• शनिबार-कार्तिक-३-२०८१

वर्तमान सरकार ढल्ने सम्भावना छैन : नेता डा कोइराला



बेलबारी (मोरङ), ३ कात्तिक : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार ढल्ने कुनै सम्भावना नरहेकोे बताउनुभएको छ । उहाँले सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई सुझाव दिनुभयो ।

 
मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक सङ्घ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको सरकार ढल्ने सम्भावना नरहेको स्पष्ट पार्नुभयो ।

 
आगामी निर्वाचनसम्म कांग्रेस र एमालेको गठबन्धनकै सरकार रहिरहने बताउँदै नेता कोइरालाले भन्नुभयो, “यो सरकार ढल्दैन, चल्छ, यद्यपि  मन्त्रीहरूले इमान्दारीपूर्वक काम गर्नुपर्दछ । जनतालाई सरकार भएको अनुभूति दिनुपर्दछ ।” 

 

कोइरालाले राजनैतिक स्थिरता, आर्थिक विकास र सुशासनका लागि देशका सबैभन्दा ठूला दल कांग्रेस र एमालेको सरकार बनेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यो सरकार बनेको धेरै भएको छैन, त्यसैले काम गर्न दिनुपर्छ।”

 

सुशासन कायम गर्न सरकार निर्मम रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिँदै उहाँले कांग्रेस र एमालेको बलले मात्रै संविधान संशोधन नहुने भएकाले सबैले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नेता कोइरालाले अन्य दललाई पनि विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । 

 

“संविधान संशोधन छुट्टै आयोग बनाएर हुन्छ कि संसदीय समिति बनाएर हुन्छ, सबै दलको सहमतिमा गर्नुपर्दछ,” उहाँले भन्नुभयो । नेपाल भूतपूर्व सैनिक सङ्घ मोरङको प्रथम जिल्ला अधिवेशनबाट प्रेम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
–––

 

प्रतिकृया दिनुहोस