• मंगलबार-असोज-२९-२०८१

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिका र बेलायतका तीन वैज्ञानिकलाई प्रदान

 

काठमाडौँ। यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिका र बेलायतका तीन वैज्ञानिकलाई प्रदान गरिएको छ । विजेताहरूमा टर्कीस-अमेरिकन ड्यारेन एसेमोग्लू, ब्रिटिश-अमेरिकन साइमन जोन्सन र बेलायती जेम्स ए. रोबिन्सन रहेका छन्।

 

उनीहरूले विभिन्न राजनीतिक र सामाजिक संस्थाको गठन र समाजको प्रगतिमा पार्ने प्रभावका विषयमा अनुसन्धान गरेका छन्, जसका लागि यो पुरस्कार प्रदान गरिएको नोबेल पुरस्कार समितिले जानकारी दिएको छ। तीनवटै अर्थशास्त्रीहरूले वर्षौंको प्रयासपछि पनि गरिब मुलुकहरूले धनी मुलुकजस्तो विकास गर्न नसकेको निष्कर्ष निकालेका छन्।

 

उनीहरूले समाजमा राजनीतिक संस्थाहरूको प्रभावलाई तीन तरिकामा व्याख्या गरेका छन्: पहिलो, स्रोतहरू कसरी बाँडफाँड गरिन्छ? समाजमा निर्णय गर्ने अधिकार कसलाई छ? यस आधारमा धनी वर्ग र आम जनताबीच कस्तो द्वन्द्व छ? दोस्रो, जनता संगठित हुन्छन् र कहिले शासक वर्गलाई धम्की दिन्छन्, जसले सरकारलाई आफ्ना कुरामा सहमत गराउँछ। तेस्रो, धेरैपटक धनी शासक वर्ग जनतालाई निर्णय गर्ने अधिकार सुम्पन बाध्य हुन्छन्।

 

यसअघि सन् २०२३ को नोबेल पुरस्कार अमेरिकाकी क्लाउडिया गोल्डिनलाई दिइएको थियो। महिलाहरूको काम र बजारमा उनीहरूको योगदानलाई अझ राम्ररी बुझेको भन्दै उनलाई यो सम्मान प्रदान गरिएको थियो।

 

यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिडान्क्योलाई दिइएको थियो, भने साहित्यको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङलाई प्रदान गरिएको छ। त्यस्तै, विक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई चिकित्साका लागि, जेफ्री ई. हिन्टन र जोन जे. होपफिल्डलाई भौतिकशास्त्रका लागि, र डेभिड बेकर, जोन जम्पर र डेमिस हसबिसलाई रसायनशास्त्रमा यस वर्षको नोबेल पुरस्कार प्रदान गरिएको छ।

प्रतिकृया दिनुहोस