• आइतबार-असार-२३-२०८१

नेपाल वायुसेवा निगमको तामझाम बिनै ६६औं वार्षिक उत्सव सम्पन्न

राष्ट्रिय ध्वजावाहकको मान र स्वाभिमान कायम राखाैं

काठमाडाैं । नेपाल वायुसेवा निगमको ६६औं वार्षिकोत्सव २०८१।०३। १७ गते तद्नुसार ०१ जुलाई, २०२४ का दिन भव्यताका साथ मनाएको छ । उक्त अवसरमा वैदिक विधि अनुसार आकाश भैरवको पूजा आराधना पश्चात् निगमको कार्यकारी अध्यक्ष  युबराज अधिकारीले आमन्त्रित सवैलाइ स्वागत गर्दै सहभागिताको लागि धन्यवाद ज्ञापन दिएका थिए ।


  उक्त कार्यक्रममा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  हित बहादुर तामाङले नेपाल वायुसेवा निगमको उत्तरोत्तर प्रगति तथा उन्नतिको कामना सहित हार्दिक शुभकामना दिँदै प्रभातफेरी कार्यक्रमको शुरुवात गरेका थिए ।

 

उक्त प्रभातफेरी निगमको प्रधान कार्यालय कान्तिपथबाट सुरु भई न्यूरोड, भोटाहिटी, भद्रकाली, शहीदगेट हुँदै निगमको प्राङ्गणमा आई टुँगिएको थियो ।

 

  निगमको ६६ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत केन्द्रीय कार्यालयमा २०८१ असार ७ गते सम्पूर्ण कर्मचारीहरुको लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । असार १२ गते टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा पुरुषतर्फ निगमका का.मु उप–निर्देशक, प्रितम प्रसाद प्रधान प्रथम हुनु भएको थियो भने निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारी द्वितीय भएका थिए ।


   महिला तर्फ निगमका उप–निर्देशक, सविना शाक्य प्रथम भएका  थिए  । यसै अवसरमा असार १३ गते निगमको केन्द्रीय कार्यालयमा र एयरपोर्टमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

 

उक्त कार्यक्रममा निगमका २१८ जना कर्मचारीले रक्तदान गरेका थिए । त्यस्तै असार १४ गते शुक्रबार एयरपोर्ट टिम र प्रधान कार्यालय टिम बिच महिला–महिला, पुरुष–पुरुष मैत्रीपूर्ण फुटबल खेल आयोजना भएको थियो ।

 

 विजेताहरुलाई २०८१ असार १७ गतेकाे  वार्षिकोत्वसवको अवसरमा मन्त्रीबाट मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागी अन्य खेलाडीहरुलाई निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारी र नायव महाप्रवन्धक (प्रा.) डोलेश्वर कोइरालाले मेडलबाट  ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

उक्त अवसरमा मन्त्रीले निगमको हितमा हुने कार्यमा सधैँ आफ्नो साथ सहयोग रहने जनाउँदै नेपाल वायुसेवा निगमको ६६ वर्षको गर्विलो इतिहास कायम राख्दै इमान्दारीपूर्वक काम गर्न कर्मचारीहरुलाई निर्देशन दिंदै सवैले एकसाथ इमान्दारीताका साथ काम गरे मात्र निगमले प्रगति गर्न सक्ने विश्वास व्यक्त गरेका थिए  ।

 

  त्यसैगरी निगमको कार्यकारी अध्यक्ष युबराज अधिकारीले आमन्त्रित सवैलाइ सहभागिताको लागि धन्यवाद ज्ञापन गरेका थिए । उक्त अवसरमा बोल्दै कार्यकारी अध्यक्षले सम्पूर्ण कर्मचारीहरुलाई अनुशासित भई एकजुट भएर बाधा अड्चनलाई छिचोल्दै, राष्ट्रिय दायित्वको भूमिका निर्वाह गर्दै, राष्ट्रिय ध्वजावाहकको मान र स्वाभिमान कायम राख्दै निगमको हितमा कार्य गर्नुपर्नेमा जोड दिँदै सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए । यस पटक निगमले बिना तामझाम आर्थिक मितव्ययिता अपनाई वार्षिक उत्सव कार्यक्रम मनाएको बताएकाे छ ।

प्रतिकृया दिनुहोस