• आइतबार-असोज-२०-२०८१

‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपाललाई सफलता


ललितपुर (गोदावरी), १९ असोज : ‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपालका  आशीर्वादराज झाले दोस्रो स्थान हासिल गर्नुभएको छ । 

 

नेदरल्याण्डमा सम्पन्न सो प्रतियोगितामा विश्वका विभिन्न नौ देशका १८ टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा झाले ‘समूह इकोग्रब’ बाट भाग लिनुभएको थियो । काठमाडौँ फरेस्टी कलेजको स्नातक तहमा अध्ययनरत विद्यार्थी आशीर्वादले नेतृत्व गर्नुभएको उक्त समूहले प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको उहाँका भाइ अभिनमले जानकारी दिनुभयो । 

 

‘समूह इकोग्रब’का तर्फबाट आशीर्वादले आफ्नो परियोजनामा कालो सैनिक झिङ्गाको अनुसन्धानमा आधारित ‘इनोभेटिभ’ समाधान प्रस्तुत गर्नुभएको थियो । यो अनुसन्धानले खाद्य प्रणालीमा टिकाउ र दिगो समाधान खोज्नमा सहयोग पु¥याउने विश्वास लिइएको छ । 

 

कालो सैनिक झिङ्गाको प्रयोगले फोहोर व्यवस्थापन र पोषक तत्व पुनः प्राप्त गर्न मद्दत गर्दछ । जसले वातावरणीय र कृषिसम्बन्धी समस्या समाधान गर्न महत्त्वपूर्ण योगदान दिने विश्वास लिइएको छ ।

 

यस प्रतियोगितामा हासिल गरेको सफलतापश्चात, ‘इकोग्रब’ समूह युवा खाना प्रयोगशाला कार्यक्रमको तयारीमा जुटेको छ । यो कार्यक्रम अक्टोबर २०२५ मा इटलीको रोममा आयोजना हुनेछ । जहाँ जित हासिल गरेका टोलीहरू आफ्नो परियोजनालाई थप विस्तार गर्न र कार्यान्वयन गर्न अवसर प्राप्त गर्नेछन् ।
–––

 

प्रतिकृया दिनुहोस