• मंगलबार-जेठ-८-२०८१

साँगा–धुलिखेल सडक निर्माणमा ढिलाई

 

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकस्थित धुलिखेलसम्मको सडक विस्तार योजनाको काममा ढिलाई भएको गुनासो बाहिर आएको छ । जसका कारण यो सडक भएर अरनिको राजमार्ग, बनेपा–वर्दिवास र पुष्पलाल मध्यपहाडी लोकमार्ग जाने सवारीसाधन र यात्रुहरूले ठुलो सास्ती खेप्दै आएका छन ।  सडक खण्ड वरपरका जनताले धुलो, धुवाको प्रदुर्षणको सास्ती खेप्नु परेको छ ।


यो सडक आयोजना सुरू भएको दुई वर्ष बितिसक्यो तर सडक विस्तारको काम भने तीव्रगतिमा अगाडि बढन सकिरहेको छैन । आयोजनाले पुरानो शैलीका ढल व्यवस्थापनलाई निरन्तरता दिँदा भविष्यमा समस्या निम्तिने खतरा देखिएको स्थानी बासिन्दाहरु बताउँछन । सडक विस्तारसँगै मुख्यचोकमा अण्डर पास, आकासे पुल, नयाँ ढलको व्यवस्था, अण्डरग्राउण्ड विद्युत लाइन जडान, टेलिफोन पोल र खानेपानी पाइपको व्यवस्थासहित नेटका तार जडान गर्ने पोल निर्माण गरिएको छैन । आयोजनाले सडक विस्तारसँगै यी कार्य सँगसँगै थाल्नुपर्ने थियो ।


तर, ती काम अहिले नहुँदा सडक विस्तार लगत्तै फेरि ती निकायहरूले सडक खन्ने, खाल्डो पार्ने र बिगार्ने सम्भावना उत्तिक्कै रहेको बताइएको छ । तीन वर्षमा सक्नेगरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो । सोही अनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट सडक विस्तार र निर्माणको कार्य थालिएको थियो । सडक विस्तारका क्रममा पहिलेकै स्थानमा पुरानै शैलीका ढल राख्दा र आवश्यक स्थानमा नराख्दा ढल व्यवस्थापन अस्तव्यस्त हुन पुगेको समाचारस्रोतले जानकारी दिएको छ ।


अरनिको राजमार्ग विस्तारका क्रममा भएका सबै संरचनाको पुन ःनिर्माण गर्ने गरी आयोजनाले गरेको विस्तृत अध्ययन प्रतिवेदनमा सडक क्षेत्रमा पर्ने ढल, खानेपानी, विद्युत, टेलिफोनको पोललगायतका संरचना पुनर्निर्माण हुने तर आयोजनाले कुनै नयाँ स्थानमा नयाँ व्यवस्थापन नगर्ने सूर्यविनायक–धुलिखेल–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना स्रोतले बताएको छ । यही कारण पुरानै क्षेत्रमा ढलको विस्तार र व्यवस्थापन गरिएको बताइएको छ । आयोजनास्रोतका अनुसार नयाँ ढल राख्ने वा थप्ने योजना छैन ।


यो काम अन्य निकायको कार्यक्षेत्रमा पर्ने आयोजनाको भनाई रहेको छ । धुलिखेल नगरपालिका–३ बाँसघारीमा हाल ढल परिवर्तनको काममा भइरहेको छ । बनेपामा भने साविकको ढल परिवर्तन गर्ने भएपनि नयाँ ढलमा आयोजना संलग्न नहुने भएको बताइन्छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थल साँगामा खुलारुपमा ढल छाडिएको छ । खुला ढल नयाँ बन्ने सडकको किनार हुँदै विकटेश्वर खोलामा मिसिने छ । उक्त खोला र घाटलगायतका अन्य संरचनामासमेत यसले असर पुग्ने भन्दै स्थानीय बासिन्दाहरूले विरोध गर्दै आएका छन् ।


स्थानीयहरूले आयोजनामार्फत नयाँ र व्यवस्थित ढल निर्माण गर्न अनुरोध गर्दै आएपनि सुनुवाई भने हुन सकेको छैन । उनीहरुले पटक–पटक वडा कार्यालयमार्फत आयोजनालाई व्यवस्थित ढलका लागि अनुरोध गर्दै आएका छन । तर आयोजना र निर्माण व्यवसायीले बेवास्ता गरेको गुनासो उनीहरुले गरेका छन । अहिले नै आवश्यक स्थानमा व्यवस्थित ढल निर्माण नगरेको खण्डमा अस्तव्यस्तसँगै वातावरण प्रदूर्षण हुने बताइन्छ । (साँघु साप्ताहिक, २०८१ वैशाख १७)
 

प्रतिकृया दिनुहोस