• मंगलबार-मङ्सिर-१८-२०८१

चार महिनासम्म सिन्को नभाँच्ने उपप्रधानमन्त्री सिंहको बेताल !

 

काठमाडौं । नाम मात्र प्रकाश भएर हुँदो रहेनछ । मुलुक निर्माण र जनताको सेवामा उदाहरणीय काम गर्न पनि प्रकाश जस्तै उज्यालो दिलचस्पी हुनुपर्ने हो  । यस्तै राम्रा राम्रा सुझावहरु उपप्रधान एवम् शहरी  विकास मन्त्री प्रकाशमान सिंहलाई कर्मचारीहरूले दिदैं आएका छन् । मन्त्री सिंहले सो मन्त्रालयको नेतृत्व गरेको चार महिना बितिसकेको छ । तर, यो अवधिमा उनले मन्त्रालयमा करिब आधा करोड खर्चिएर ठुलो सचिवालय बनाउनेबाहेक आम नागरिकले प्रत्यक्ष रुपमा अनुभूति गर्नेगरी केही काम पनि गर्न नसकेको गुनासो मन्त्रालयका कर्मचारी गरेका छन् । मन्त्रीको सचिवालय शहरी विकासको काममा भन्दा कमिशन मोहको प्रवृत्ति हावी भएको गुनासो बाहिर आएको छ ।


 मन्त्री सिंहले निजी सचिवालयलाई स्वकीयलाई बढी चलायमान बनाएका छन् । मन्त्री सिंहको यही कार्यशैलीका कारण मन्त्रालयको निजी सचिव रहेका उपसचिव राजेश पन्थी करिब डेढ महिना अघि नै गृह मन्त्रालयमा सरूवा मिलाएर हिंडेका थिए । त्यसयता मन्त्री सिंहले मन्त्रालयतर्फ कुनै निजी सचिवलाई नियुक्त गर्न सकेका छैनन् । यतिखेर मन्त्री सिंहले मन्त्रालयको काम सक्रिय रुपमा अगाडि बढाउन सकेका छैनन् । खानेपानी, उर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्राय कुनै पनि इन्जिनियर, डिभिजनल र सुपरिटेन्डेन्ट इन्जिनियर सरुवा भएर भित्रिन आनाकानी गरिहेको बुझिएको छ ।


यही कारण भवनका रैथाने  इन्जिनियरहरूले भवन निर्माणमा लुट मच्चाएको गुनासो बढेका छन् । हुन त मन्त्री  सिंहले आफ्नो एकसय दिनको काम र आगामी योजना सार्वजनिक गर्दा ३७ वटा काम गरेको दावी गरेका थिए । मन्त्रालयले एक सय दिनमा राखेका ११ मध्ये ८ वटा लक्ष्य हासिल गरेको र ३ वटा योजना चालू अवस्थामा रहेको विवरण सार्वजनिक गरेका थिए । जसअनुसार धरहरा खुल्ला गरिएको र ७ वटा स्वास्थ्य भवन निर्माण सम्पन्न गरिएको उल्लेख गरेका छन् । जाजरकोट र रुकुम पूर्वको भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन तथा स्वास्थ्य संस्थाको भवन पुनः निर्माण सम्पन्न भएको दावी गरेका छन ।


५० वटा झोलुंगे पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा ४० वटा सम्पन्न भएको अघिल्लो आ.व.मा सम्पन्न भएका कामलाई सगर्व रुपमा उल्लेख गरेको भन्दै कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् । १० वटा पुल निर्माण कार्य चालु अवस्थामा रहेको दावी मन्त्री सिंहले गरेका थिए । मन्त्री सिंहले शहरलाई सुरक्षित गर्न आवश्यक नीति बनाउन आफूले काम गरिरहेको दावी गरेपनि कार्यान्वयनमा भने आशंका गरिएको छ । यस्ता काय गर्ने वातावरण बनाउने गरी नयाँ नीति र ऐनहरू ल्याउने तयारी मन्त्रालयले गरिरहेको दाबी गरेका छन् ।


मन्त्रालयले पहुँच सुधारका लागि रणनीतिक रूपमा महत्वपूर्ण रहेको नेपालको सबैभन्दा लामो त्रिवेणी सुस्ता बहुत्तरी झोलुंगेपुल सञ्चालन र गोकर्णदेखि गुहेश्वरीसम्मको ६ किमि क्षेत्रमा ढल व्यवस्थापनको काम सम्पन्न केही महिना भित्रै गरिने एकसय दिने उपलब्धिमा उल्लेख गरेका थिए । वर्तमान सरकार गठनपश्चात साढे तीन महिनामा शहरी विकास  मन्त्रालयले खासै काम गर्न नसकेको मन्त्रालयका कर्मचारीले गुनासो गर्दै आएका छन् ।


मन्त्री सिंहको कार्यक्षमता नै कमजोर हुँदा उनी तीन पटक उप–प्रधान र चार पटक मन्त्री हुँदासमेत मुलुक र नेपाली नागरिकले सम्झिने गरी कुनै पनि नयाँ कार्य गर्न नसकेको आरोप खेप्दै आएका छन् । विगतमा पनि मन्त्री हुँदा सुशासन दिन नसकेको आफू निकट रहेका असक्षम कर्मचारीहरूलाई काखी च्यापेको आरोप उनी माथि लाग्ने गरेको छ ।


हाल शहरी विकास मन्त्रालयमा पनि सक्षम, कार्यसम्पादनमा उत्कृष्ट कर्मचारीलाई भन्दा पनि नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको सल्लाहलाई शिरोपर गर्दै आएको चर्चा छ । जसका कारण शहरी विकास तथा भवन निर्माण विभागको काम कारवाहीमा सुस्तता छाएको छ गुनासो कर्मचारीले गरेका छन् । यतिसम्मकि उनले मन्त्रालयतर्फको निजी सचिवसमेत कर्मचारीलाई नियुक्त गर्न सकिरहेका छैनन् । (साँघु साप्ताहिक, २०८१ मंसिर ३) 
 

प्रतिकृया दिनुहोस