• बिहीबार-असोज-१७-२०८१

ठूला दलले नै राजनीतिक अस्थिरता मच्चाए : संविधान संशोधन त सम्भव नै छैन 

 

(०७४ सालमा पहिलो पटक उनले दाङबाट प्रतिनिधिसभामा चुनाव जितेर संसदीय यात्रा तय गरेका थिए । दुभाग्र्य उनी निर्वाचित दल नेकपा एमाले नै विभाजित हुन पुग्यो । ०७८ भदौमा नेकपा एकीकृत समाजवादी दल स्थापना हुँदा उनी संस्थापकका साथै पोलिटव्यूरो सदस्यको भूमिकामा रहेका थिए । यही अवधिमा ०७९ असारदेखि मंसिरसम्म चौधरीले शहरी विकास मन्त्रालयको नेतृत्व गर्ने अवसरसमेत गर्न सफल भएका थिए । ०७९ मंसिरमा सम्पन्न आम निर्वाचनमा पार्टी विभाजन हुँदा पनि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसँगको सहकार्यमा चौधरीले चुनाव जितेर लोकप्रियता कमाएका थिए । २०८० मंसिर १६–२१ मा सम्पन्न पार्टीको दशौं राष्टिय महाधिवेशनकै निरन्तरता स्वरुप केही समय अगाडि भएको पदाधिकारीको निर्वाचनमा उनले प्रतिस्पर्धी दुईजना उम्मेदवारलाई हराउँदै अत्यधिक मतका साथ उपमहासचिव पदमा बाजी मारेका छन् । २०८१ भदौ २५ गते एक टेलिभिजन बहस कार्यक्रममा दिएको अभिव्यक्तिका कारण उनी यतिखेर विवाद तानिएका छन् । उनले दिएको अभिव्यक्ति, सरकारको काम कारवाही, संविधान संशोधनलगायतका विषयमा केन्द्रित रहेर साँघु साप्ताहिकका लागि रामहरी चौंलागाईंले पूर्वमन्त्री चौधरीसँग गरेको कुराकानीको सम्पादित अंशः सम्पादक)


० तपाईंले केही दिन अघि एक टेलिभिजनमा बोलेको विषयले किन विवादमा पर्नुभयो भन्ने मात्र होइन किन राष्ट्रघाती अभिव्यक्तिको आरोप लागेको छ नि ?
–मैले ०८१ भदौ २५ गते प्राइम टेलिभिजनमा पुगेर जनता जान्न चाहन्छन् भन्ने कार्यक्रममा बहसमा भाग लिएको थिएँ । जहाँसम्म प्रश्नकर्ताले चुच्चे नक्साको विषयमा उठान गरेपछि मैले सन् १८१६ मा सुगौली सन्धिको समयमा हामीले हारेको बताएको थिएँ । नेपालले हार्दा पनि भू–भाग कालीपूर्वको सवै नेपालकै थियो । त्यसबेला यो क्षेत्र डोटी जिल्लामा पर्दथ्यो । डोटी जिल्ला हुँदा पनि तालुकदारले त्यहाँको भूमि उपयोग गरेबापत रसिद दिएको थियो । त्यसबेला लालपुर्जा थिएन । यही कुरा मैले बताएको थिएँ । 


० महाकाली सन्धि हुँदा पनि यो विषय उठान भएको थियो नि, होइन ?
–वि.स २०५३ सालको महाकाली सन्धि अझै म सम्झिन्छु । महाकाली सन्धिमा आधा लगानी, आधा पानी भनिएको थियो । जुन नहर बनाइएको छ, महाकाली नदीको ७०० मिटर पूर्वतर्फ अर्थात् पानी ढलो । यसैको सेरोफेरोमा नहर निर्माण गरिएको छ । अर्को विषय मैले बहसकाक्रममा के विचार राखेको थिएँ भने राजा महेन्द्रसँग इन्डियाले त्यो भूमि हामीलाई देउ भनेर मागेको प्रमाण पनि पेश गरेको थिएँ । यदि इन्डियाको भइदिएको भए त माग्दैनथ्यो होला । यी सबै ऐतिहासिक डकुमेन्टले नेपालको भूमि रहेको पुष्टि गरेको छ । तर, सन्धि गरिसकेपछि सबै आधा आधा हुन गयो भनेर भनेको थिएँ । सन्धि कसले गरेको हो त्यता नजाउँ भनेर बताएको थिएँ ।


० अनि यो विषयलाई किन  मोडियो होला त ?
–महाकालीको सबैभन्दा पश्चिम उत्तर लिम्पियाधुरा छ । यता महाकाली नदी । लिम्पियाधुरामा छिमेकीले फेरि अर्को कालीखोला बनाएको छ । एउटा मुहान लिम्पियाधुरा, अर्को इन्डियाले कृत्रिम रूपमा कालीखोला बनाएको छ । नेपालको भूमिलाई आधा बनाउनका लागि उसले दावी गरिरहेको छ । उसको दावी पुग्छ त ? भन्ने मेरो भनाईलाई बंग्याएर क्लिप प्रस्तुत गरियो  । अनि यसैलाई अतिरञ्जित गर्ने र मेरो भनाईलाई बिवादित पार्ने कार्य गरिएको हो । वि.स २०१५ सालमा त्यहाँका जनताहरूले आम निर्वाचनमा भोट हालेका पनि थिए । भोट चाहिँ नेपाली उम्मेदवारलाई दिने अनि भू–भाग इन्डियाको कसरी भयो ?


० त्यसो भए, तपाईंले बोलेको विषय किन विवाद प¥यो त ?
–त्यस्तो त हुँदैन भनेर मैले बोलेको थिएँ । त्यतिबेला नेकपा एमालेकोतर्फबाट वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सन्धि गर्नेतर्फबाट संयोजक रहेका थिए । महाकाली सन्धिपछि नेपालको कुनै पनि भू–भाग अन्धकार हुँदैन झिलिमिली हुन्छ भनिएको थियो । नेपाललाई बेफाइदा होइन त्यसबखत फाइदा नै फाइदा हुने भनेर प्रचार गरिएको थियो । टेलिभिजन कार्यक्रममा एक घण्टा बहस भएको थियो । मैले आधा घण्टा जति यही विषयमा बोलेको थिएँ । तर, ५–७ सेकेन्डको मात्रै भिडियो क्लिप बनाएर मैले महाकाली सन्धिमा दावी पुग्दैन भन्यो भनेर बाहिर ल्याइयो । म सम्पूर्ण नेपाली जनतालाई अनुरोध गर्छु कि मैले बोलेको सबै विषयहरु एकचोटी हेरेर, सुनेर वा अध्ययन गरेर मात्र निश्कर्ष निकाल्नु होला ।


० तपाईंकै पार्टीका केही नेताहरुले नै यो विषयलाई बढी मलजल गरेको हो त ?
–मलाई स्पष्टीकरणको पत्र नदिँदै मेरो गृह जिल्ला दाङकै पत्रकार साथीलाई पार्टीका केही नेताहरुले दिइसकेका रहेछन् । यसबाट थाहा हुन्छ, मलाई योजनाबद्ध रुपमा फसाउनुपर्छ भनेर भूमिका खेलेको देखियो । पछि पार्टीका सम्मानित नेता आदरणीय झलनाथ खनालले पनि रेडियोमा अन्तर्वार्ता दिन जाँदा अर्को स्टेटमेन्ट पनि निकाल्नु भयो । यसबाट प्रष्ट हुनछकि ग्रोइङ पर्सनालिटीमा पार्टीभित्रका कोही नेताहरूले रिस गर्छन् । पार्टीभित्र आन्तरिक विषयहरू होलान् । तर, नेता भनिने केही साथीहरुले नै मलाई अपमानित गरेर अगाडि बढ्ने कोसिस गरेको देखियो । 


० आफ्नै पार्टीभित्रैबाट त्यस्तो व्यवहार हुनुमा तपाईंप्रतिको असन्तुष्टि  मात्रै कारण हो त ?
–म त्यो राष्ट्रिय महाधिवेशनमा पार्टीले नै छनोट गरेको केन्द्रीय सदस्यबाट धेरै भोट ल्याएर उपमहासचिव चुनिएँ । महाधिवेशन प्रतिनिधिहरूले नै भोट हालेको भए लगभग ८० प्रतिशत भोट मेरो पक्षमा पर्ने रहेछ । यतिखेर पार्टी जोगाउने भनेकै मेटमणि हो भन्ने खालको बुझाइ नेता तथा कार्यकर्ताहरुको बुझाई रहेको छ । दोस्रो कुरा म पार्टीभित्र जुनियर नै मानिन्छु । पार्टी स्थापना हुँदा पोलिटब्युरोबाट एकैपटक म उपमहासचिव चुनिएको छु । त्यो पनि अरुको उम्मेदवारको भन्दा डेढ गुणा बढी मत मेरो आयो । प्रतिस्पर्धीहरू दुईजनाको १ सय ७, अर्कोको १ सय ६ मत रहेको थियो । तर, मेलै भने १ सय ५८ मत ल्याएर उपमहासचिव चुनिन सफल भएँ । \


० भनेपछि तपाईंको आशय पार्टी राजनीतिमा लोकप्रिय भएको देखेर आफ्नैबाट खुट्टा तान्न खोजिएको भन्ने हो ?
–हो । थारु समुदायको व्यक्तिले राजनीतिमा यति ठूलो फड्को मा¥यो भनेर नै पार्टीभित्रबाट केही नेताहरुले ममाथि आग्रह पालेका छन् । तर, म जीवनमा हम्मेसी गल्ती गर्दिन । अझै वर्तमान संसदको म्याद सकिन तीन वर्ष बाँकी छ । संसदमा पनि राम्रो बोल्छ ,पार्टीभित्र पनि उसको पपुलारिटी छ । अरु गरेर रोक्न सकिँदैन, यस्तै विषयहरुमा अल्झाएर रोक्न सकिन्छ कि भनेर  केही नेताहरु मेरा विरुद्धमा लागि परेका छन् ।


० पार्टीका सम्मानित नेतालाई होच्याएर तपाईं आफू ठूलो बन्न खोजेको परिणाम अहिले पार्टीका नेताहरुले देखाउँदै छन् भनिन्छ नि ?
–पार्टी महाधिवेशनको समयमा कुनै नेता ठिक छ त भन्नु प¥यो नि । जसले राम्रो काम गरेको छ, उसलाई अध्यक्ष बनाउनुपर्छ भन्दा मैले नराम्रो गरें र ? पार्टी अध्यक्षको विषयमा मैले लुम्बिनी प्रदेशबाट नै आफ्नो धारणा क्लियर गरेको थिएँ । उक्त प्रदेशको भोट अध्यक्ष माधव नेपालतिर नै तानेको थिएँ । त्यतिखेर मैले नेकपा एमालेबाट विद्रोह अध्यक्ष नेपालले गर्नुभयो, अबको नेतृत्व र पार्टी निर्माण पनि उहाँले नै गर्ने हो भनेको थिएँ । सम्मानित नेता झलनाथ खनाल कमरेडको बारेमा पनि ठूला कुरा गरेर अध्यक्ष ताकेर मात्र हुँदैन, समय आइपुगेको छैन भनेको थिएँ । यही कुराले इगो साँध्ने काम म माथि गरिएको छ ।


० यदि पार्टी अध्यक्ष नेपालले साथ नदिएको भए यतिखेर तपाईंमाथि कारबाहीको डण्डा चलिसकेको हुने थियो नि होइन ?
–पार्टीले स्पष्टीकरण त सोधिइसकेको छ । पार्टीका केही नेताको कदमले मलाई झन पावरफुल बनाएको छ । तलका नेता तथा कार्यकर्ताहरूले पनि तपाईंले जे पार्टी नेतृत्वको पक्षमा जे बोल्नु भएको छ, ठीक भनेका छन् । अर्को मैले टेलिभिजनमा बोलेको विषयमा केही तथ्य र भाष्यलाई बंग्याइएको छ । यो विषयमा पनि तपाईंले कहाँ गल्ती गर्नु भएको छ भनेर एकथरी नेता तथा कार्यकर्ताहरुले एकदमै सपोर्ट गरिरहेका छन् । सम्मानित नेता खनाल र मेटमणि त बराबर नेता हुन् भनेका पनि छन् । नेता खनालले म विरुद्ध निकालेको स्टेटमेन्ट मुनि गएर कमेन्टहरुमा हेर्दा पनि कति बिरोध भएको छ स्पष्ट भइहाल्छ । उहाँलाई उल्टै नेगेटिभ बनाइएको र मलाई सचेत हुन मौका दिइएको छ । केही नेताहरु मलाई सिध्याउन हात धोएर लागेको छन् । तर, तल्ला तहका नेता, कर्याकर्ताले यो कुरा राम्ररी बुझेका छन् । 


० पदाधिकारीको निर्वाचन पश्चात पार्टी भित्र ठूलै पङति असन्तुष्ट हुन पुगेको बताइन्छ, यो विषयले पार्टीलाई थप कमजोर बनाउँने त होइन ?
–मेरो विषयले पार्टी कमजोर भएको छैन । एउटा छलफलको कोर्स सुरु भएको छ । महाकाली सन्धिमा राष्ट्रघात भएको थियो कि थिएन, यहीसँग जोडिएको टनकपुर, गण्डकी र कोशी सम्झौताका बारेमा जानकाहरुले इतिहास त पढ्लान नि । महाकाली, गण्डकी र कोशी सम्झौता के थियो ? भन्ने विषयमा चासो र चर्चा बढ्दै गएका छन् । 


० वर्तमान सरकार गठन भएको दुई महिना बितिसकेको छ, यो अवधिमा सरकारले गरेको काम कारबाहीलाई तपाईंले कसरी नियालिरहनु भएको छ ?
–यो सरकारले राम्रो गर्छ भनेर नेपाली जनताले पत्याएका छैनन् । त्यसैले राम्रो गर्ला र मुलुकमा सबृद्धि आउला भन्ने कुरा नागरिकको बुझाई विपरीत हुन्छ । सरकारमा रहेका प्रमुख दुईदल नै भुटानी शरणार्थीलगायत विभिन्न भ्रष्टाचार काण्डमा जोडिएका छन् । एमाले र काङ्ग्रेसको टप लेवलकै नेताहरू पनि फसेका छन् । उनीहरुलाई जोगाउन, मिलाउन र हिसाबकिताब बराबर गर्नको लागि यो सरकार गठन भएको हो । त्यसैले यो सरकारबाट नयाँ केही हुन्छ भनेर अपेक्षा राख्नु नै गलत हुनेछ । 


० लोकतान्त्रिक व्यवस्थामा दुईवटा प्रतिस्पर्धी दल मिलेर सरकार बनाउनु उचित हुँदैन भनिन्छ, तपाईंलाई चाहिं के लाग्छ ?
–संसदका ठूला दलमध्ये एउटा सरकारको नेतृत्व गर्ने र अर्को प्रतिपक्षमा रहनु पर्ने हो । हिजोसम्मको अभ्यास पनि यही थियो । राष्ट्रिय सङ्कट भएको बेला राजनीतिक दलहरु मिल्नुपर्छ । तर, मुलुकमा कुनै पनि प्रकारको अप्ठ्यारो र सङ्कट नआइकन मिलेको विषयलाई भने अशङ्काको नजरले हेरिएको छ । संसदको पहिलो र दोस्रो शक्ति मिल्दा सरकारले गरेका बेठिक कार्यहरूलाई सशक्त रूपमा कसले उठाउने ? कि त उनीहरुले अब वेटिङ गभर्मेन्ट हामी होइनौं भन्नुप¥यो । यो सरकार कथम्कदाचित् डिजर्व भयो भने अर्को त बन्नैप¥यो । अव पुन दावी त गर्नु भएन नि । यदि त्यसो हो भने पहिलो वा दोस्रो दल त प्रतिपक्षमा रहनै प¥यो । आफूलाई वेटिङ गभर्मेन्ट मान्ने त्यो सुहाएन र राम्रो काम पक्कै भएको छैन । वेटिङ गभर्मेन्ट आफैं र रुलिङ पनि आफै गर्ने विषय संवैधानिक रुपमा पनि मिल्दैन । 


० भनेपछि यी दुई दलललाई कुनै शक्तिले मिलाएर सरकार गठन गर्न बाध्य बनाएका हुन त ?
–भन्नका लागि त राजनीतिक स्थिरताको लागि भनिएको छ । राजनीतिक अस्थिरताको कुरा गर्ने हो भने २०१५ सालदेखिको राजनीतिलाई हेरौं न त । जो पहिलो शक्ति हो उसकै कारणले राजनीतिक अस्थिरता मच्चिएको देखिन्छ । ०४८ सालमा नेपाली काङ्ग्रेस आफैंले बहुमतको सरकार ढालेको थियो । ०५१ मा नेकपा एमाले अल्पमतमा रहेको कारण सरकार ढल्यो । त्यसपछि ०५६ सालमा बहुमतको सरकार कस्का कारण ढल्यो ? ०६४ मा पनि बहुमतको सरकार नेकपा माओवादीका अध्यक्ष एव तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैंले रिजाइन गरेर ढलेको थियो । ०७४ मा पनि दुई तिहाई बहुमतको सरकारलाई कस्ले ढाल्यो ? प्रधानमन्त्री केपी शर्मा ओली आफैंले दुई दुई पटक संसद बिघटन गरेर ढालेका होइनन् । ०७९ सालको आम निर्वाचनपछि गठित सरकारलाई १८ महिनामा पाँचपटक विश्वासको मत लिन कसले बाध्य बनायो ? यी सबै अध्ययन गर्दा ठूला राजनीतिक दलले नै अस्थिरता मच्चाएको प्रष्ट छ । त्यसकारण पनि यो स्थायित्व भन्ने जुन नारा छ, त्यो नै बेठीक छ । 


० वर्तमान सरकारले संविधानमा केही बुँदाहरु संशोधन गर्ने उद्घोष गरिसकेको छ, त्यसैका लागि संसदका ठूला दुई दल मिलेको भन्ने पनि छ, तपाईंको विचारमा मुलुक निर्माणको लागि संविधान बाधक भएको हो त ?
–संविधानको हामीले अभ्यास नै गरेका छैनौं । अनि किन, संशोधन गर्नुप¥यो ? कित पूर्णरूपमा अभ्यास गरेर यो कारणले संविधान बाधक भयो भन्न सक्नुप¥यो र जस्टिफाई हुनुप¥यो । जसको प्रयोग नै भएको छैन, त्यसलाई कसरी फेल भन्न मिल्छ ? त्यसैले यो विषय बेमौसमको बाजा जस्तै हुन पुगेको छ । सही र ठिक नभएको विषय त हरेक एङ्गलबाट जस्टिफाई भएपछि मात्र संशोधन गर्ने हो नि । 


० भनेपछि तपाईंको विचारमा संविधान संशोधन हुँदैन ?
–तत्कालै संविधान संशोधन नै हुँदैन । सरकारले संविधान संशोधनको हल्ला मच्चाएको भने कै आफ्नो हिसाबकिताब मिलाउनका लागि हो । जनताको ध्यान अन्यत्र मोडर आफ्नो स्वार्थपूर्ति गर्नेबाहेक अरु केही होइन । संविधान संशोधन भन्दियौं भने यसैमा आम नेपालीको ध्यान जान्छ र उनीहरु अलमलिन्छन् भनेर नै यो जाल रचिएको, विपक्षलाई अलमलाउने र आफूले शान्त मुद्रामा हिसाबकिताब मिलाउने उनीहरूको खेल नै हो ।


० माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले संविधान संशोधन गर्ने विषय सार्वजनिक गर्नासाथ नेकपा एकीकृत समाजवादीसँग पार्टी एकीकरण गरेर अगाडि बढ्ने भन्ने कुरा पनि गरेका छन नि ?
–पार्टीहरू मिल्ने, भत्किने र विभाजन हुने नियमित प्रकृयाभित्रकै कुरा हुन् । त्यसैले आज नै हामी माओवादीसँग मिल्दैनौं भन्नु हुँदैन । माओवादी मात्र नभएर हाल समाजवादी मोर्चामा रहेका ६–७ वटै राजनीतिक दलहरूसँग पनि  एकता हुन सक्छ । तर, त्यसको लागि परिस्थिति मिल्नुपर्छ । त्यसको लागि मोर्चासँगै हामी पनि अगाडि बढेका छौं । यही मोर्चाको माध्यमबाट नेता तथा कार्यकर्ताको बीचमा सामिप्यता कायम गर्ने हो भने एकता पनि हुनसक्छ ।


० नेपाली काँग्रेस र नेकपा एमालले आगामी निर्वाचनमा एक्ला एक्लै चुनावी प्रतिस्पर्धा गर्ने भनेर अहिले नै घोषणा गर्नुको कारण तपाईंलाई के हो जस्तो लाग्छ ?
–नेकपा एमाले र अन्य वामपन्थीहरूको बिचमा चुनावी एकता भएन भने कांग्रेसले हामी आफू लार्जेस्ट पार्टी हुन्छौं भनेर त्यो जुक्ति निकालेको हो । एमालेले पनि त्यही सोचेको छ । पछिल्लो पटक सम्पन्न उपनिर्वाचनमा इलाममा एमालेले चुनाव जित्यो । त्यही भएर उ हौसिएको छ । आगामी ०८४ सालको आम निर्वाचनमा कांग्रेस पनि अरु दलसँग चुनावी गठबन्धन गर्ने पक्षमा छैन र वामपन्थीहरूको एकता नहोस् भन्ने चाहन्छ । संसदमा लार्जेस्ट पार्टी भएर सरकारको नेतृत्व गर्ने अवसर प्राप्तिको लागि एकले अर्कोलाई राजनीतिमा झुक्याउन खोज्नु खासै नौलो विषय होइन । त्यसकारण यी सबै झुक्याउनको लागि गरिएको नाटक मात्र हुन् ।

 
० निर्वाचन प्रणालीको कारणले कुनै पनि राजनीतिक दलको बहुमत नआउने भएकोले संविधान संशोधन गर्न लागिएको चर्चा बाहिर आएका छन् तर कुन आधारमा तपाईंले संशोधन हुँदैन भन्नुभयो ?
–अहिले सत्तारुढ दल उपसभामुख इन्दिरा रानालाई हटाउने खेलमा लागेकोमा किन ब्याक भए ? तपाईं हामी सवैलाई थाहा छ । आखिर दुई तिहाई नपुगेकै कारणले होइन ? दुई तिहाई बहुमत दुईवटै सदनमा पुग्नुप¥यो । त्यो स्थिति त छैन । समाजवादी र माओवादीलाई बाहिर राख्दा राष्ट्रियसभामा दुुई तिहाईको कल्पना गर्न सकिन्न । अझ लार्जेस्ट पार्टी त नेकपा माओवादी नै छ । हामी चौथो ठूलो दल रहेका छौं । अर्को कुरा उपेन्द्र यादव र सीके राउतहरूले संविधान संशोधन गर्ने विषयमा सरकारलाई सजिलै सहयोग गर्छन् त ? ०४८ सालमा राप्रपा मात्र संविधानको बिपक्षमा थियो । त्यसबखत अरु राजनीतिक दलको नगन्य उपस्थिति थियो । 


० निर्वाचन प्रणालीका कारण नै राजनीति अस्थिरता आएको भन्दै तीन प्रतिशतको थ्रेसहोल्डलाई बढाउने भनिएको छ नि ?
–निर्वाचन प्रणालीका कारणले राजनीतिक अस्थिर मच्चियो भन्नु त ठिक होइन । यी सबै कुरा उनीहरुले आफ्नो असक्षमता लुकाउनलाई गरिरहेका नक्कली कुरा मात्र हुन् । हिजोका दिनमा पनि मल्टी पार्टी सिस्टम भनिएको थियो । तर, मुख्य रूपमा दुईवटा मात्र पार्टी नै शासन गरेका होइनन् ? आज पनि दुई तीन वटा पार्टी मात्रैले आलोपालो सरकार संचालन गर्दै आएका छन् । निर्वाचन प्रणालीको कारणले र कसैको बहुमत नआएको कारणले पनि अस्थिरता आएको हुँदै होइन । आफ्नै असक्षमता र अयोग्यताको कारणले यस्तो भइरहेको छ । सरकार संचालन गरिरहेका ठूला दल भनाउँदाहरुले यही कुरा गर्छन् भने बरु ५१ प्रतिशतकै थ्रेसहोल्ड राख्दिए भइहाल्यो नि । ५१ प्रतिशत मत नपुग्दासम्म चुनाव गरिराख्ने नेपाली कांग्रेसको पार्टी विधानमा नै व्यवस्था छँदैछ । अमेरिकामा पनि यही सिस्टम छ । १०–२० प्रतिशतको थ्रेसहोल्डको हौवा किन मच्चाई राख्ने ?


० ०७९ मङ्सिरको आम निर्वाचनमा ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा नेकपा समाजवादी राष्ट्रिय पार्टी बन्न सकेन, यतिखेर तपाईंहरु जस्तै अन्य साना पार्टीलाई कमजोर बनाउनको लागि यस्तो व्यवस्था गर्न लागिएको बताइदै छ नि ?
–उहाँहरूको त्यो खालका भाषणहरू मैले पनि सुनेको छु । यसमा कोही मान्नेवाला छैन । यो सम्भव पनि छैन । किनभने संविधान संशोधनको लागि संसदमा दुई तिहाई संख्या चाहियो नै । त्यो संभव देखिंदैन । त्यसकारण पनि आम नागरिक र राजनीतिक दलहरूलाई साइकोलोजिकली रुपमा डिमोरलाइज गर्नको लागि यस्तो नाटक गरिएको हो । त्यो बाहेक अरु केही होइन ।


० आगामी दिनमा मुलुकको राजनीति कसरी अगाडि बढ्ला जस्तो तपाईंलाई लाग्छ ?
–अहिले सबैभन्दा ठूलो प्रहार कांग्रेस र एमालेमाथि नै छ । किनकि पुराना राजनीति पार्टीहरू उनीहरु नै हुन् । त्यसैले एकीकृत समाजवादी पार्टीलाई राम्रो ढंगले संगठन सुदृढ गरेर अगाडि लैजान सक्यौं भने राम्रो पार्टी निर्णायक शक्ति बन्नसक्ने सम्भावना हामीले देखिरहेका छौं । ०७९ को आम निर्वाचनबाट उदायका नयाँ पार्टीहरूको भूमिका पनि धेरै राम्रो देखिएन् । सबै काण्डैकाण्डमा मुछिएको र उनीहरुमा म्याचुरिटी पनि देखिएन । आउँदो चुनावमा जसले पपुलर क्यान्डिकेट दिनसक्छ त्यही राजनीतिक दल लार्जेस्ट पार्टी बन्न सक्छ । 


० आउँदो चुनावमा माओवादी वा साना वामपन्थी दलहरूसँग चुनावी एकता हुने सम्भावना कत्तिको छ जस्तो लाग्छ ?
–हुनसक्छ । अहिले हामी एक्लै चुनाव लड्नुपर्छ भन्ने तयारीमा जुटेका छौं । चुनाव आइसकेपछि कांग्रेसलाई एमालेको डर, एमालेलाई कांग्रेसको डर हुन्छ नै । यदि त्यही भएको खण्डमा हामी पनि साना दलहरू सबै एक ठाउँमा उभिएर उनीहरुलाई च्यालेन्ज गर्ने छौं । (साँघु साप्ताहिक, २०८१ असोज ८–१५)
 

प्रतिकृया दिनुहोस