चिमा हावी भएको आफू कमजोर हुन थालेको विश्लेषणमा रहेका कारणले गर्दा पनि प्रचण्ड र नेपाल जसलाई भारतले विश्वास गर्न सक्छ, उनीहरुलाई अगाडि सारेर एकता गर्दा कम्तीमा शक्ति आर्जनको सन्देश जाने बुझाइमा रहेको हुनसक्ने बताइन्छ ।

 

यद्यपि, एसलाई विभाजन गर्ने ओलीको चाहना तत्काल पूरा नभएको र नहुने अवस्था रहेका कारणले नेपाल सहजै प्रचण्डसँग मिल्न जान्छन् भन्ने पनि देखिएको छैन । उनको पार्टीको ठूूलो पंक्ति माओवादीमा जान राजी हुने संभावना पनि रहेको छैन । त्यसैले पनि नेपाल सानोतिनो जत्रो भएपनि आफैं पार्टी चलाउने कतै नमिसाउने भनेर भारतीयलाई पनि सन्देश पठाएको स्रोतहरुको दावी छ । (साँघु साप्ताहिक, २०८१ मंसिर १७)
 

प्रतिकृया दिनुहोस