• शनिबार-बैशाख-२२-२०८१

डा. बाबुराम भट्टराई किन एक्लिए ?

 

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई प्रमूख राजनीतिक दलहरुको त के कुरा आफ्नैले पनि प्राय टेर्न छोडेका छन । वरिष्ठ नेता महेन्द्र राय यादव, बागमती प्रदेशका मन्त्री गंगानारायण श्रेष्ठलगायतका दर्जनौ केन्द्रीय नेताले उनलाई छाडेर नेकपा माओवादी केन्द्रमा समाहित भएका थिए । बैशाख ३ गते अध्यक्ष डा. भट्टराईलाई लामो समय साथ दिएका, उनको निकटको सहयोगी भएर काम गरेका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेलेसमेत साथ छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका छन ।


उनी माओवादीका रूपन्देहीका केन्द्रीय नेता स्व. भक्ति पाण्डेका छोरा हुन् । उनलाई पार्टी प्रवेशको चार दिनपछि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा तथा सामाजिक विकास विज्ञमा नियुक्त गरेका छन् । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा छोडेर माओवादीमा प्रवेश गरेका पाण्डेलाई विज्ञ पदमा नियुक्त गरेर प्रधानमन्त्रीले नयाँ सन्देश दिन खोजेको चर्चा राजनीतिक बृत्तमा चल्न थालेको छ ।


डा. भट्टराईलाई छाडेर आउने नेतालाई पार्टी र सरकारमा महत्वपूर्ण जिम्मेवारी दिने सन्देश प्रधानमन्त्री प्रचण्डले दिएका छन । यसले डा. भट्टराईको पार्टीमा रहेका अन्य नेताहरूले पनि उनलाई क्रमशः छाडेर जाने सम्भावना बढेको बताइन्छ ।

 

२०७२ असोज ३ मा संविधान सभाबाट संविधान जारी भएपछि नेता भट्टराईले माओवादी छाडेर नयाँ शक्ति पार्टी गठन गरेका थिए । पछि उनले नयाँ शक्ति पार्टीलाई उपेन्द्र यादव र अशोक कुमार राईको जनता समाजवादी पार्टीमा विलय गराएका थिए । सो पार्टीबाट पनि उनी केही वर्षमै अलग भएर नेपाल समाजवादी पार्टी गठन गरेका थिए । (साँघु साप्ताहिक, २०८१ वैशाख १०)
 

प्रतिकृया दिनुहोस