• आइतबार-असार-२३-२०८१

क्यानको केन्द्रीय कार्यसमितिको बैठक बस्दै, विश्वकप समीक्षा मुख्य एजेण्डा 


काठमाडौं । नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । 

 

आज बिहान ११ बजे काठमाडौंको एक होटेलमा बस्ने गरी बैठक आह्वान गरिएको हो । बैठकमा झण्डै एक दर्जन बढी एजेन्डाहरु तय गरिएका छन् । नेपाली क्रिकेट टिमले वेस्टइन्डिज र अमेरिकामा आयोजना भएको आईसीसी टी २० विश्वकपको समीक्षा, उक्त विश्वकपको तयारी खर्च अनुमोदन गर्ने एजेन्डा तय गरिएको छ । 


यसैगरी सन्दीप लामिछानेको भिसा समस्याको एजेन्डा पनि तय गरिएको बताइएको छ । सन्दीपले अमेरिकाको भिसा पाएका थिएनन् । दुई पटक अन्तर्वार्ता दिँदा पनि भिसा अस्वीकृत भएको थियो । यसैगरी, पहिलो संस्करण आयोजना गरेर निकै विवादित बनेको नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण आयोजनाका बारेमा पनि आजको बैठकमा छलफल हुने बुझिएको छ । 


टीयू मैदानमा रहेको जिम हल विस्तार र पीचको माटो भण्डारण क्षेत्रको विषयमा पनि छलफलका  एजेन्डा तय गरिएको छ । यसैगरी मूलपानी मैदानको क्युरेटिङ कन्सलटेन्ट नियुक्ति सम्बन्धमा पनि छलफल हुने छ भने राष्ट्रिय छनोट समितिको सुविधाका विषयमा पनि छलफलको एजेन्डामा तय गरिएको छ । 


महिलाको टी २० एसियाकपको सहभागिताका साथै कर्मचारीहरुको प्रशासनिक नियमावली पनि पारित गर्ने एजेन्डामा समावेश गरिएको छ ।
 

 

प्रतिकृया दिनुहोस