• शनिबार-पौष-६-२०८१

होटलदेखि सिंहदरबारसम्म बालश्रम, एक दिन बाल दिवस मनाएर बालबालिकालाई हुन्छ र आराम ?

काठमाडौं ,२९ भदौ । आज ६०औं  बाल दिवस मुलुकभर 'बालबालिकामा लगानी,सुनिश्चित भविष्यको थालनी' भन्ने नाराका साथ मनाइँदैछ। तर आजैको दिन शहरका पसल, होलट र वर्कसप चहार्ने हो भने सयौं बालबालिका असिनपसिन भएन काममा दलिएका छन् ।

 

ललितपुरको लुभुस्थित एक  वर्कसपमा काम गर्छन् १२ वर्षीय राम परियार (नाम परिवर्तन) । उनले त्यहाँ एक वर्षदेखि काम  श्रम गर्दै आएका छन् । खाने बस्ने व्यवस्था गरेर साहुले उनलाई सात  हजार रुपैयाँ तलब दिएका छन् ।


७ वर्षको उमेरमा बुबा गुमाएका सिन्धुलीका  रामले ३ कक्षाभन्दा पढ्न पाएनन् । आफूभन्दा सानो भाइ र आमाको जिम्मेवारी काँधमा आएसँगै उनी कामको खोजीमा ललितपुर आइपुगेका हुन् ।


काम खोज्ने क्रममा उनले वर्कसपमा  काम पाए । कामसँगै पढ्न पनि पाए हुन्थ्यो भन्ने उनको इच्छा थियो । तर दिनभरी वर्कसपमामा बस्नुपर्ने भएकाले उनको पढ्ने इच्छा पूरा हुन पाएन।


रामले बिहान ७ देखि बेलुका ८ बजेसम्म १३ घण्टा  काममा बिताउनुपर्छ । ‘अन्य बालबालिका सुकिलो ड्रेस लगाएर स्कुल गएको देख्दा रुन मन लाग्छ, मेरो बुबाको मृत्यु नभएको भए म पनि स्कुल जान पाउँथे होला,’ राम भावुक हुँदै सुनाउँछन् ।

 

सानै उमेरमा परिवारको जिम्मेवारी काँधमा बोकेर हिंडेका रामको पीडा सुनिदिने कोही छैन । कामले थाकेर गएको बेला सुमसुम्याउने हात छैनन् । तैपनि उनले सपना देख्न भने छोडेका छैनन् । काम गरेर कमाएको पैसा जम्मा गरेर पछिआफ्नै वर्कसप खोलेर बस्ने सपना पालेका छन् रामले ।

 

   १५  वर्षको उमेरमा कामको खोजीमा रामेछापबाट काठमाडौं आएकी सुस्मिता  लामा (नाम परिवर्तन)को पनि कथा उस्तै छ । गरिबी र अभावले उनले कक्षा ५ पछि पढाइलाई निरन्तरता दिन सकिनन् । गरिबीको कारणले पढाइ पनि बीचमै छोड्नु परेको र खान लाउन नै समस्या भएपछि कामको खोजीमा सुस्मिता  काठमाडौं आइन् । काठमाडौं आएर उनले होटलमा  काम गर्न थालिन् ।


   होटलमा काम गर्दा उनले विभिन्न किसिमको दुर्व्यवहार सहनुपर्‍यो । त्यहाँ भोग्नुपरेको नराम्रो व्यवहारको कारण उनले काम छोडिन् । त्यसपछि उनी एउटा रेस्टुरेन्टमा भाँडा माझ्न थालिन्  । तर, त्यहाँको अवस्था पनि फरक बनेन । उनले विभिन्न प्रकारको यौन दुर्व्यवहार सहनुपर्‍यो । तलब पनि पाइनन् । आजभोलि उनी एउटा किराना पसलमा काम गरेर जिबिका चलाइरहेकी छिन् ।


त्यस्तै एमालेको लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्माको घरबाट महानगरले श्रम शोषण गरेको भन्दै एक बालिकाको उद्धार गर्‍यो । र, शर्माविरुद्ध बालबालिकालाई दास बनाउने कसुर गरेको अभियोगमा फौजदारी मुद्दा चलाउन उनलाई पक्री अनुसन्धान गरी पाऊँ भन्दै महानगरले प्रहरीकोमा निवेदन पनि दायर गर्‍यो । तर पनि, शर्मा पक्राउ नपरेपछि काठमाडौं मेयर शाहले त्यसमा एमालेको हस्तक्षेप भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा आक्रोशपूर्ण टिप्पणी गरे । तर अहिलेसम्म सम्बन्धित निकायको ध्यान भने गएकाे छैन ।


बालबालिकाको हकहित र बालश्रमविरुद्ध काम गर्ने थुप्रै सरकारी तथा गैरसरकारी संघ/संस्थाहरू छन् । तर पनि बालश्रम गर्ने बालबालिकाको संख्या कम भएको छैन ।


राष्ट्रिय श्रम शक्ति सर्वेक्षण प्रतिवेदनअनुसार करिब २१ लाख ४० हजार बालबालिका आर्थिक रूपमा सक्रिय छन् । प्रतिवेदनअनुसार १६ लाख बालबालिका श्रमिककै रूपमा कार्यरत छन् भने तीमध्ये ६ लाख २० हजार बालबालिका निकृष्ट प्रकारको श्रममा संलग्न छन् ।


के हो बालश्रम ?


अधिकारकर्मीका अनुसार १४ वर्षभन्दा कम उमेरका  बालबालिकालाई शिक्षा, खेलकुद, मनोरञ्जनको सट्टामा उनीहरूको शारीरिक, मानसिक, सामाजिक तथा नैतिक विकासको गतिविधिमा बाधा वा अवरोध हुने गरी काममा लगाउनु बालश्रम हो । बालबालिकालाई सामाजिक वा आर्थिक लाभका लागि श्रममा संलग्न गराउनु बालश्रम हो ।


बालश्रम एक प्रकारको दासत्व हो ।  बालश्रम गराउनेलाई दुई हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।कानुनी प्रावधानअनुसार १४ वर्ष उमेर नपुगेका बालबालिकालाई श्रममा लगाउनु दण्डनीय हो ।

 

१४ देखि १८ वर्षसम्मका बालबालिकालाई सामान्य काममा लगाउन सकिन्छ तर बालश्रम (नियमित र निषेधित गर्ने) ऐन २०५६ ले ११ प्रकारका कामलाई जोखिमपूर्ण व्यवसाय वा काम भनी उल्लेख कार्यमा बालबालिकालाई संलग्न गराउन सकिंदैन ।


  जसमा बाल भरिया, सडक बालबालिका, बालबालिकाको बेचबिखन, बालविधुवा बालश्रम, घरेलु बाल श्रमिक, इँटा कारखानामा काम गर्ने बाल श्रमिक र कोइला तथा अन्य खानीमा काम गर्ने बाल श्रमिक पर्दछन् ।१४ देखि १८ वर्षसम्मका बालबालिकालाई श्रममा लगाउँदा सम्बन्धित श्रम कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ । हप्तामा ३६ घण्टा बढी काममा लगाउन पाइँदैन भने साप्ताहिक बिदा अनिवार्य दिनुपर्छ ।


शहरका गल्ली गल्लीमा बालश्रमको दृश्य नियाल्दै सिंहदरबारमा बाल श्रम मुक्त गर्छौं भनेर कुर्लिनेहरुले बालबालिकाको व्यथा कहिले बुझ्ने ?

प्रतिकृया दिनुहोस