• शनिबार-कार्तिक-३-२०८१

गढीमाई मेलामा खानेपानी अभाव हुँदैन : मन्त्री यादव

 

बारा, ३ कात्तिक । खानेपानीमन्त्री प्रदीपकुमार यादवले गढीमाई मेलामा खानपानीे अभाव नहुने स्पष्ट पार्नुभएकोे छ । गढीमाई मेलाको तयारीका बारेमा स्थलगत अनुगमनपछि गढीमाई मन्दिर परिसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले मेला भर्न आउने भक्तजनका लागि शुद्ध खानेपानी, सुलभ शौचालय र सरसफाइमा कुनै कमी हुन नदिने बताउनुभयो । 

 

मन्त्री यादवले ‘ओभरहेड ट्याङ्की’बाट कथमकदाचित पानीको अपुग हुने अवस्थालाई दृष्टिगत गर्दै ठाउँठाउँमा डिप बोरिङको समेत प्रबन्ध गर्ने र यसै साताभित्र केही थान घुम्ती शौचालय मेला व्यवस्थापन समितिलाई प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “कुनै प्रकारले शुद्ध खानेपानीको कमी हुन नदिनका लागि प्रदेश सरकार, दातृ तथा सहयोगी संस्थाहरूसँग मेलामा छलफल भइरहेको छ । पानीको निकासका लागि ढल निकास तथा नाला निर्माण, पाइप जडानको काम पनि चाँडै नै सुरु गर्छौं”, उहाँले भन्नुभयो ।

 
मन्त्री यादवले मेलाका लागि सरकारको पूर्ण सहयोग रहने बताउनुभयो । उहाँले भन्नुभयो,“सहयोग गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मेला समितिका पदाधिकारी तथा गढीमाई नगरपालिका प्रमुखलाई सन्देश दिन मलाई निर्देशन दिइसक्नुभएको छ ।” मन्त्री यादवले मेलाको सफलताका लागि स्थानीय नागरिकले विगत वर्षदेखि नै सम्पूर्ण रूपमा सहयोग गर्दै आएकामा प्रशंसा गर्नुभयो । 

 

कार्यक्रममा बारा निर्वाचन क्षेत्र नं ४ का सङ्घीय सांसद किसान श्रेष्ठले मेला सफल बनाउन सबैलाई आग्रह गर्नुभयो । उहाँले हिन्दूहरूको आस्थामाथि खेलबाड गर्ने, मेलालाई कुनै प्रकारले भाँड्न खोज्नेहरूलाई कानुनको दायरामा ल्याउन शान्ति सुव्यवस्था चुस्त बनाउनुपर्नेमा जोड दिनुभयो ।  

 

मेला समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख तारादेवी कानु, मेला व्यवस्थापन समितिका उपाध्यक्ष रामचन्द्र साह, महासचिव वीरेन्द्र यादवलगायत उपस्थित हुनुहुन्थ्यो । 

 

यसैबीच, मन्त्री यादवले कलैयास्थित करणराज पार्टी प्यालेसमा जनता समाजवादी पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्नुभयो । पार्टीका उपमहासचिवसमेत रहनुभएका मन्त्री यादवले साझा अभियानलाई जनताको घरदैलोसम्म पुर्‍याएर समुन्नत मधेस र सुखी मधेसी बनाउने अभियानमा आफूसहित सिङ्गो पार्टी पङ्क्ति जुटेको बताउनुभयो । “साझा अभियानलाई जनताको घरदैलोसम्म पुर्‍याएर समुन्नत मधेस र सुखी मधेसी बनाउने अभियानमा आफूहरू जुटेका छौँ”, उहाँले भन्नुभयो, “जनताको सेवामा निरन्तर क्रियाशील रहँदै मधेससँगै समग्र देशकै समृद्धि र विकासलाई अगाडि बढाउन आफ्नो पार्टी प्रतिबद्ध छ ।”

 

कार्यक्रममा वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले मधेसको विकास र अधिकारका लागि अझै धेरै सङ्घर्ष गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “मधेसवासीको अधिकारका लागि हाम्रो सङ्घर्ष जारी छ र अब जसपाले नै परिवर्तनको नेतृत्व गर्नेछ ।”
---

 

प्रतिकृया दिनुहोस