• आइतबार-जेठ-६-२०८१

सचिवले काखी च्यापेपछि बढ्यो मनपरी : निर्देशकको व्यवहारले चिकित्सक असन्तुष्ट !

 

भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको कार्यशैली र व्यवहारप्रति स्थानीय नागरिक, चिकित्सक र अस्पतालमा कार्यरत कर्मचारीले असन्तुष्टि जनाउँदै आएका छन् । उनले मुटु र कलेजो नबिग्रिएका विरामीको मात्र मिर्गौला प्रत्यारोपण गर्ने व्यवस्था मिलाएकोमा प्रत्यारोपणको प्रतिक्षामा रहेका विरामीले आपत्ति जनाउँदै आएका छन् ।


यही कारण अस्पतालले कलेजो प्रत्यारोपण नगरेको धेरै समय बितिसकेको अस्पताल स्रोतले जानकारी दिएको छ । यतिसम्मकि अस्पताल प्रमुख श्रेष्ठले अस्पतालमा भएको विशेषज्ञ  र जनशक्ति उपयोगविहीन बनाएर बाहिरका चिकित्सक हायर गरेर सेवा लिएकोमा कर्मचारीहरुले आपत्ति जनाउँदै आएका छन् । जसले गर्दा अस्पतालको खर्च बढेकोमा कलेजो र मुटुरोग विशेषज्ञ चिकित्सकहरूले असन्तुष्टि जनाएको समाचार छ ।


अस्पतालले मुटु र कलेजोका विरामीको मिर्गौलाको प्रत्यारोपण नगरी डाइलासिस मात्र गरेर राख्दै आएको बताइएको छ । मुटु रोगीको पनि अप्रेसनका लागि अर्काे अस्पतालमा रिफर गरिदै आएको स्रोतको भनाई रहेको छ ।


सचिवले काखी च्याप्दा 
निर्देशकमा चढ्यो घमण्ड

केन्द्रका निर्देशक डा. श्रेष्ठलाई स्वास्थ्य सचिव डा. रोशन कुमार पोखरेलले काखी च्यापेकै कारण उनमा घमण्ड बढेको आरोप कर्मचारीले लगाएका छन । विगतमा डा. श्रेष्ठकै नेतृत्वमा वीर अस्पतालमा मिर्गौला र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा शुरु गरिएको थियो ।


  हाल अंग प्रत्यारोपणका लागि विदेश जानुपर्ने बाध्यता हटेको बताइन्छ । १६ वर्ष अघिसम्म नेपालमा अंग प्रत्यारोपण सेवा नहुँदा नेपालीहरूले भारत लगायत देश जानुपर्ने बाध्यता थियो । त्यसक्रममा मिर्गौला, कलेजो आदि प्रत्यारोपणका लागि एक वर्षमा करिब २ सयजना जनाले विदेशी भूमिमा पुगेर उपचार गर्नु पर्दा रु. १ अर्ब भन्दा बढी राज्यको धन बाहिरिने गरेको थियो । सन् २००८ मा बेलायतबाट फर्किएपछि श्रेष्ठले स्वदेशमै अंग प्रत्यारोपण सेवा शुरू गरेका थिए ।


  मिर्गौला, कलेजो र प्यान्क्रियाज प्रत्यारोपणसम्बन्धी अध्ययन गरेर फर्किएका उनले अन्य चिकित्सकहरूको समन्वयमा सन् २००८ को डिसेम्बरमा वीर अस्पतालमा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरेको बताइन्छ । प्रत्यारोपणमा वरिष्ठ चिकित्सकहरू डा. विजयकुमार शर्मा, डा. रजनी हाडा, डा.राजेन्द्र अग्रवाल, डा. ब्रम्हदेव झालगायतले समन्वय गरेका थिए ।
त्यसपछि सरकारले वीरमा प्रत्यारोपण युनिट नै स्थापना गरेको थियो । तर, जनशक्ति र स्रोत साधनको अभावमा सञ्चालन हुन भने सकेको थिएन । प्रशासनिक उल्झनकाबीच पहिलो प्रत्यारोपण शुरू गर्न हारगुहार गर्नुपरेको थियो ।


०६८ देखि भक्तपुरमा प्रत्यारोपन सेवा
वीर अस्पतालमा काम गरिरहेका उनलाई २०६८ सालमा स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालको नवनिर्मित भवनमा मानव अंग प्रत्यारोपण केन्द्र सञ्चालनको जिम्मा दिएको थियो ।  तत्कालीन स्वास्थ्य सचिव स्व. डा. प्रवीण मिश्रले उक्त जिम्मेवारी दिएपछि उनले यो सेवाको सुरुवात थालेका थिए । तर, त्यो वेला प्रत्यारोपण केन्द्रमा न जनशक्ति थियो, न त स्रोतसाधन नै । मन्त्रालयले केन्द्रलाई अघि बढाउन डा. पुकारलाई फोकल पर्सन बनाएको तीन महिनामा उनको समूहले संस्था सञ्चालनका लागि विधान बनाएको थियो । राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण भएका मध्ये ९९ प्रतिशत सफल भएको बताइन्छ ।


मिर्गौलाको लगातार सफलतापूर्वक प्रत्यारोपण कमै मात्रामा हुने गरेको बताइन्छ । नेपालमा मिर्गौला र कलेजोको प्रत्यारोपण हुनु गर्वको कुरा हो । यसलाई सरकारले अझ प्रदेशस्तरका अस्पतालमा पनि सेवा विस्तार गर्न भने सकेको छैन । २०६९ बैशाख ११ मा गठन आदेश जारी गर्दै मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिएको थियो । कर्मचारीलाई आकर्षक सेवा–सुविधा उपलव्ध नहुँदा टिकाएर काम गराउन पनि उतिक्कै समस्या थियो ।


त्यति हुँदाहुँदै पनि केन्द्रले जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण सेवा पनि २०७३ मंसिरदेखि शुरू गरेको थियो । निर्देशक श्रेष्ठ नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने चिकित्सक मानिन्छन । केन्द्र स्थापना भएको ६ महिनामा मिर्गौलाको डाइलसिस सेवा र १० महिनामै प्रत्यारोपण सेवा उनले शुरू गरेका थिए । त्यसपछि भने मुलुकभित्रै मिर्गौला प्रत्यारोपण सेवाले तीव्रता पाएको बताइन्छ ।


०७४ सालमा अस्पतालको परिवर्तन
प्रत्यारोपण केन्द्र स्थापना गर्ने समयमा डा. पुकारको नेतृत्वमा डा. कल्पना श्रेष्ठ, डा. राकेश बर्मा र डा. ब्रह्मदेव झा लगायत समूह गरेको थियो । उनीहरूबाहेक प्रत्यारोपण केन्द्रमा काम गर्ने कर्मचारीहरूलाई तीन महिना करारमा खटाउनुपर्ने बाध्यता थियो ।


यो अवस्थामा प्रत्यारोपण सेवालाई निरन्तरता दिन निकै चुनौतीपूर्ण थियो । २०७४ पुसमा मानव अंग प्रत्यारोपण केन्द्रको नाम परिवर्तन गरी शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा परिणत गरिएको हो । विगतमा नजिकका सीमित नातेदारले मात्रै अंगदान गर्न सक्ने कानूनी व्यवस्था रहेको थियो । सो प्रावधानले प्राविधिक रूपले अंग नमिल्नाले प्रत्यारोपणमा असहजता देखिएको भन्दै कानून परिमार्जन गरेर जुनसुकै नातेदारले पनि अंगदान गर्नसक्ने व्यवस्था गर्न उनले निकै पहल गरेका पनि थिए ।


बेलायतमा अंग प्रत्यारोपणको काममा अनुभवी भएका उनले  आफ्नै मुलुकमा केही गर्ने सोचले उनी आफ्ना प्राध्यापकसँग सल्लाह गरेर नेपाल फर्किएका थिए । उनले प्रतिष्ठित व्यक्तित्वहरू समेटेर गैर नाफामूलक संस्था आरोग्य प्रतिष्ठान स्थापना गरेका छन् । प्रतिष्ठान अन्तर्गत देशमै पहिलो पटक अंग प्रत्यारोपणका लागि अत्यावश्यक एचएलए ल्याब स्थापना गरिएको छ ।


जनचेतना बढाएपनि समस्या उस्तै 
उनले डाइलसिस सेवा तथा अंगदान र प्रत्यारोपणबारे जनचेतना जगाउने काम पनि गर्दै आएका छन । तर, दिनप्रतिदिन खानपान, आहार बिहार र बातावरणका कारण समस्या घटने भन्दा बढदै गएका छन । मस्तिष्क मृत्युपछि अंगदान गर्ने कानून बनाउने काममा उनले धेरै मेहनत गरेपनि सफलता हात पारेपनि सो प्रवाधान कार्यान्वयनमा लैजान भने उनले सकेका छैनन् । तरपनि केन्द्रमा हालसम्म मस्तिष्क मृत्यु भएकाको मिर्गौला र कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिसकिएको छ । तर, सडक दुर्घटनाका कारण मस्तिष्क मृत्युको संख्या नेपालमा बढी हुने गरेको छ । मृत्यु भएकाहरुको  अंग विरामीमा प्रत्यारोपणका लागि अस्पतालले खासै सफलता हासिल गर्न सकिरहेको छैन ।


परिवारका सदस्यबीच अंग म्याच नभएको अवस्थामा गैर नातेदारहरूबीच आपसी अंग साटासाट गर्न सक्ने व्यवस्था पनि मिलाइएको छ । प्रत्यारोपण केन्द्रमार्फत आफ्ना नाताभित्र ‘म्याच’ नभएका गैर नातेदार जोडीको मिर्गौला साटेर प्रत्यारोपण गरिएको छ । प्रत्यारोपण सम्बन्धी कानूनको सहजताका बावजुद पनि मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदान गर्ने परिपाटी नै छैन ।
यसबारे जनचेतना फैलाउन आवश्यक छ । तर सो कार्यले गति लिन सके स्वस्थ व्यक्तिको अंगदानबाट हुने जोखिमको अन्त्य हुने र नेपाल मिर्गौला प्रत्यारोपणमा आत्मनिर्भर बन्न सक्छ । केन्द्रमार्फत देशका विभिन्न भागमा मिर्गौला डाइलसिस सेवा विस्तार गरिएको छ ।


जनकपुर र धनगढीमा डाइलसिस सेवा सञ्चालन गर्न औषधि, स्वास्थ्य सामग्री र जनशक्तिलाई तालिम दिइएको छ । यसबाहेक केन्द्रले अन्य ठाउँमा डाइलसिस सेवा सञ्चालनका लागि जनशक्तिलाई तालिम दिंदै आएको छ । (साँघु साप्ताहिक, २०८१ वैशाख २४)
 

प्रतिकृया दिनुहोस