• शनिबार-कार्तिक-३-२०८१

भाषासेवी यज्ञरत्न धाख्वालाई एक ला ख राशिको 'हेमराज' पुरस्कार


पाटन (ललितपुर), ३ असोज : भाषासेवी एवं नेपाल भाषा एकेडेमीका चान्सलर यज्ञरत्न धाख्वालाई एक लाख राशिको हेमराज पुरस्कार प्रदान गरिएको छ । लोकसाहित्य परिषदद्वारा आज यहाँ आयोजित कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले भाषासेवी धाख्वालाई पुरस्कारको सम्मानपत्रसहित नगद रु एक लाख हस्तान्तरण गर्नुभएको हो ।

 

पुरस्कार वितरणपश्चात् मन्तव्य राख्नुहुँदै बागमती प्रदेश सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले धाख्वाले नेवा समुदायको भाषा, संस्कृति, कला, सम्पदालगायतका क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको बताउनुभयो । “जबसम्म लिपिको विकास गर्न सकिँदैन, तबसम्म भाषासंस्कृतिको विकास हुन सक्दैन, संविधानमा व्यवस्था भएअनुरुप बागमती प्रदेशले नेवारी र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा लागू गरेको छ, तर लिपिको विकास नभएसम्म नामको मात्रै कामकाजी भाषा भनेर उपलब्धि हुँदैन, लिपिको विकास हाम्रो प्राथमिकता हो”, उहाँले भन्नुभयो ।

 

मन्त्री खड्गीले भाषा, संस्कृति र सभ्यता बचाउन पार्टीको नभनेर साझा रुपमा मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भाषा, संस्कृतिका साथै सभ्यता र संस्कारको विकासका लागि विद्यालय तहको शिक्षामा पूर्वव्यावसायिक र नैतिक शिक्षा राखिनु आवश्यक छ भन्दै यसका लागि स्थानीय तहसँग समन्वय गर्नु आवश्यक रहेको बताउनुभयो ।

 

“संस्कार दिनका लागि नैतिक शिक्षा आवश्यक छ, भाषा, संस्कृति र संस्कारको सुधारका लागि, कलासाहित्यको विकासका लागि आवश्यक शिक्षासमेत दिनेगरी प्रादेशिक विश्वविद्यालयको तयारी भइरहेको छ,” मन्त्री खड्कीले भन्नुभयो । उहाँले अहिलेको युग विज्ञान प्रविधिको युग भएको बताउँदै हरेक बालबालिका, किशोरकिशोरी तथा युवायुवतीलाई विज्ञान प्रविधिको क्षेत्रमा अध्ययन अनुसन्धानका लागि टेवा पुर्‍याउने उद्देश्यले बागमती प्रदेशले सहयोग गर्ने बताउनुभयो ।

 

भाषासेवी एवं नेपाल भाषा एकेडेमीका चान्सलर यज्ञरत्न धाख्वाले प्रतिष्ठानमूलक, गौरवशाली पुरस्कार आफूले पाएकामा गौरवान्वित महसुस भएको बताउँदै पुरस्कारको ९० प्रतिशत रकम अर्थात् रु ९० हजार लोक साहित्य परिषद्लाई हस्तान्तरण गर्नुभयो । “भाषा, साहित्य हाम्रो जीवन हो, यसमा मेरो क्रियाशिलतालाई कदर गर्दै एक लाख नगद पुरस्कारसहित सम्मानित हुन पाएकामा म आभारी छु, खुसी व्यक्त गर्दछु”, धाख्वाले भन्नुभयो ।

 

एकेडेमीका भाइस चान्सलर मल्ल के सुन्दरले पण्डित हेमराज शाक्य विद्वान व्यक्तित्व भएको भन्दै उहाँजस्तो व्यक्तित्वको इतिहास नेवाः समुदायका लागि गर्वको कुरा हो भन्नुभयो । उहाँले प्रविधिमैत्री लिपि विकासका लागि हेमराज शाक्यले योगदान दिएका कारण अहिले नेपाल भाषा क्षेत्रमा हालसम्मको उपलब्धि हासिल गर्न सफल भएको बताउनुभयो ।

 

पुरस्कारदाता लक्ष्मीशोभा शाक्यले विभिन्न भाषा साहित्य, संस्कृति र जात्राहरुको संरक्षणका लागि यो पुरस्कार स्थापित गरिएको बताउँदै यसले समाजलाई सकारात्मक प्रभाव पार्ने र पुरस्कार पाउने व्यक्तित्वलाई अझै राम्रो काम गर्न प्रेरित गर्ने धारणा व्यक्त गर्नुभयो । यो पुरस्कार हरेक दुई वर्षमा वितरण गरिँदै आएको छ । सुरुमा २५ हजार दिँदै आएकामा यस वर्षदेखि ७५ हजार थप गरेर एक लाख राशि बनाइएको उहाँले बताउनुभयो ।

 

सत्यमोहन जोशीका ज्येष्ठ सुपुत्र एवम् लोकसाहित्य परिषद्का संरक्षक अनुजराज जोशीले पुरस्कार स्थापना गर्ने परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
–––

 

प्रतिकृया दिनुहोस