• आइतबार-जेठ-६-२०८१

माधवलाई प्रचण्डको झड्का 

 

काठमाडौं । काठमाडौंको राजनीतिक वृत्तमा माधव नेपाल हटकेक बनिरहेका छन् ।  उनको गतिविधि र बोलाई चासोका रुपमा मात्र हेरिएको छैन, टिप्पणी योग्य पनि देखिएका छन् । त्यसैले, अहिले माधव नेपालले बोलेका कुरा चर्चामा आइरहेका हुन्छन् । त्यही क्रममा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेर आफू सरकार बनाउन थालेको बताएको चर्चा छ । आफूले १३८ सांसद जम्मा गरिसकेकाले बाटो खुला गरिदिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेको चर्चा राजनीतिक  वृत्तमा  चलेको छ । 


 माधव नेपालले प्रचण्डलाई भेटेर आफूसँग बहुमत सांसद रहेको भन्दै राजीनामा दिन आग्रह गर्ने हिम्मत कसरी जुट्यो भन्ने चाहिँ चासोको विषय बनेको छ । कांग्रेसले माधव नेपाललाई प्रधानमन्त्री बनाउन सकिने बताइरहेका छन् । त्यही आडभरोसामा माधव नेपालले सार्वजनिक रुपमा बोल्न थालेको पनि देखिन्छ । माधव र कांग्रेसजनहरुको  सरकारविरोधी  गतिविधिले पिरोलिएका प्रचण्डले भने माधव नेपाललाई १३८ जना सांसद देखाएर ल्याउनु मेरा ३२ पनि तपाईलाई नै थपिदिउँला भनेको चर्चा पनि चलेकै छ । 


प्रचण्डले उक्त  कुरालाई गम्भीरतापूर्वक भन्दा पनि झोँकका रुपमा भनेको बालुवाटारनिकटहरुको चर्चा छ । तर, माधव नेपालले भने प्रचण्डको उक्त कुरालाई नै गम्भीर रुपमा लिएर माओवादीले पनि अन्तिममा साथ दिने भन्दै हल्ला गरिरहेका छन् । उक्त हल्लाको पछाडि माधव  नेपालको सपना कसरी पूरा हुन्छ भन्न सकिने अवस्था छैन । अनि, परिस्थिति पनि तत्कालै अनुकूल देखिएको छैन । माधव नेपाल सरकार बनाउन नयाँ कसरतमा लागेका बेलामा प्रचण्डले भने नागरिक उन्मुक्ति पार्टीका सांसदलाई मन्त्री बनाउँदैछन् । 


संसदीय दलका नेता रञ्जिता श्रेष्ठ चौधरी र अरुणकुमार चौधरीलाई मन्त्री बनाउने कसरतमा रहेका छन् । रञ्जितालाई उपप्रधानमन्त्रीसहित मन्त्रालयको जिम्मा दिन लागेको चर्चा चलिरहेको छ भने अर्को पद भने राज्यमन्त्री हुने बताइएको छ । तर, अरुणले राज्यमन्त्रीमा स्वीकार गरिनसकेको चर्चा पनि रहेको छ । उनले फुलमन्त्री खोजेका छन् । चर्चा अनुसार त वैशाख २४ गते आज सोमबार  नै मन्त्रीहरु थपिन सक्ने चर्चा पनि भइरहेको छ । २५ सदस्य समेत हुने मन्त्रिपरिषद्मा हाल २३ सदस्य मात्रै रहेका छन् । मन्त्रीका लागि २ थान पद सुरक्षित रहेको छ । (साँघु साप्ताहिक, २०८१ वैशाख २४)

प्रतिकृया दिनुहोस