• शनिबार-श्रावण-१२-२०८१

चाकडी नगर्ने सचिव–सहसचिव पाखा : नेता निकटहरुलाई महत्वपूर्ण जिम्मेवारी

मुख्यसचिव डा. बैकुण्ठ अर्याल

 

काठमाडौं । निजामती प्रशासन सेवाका सम्पूर्ण कर्मचारीहरूका अभिभावक मुख्यसचिवलाई मानिन्छ । उनले सचिवहरूको क्षमता, विषय विज्ञता, निर्णय क्षमता, कार्यकुशलताका आधारमा मातहतका कर्मचारीहरूलाई जिम्मेवारीमा खटाउन सरकारलाई राय सुझाव दिन सक्छन् । कर्मचारीको क्षमता, असल चरित्र र अनुभवका आधारमा सही मूल्यांकन गरी मन्त्रालयको जिम्मेवारी दिन मन्त्री र प्रधानमन्त्रीलाई ब्रिफिङ गरी त्यही अनुसार सहसचिव र सचिवहरूलाई जिम्मेवारी तोक्नुपर्ने मुख्यसचिवको प्रमुख कार्य पनि हो ।


तर, अहिले त्यसको ठिक विपरीत बिचौलियाको दवाव र प्रभावमा  प्रधानमन्त्री, उप–प्रधानमन्त्री र मन्त्रीले आफ्नो अनुकूल र सहजता हुनेगरी सचिव र सहसचिवहरुको सरूवा गर्दै आएका छन् । जसका कारण सरकारले आम नागरिक र विदेशीहरूको नजरमा विकास, निर्माण र सुशासन दिन नसकिरहेको महसुस भइरहेको छ । २०८० फागुन २१ गते सरकारको समीकरण फेरबदल भएयता मात्रै २२ जना सचिव र करिब एक सय भन्दा बढी सहसचिवहरूको अन्तर मन्त्रालय सरूवा भइसकेको छ ।


तर, योग्यता, क्षमता, दक्षता, विषय विज्ञता, काबिल, निर्णय क्षमता भएका, अतिरिक्त आम्दानीमा आँखा नलगाउने, भ्रष्टाचार नगर्ने, जनता र देशको सोझो हित चिताएर काम गर्ने अनुभवी सचिव र सहसचिवहरूलाई सरकारले खासै महत्व नदिएको गुनासो हुँदै आएको छ । यही कारण उनीहरूले चाहेर पनि महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउन सकिरहेका छैनन् ।


हाल राष्ट्रपति कार्यालयमा कार्यरत सचिव डिल्लीराम शर्मा, रक्षा मन्त्रालयका किरणराज शर्मा, उद्योग सचिव रहेका कृष्ण बहादुर राउत, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत सचिव घनश्याम उपाध्यायलगायत विवादरहित एक दर्जन भन्दा बढी सचिवलाई सरकारले चिनेर उनीको क्षमता अनुसारको जिम्मेवारी दिन सकिरहेको छैन । यी सचिवहरूले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएको खण्डमा बढ्दो बेतिथी र कुशासनमा थोरै भएपनि न्यूनीकरण हुन सक्ने आशा निजामती प्रशासनले गरेको छ ।


तर, प्रधानमन्त्री, मुख्यसचिव, मन्त्री, उपप्रधानमन्त्रीका वरपर रहेका आसेपासे र कोसेलीपात बुझाउनेहरूले नै महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी प्राप्त गर्दै आएको देखिन्छ । जसले गर्दा सेवाग्राही जनतालाई तत्कालै सेवा प्रवाह गर्नुपर्ने र विकासे मन्त्रालयहरूमा कामको ठेक्का लगाउन, विकास र निर्माणका काम अगाडि बढाउन समस्या परिरहेको चर्चा चल्दै आएको छ । यही कारण निजामती प्रशासनमा सुधार भन्दा पनि विकृति बढ्दै गएको जानकाहरु बताउँछन् । (साँघु साप्ताहिक, २०८१ जेठ ७)
 

प्रतिकृया दिनुहोस