• शनिबार-बैशाख-२२-२०८१

‘एमालेमा कमिशनखोर बढे’–महासचिव 

 

काठमाडौ । खासमा कम्युनिष्ट राजनीतिक दलसँग आबद्ध  नेता कार्यकर्तालाई पढैया भन्ने चलन थियो ।  उनीहरु निकै पढ्छन्, ज्ञानगुणका कुरा थाहा पाउँछन् र समाज दृष्टि फराकिलो हुन्छ भन्ने गरिन्थ्यो । त्यसमा पनि एमालेका  नेता कार्यकर्तालाई झन् धेरै  व्यवस्थिति रहेको मानिन्थ्यो । तर, एमाले महासचिव शंकर पोखरेलको भनाइले एमाले त्यस्तो पार्टी नभएको पुुष्टि हुन्छ । पार्टीका नेता कार्यकर्ता नपढ्ने र अल्छी हुन थालेको महासचिव पोखरेलले बताएका छन्  । पार्टीमा प्रशिक्षणको अभाव पनि हुन थालेको बताएका छन् । 


एमालेको गोदावारीमा भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा महासचिव पोखरेले लेखेर  नै एमाले नेता र कार्यकर्तामा पढाईको कमी भएको बताएका हुन् । झन्डै २२ सय एमाले नेताहरु रहेको हलमा एमालेभित्र रहेका विभिन्न समस्याहरु केलाउने क्रममा महासचिव पोखरेलले त्यसो भनेका हुन् । पोखरेलले एमालेभित्र मुख्य गरी १३ वटा समस्याको पहिचान गरी नेताहरुलाई सुनाएका छन् ।

 

देशभर भएका जिल्ला र प्रदेश अधिवेशनहरुको प्रवृत्ति र  विभिन्न जनवर्गीय संगठनका गतिविधिलाई समेत नियालेर पोखरेलले तयार पारेको ती १३ वटा समस्यामध्ये प्रमुख समस्या नै पार्टी नेता र कार्यकर्तामा अध्ययन र प्रशिक्षणको कमी रहेको उल्लेख गरेका छन् । हुन पनि पछिल्ला दिनमा एमालेका नेता र कार्यकर्ताहरु सत्ता केन्द्रित र कमिशनको चक्करमा रमाउन थालेका छन् । पढ्ने र पढाउने भन्दा पनि कमिशनको खेलमा रमाउने र को भन्दा को पहिला उछिनेर नेतृत्व हत्याउने रणनीतिक खेलमा लाग्न गरेका छन् । नैतिक धरातल विर्सने  अनि संगठनको सोपान प्रणालीलाई अविश्वास गरेर हिड्ने  प्रवृत्ति बढेको छ । त्यो प्रवृत्तिले नेता र कार्यकर्ताको सोचमा भ्रष्टीकरण भएर गणेश  प्रवृत्ति हावी हुन थालेको छ । नेताका चाकडी  गर्ने कार्यकर्ताको सोच विकास भएको छ । त्यही कुरालाई महासचिव पोखरेलले औल्याउन खोजेको देखिन्छ ।


त्यसैगरी,  महासचिव पोखरेलले पार्टी सदस्यताको मापदण्डको पालना नगर्ने अनि ठूला आकारका कमिटीहरूको सञ्चालनमा समस्या, वैधानिक व्यवस्था अनुसार अधिवेशनको आयोजना र व्यवस्थापनको समस्या, दक्षिणपन्थी अवसरवादलाई हावी  भएको भन्दै नेताहरुलाई सच्चिन सुुझाव दिएका छन् । प्रदेश अधिवेशन जिल्ला अधिवेशनमा  देखिएको भद्रगोल र विवादलाई हेरर महासचिव पोखरेलले संगठनात्मक अराजकता र गुटबन्दी मौल्याएको पनि बताएका छन् । 


  अधिवेशनमा गुटगत प्यानलका रुपमा चुनावी प्रतिस्पर्धा हुन थालेको छ । त्यसकारणले पनि महासचिव पोखरेलले उक्त कुरा उल्लेख गरेको देखिन्छ । र गैरभौगोलिक क्षेत्रका कामको संयोजनको समस्या, पार्टी काम र कार्यकर्ताको मूल्याङ्कन, पहिचानका मुद्दामा केन्द्रित हुने समस्या, पार्टी कामको दोहोरोपना पनि समस्याका रूपमा रहेको पोखरेलको विश्लेषण छ । (साँघु साप्ताहिक, २०८१ वैशाख १०)

प्रतिकृया दिनुहोस