• मंगलबार-बैशाख-१८-२०८१

चर्चित गजलकार पङ्गेनीको ७० वर्षको उमेरमा निधन

 

कास्की, ४ वैशाख । पोखराका चर्चित गजलकार एवं गीतकार प्रकट पङ्गेनी ‘शिव’ को ७० वर्षको उमेरमा निधन भएको छ ।

 

स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई सोमबार अस्पताल भर्ना गरिएको र मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उहाँको आज निधन भएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिनुभयो । 

 

कास्कीको रुपा गाउँपालिका-५ स्थायी निवासी उहाँ जण्डिस र निमोनियाको  बिरामी हुनुहुन्थ्यो । स्व पङ्गेनीको बुधबार अन्त्येष्टि गरिने परिवारले जनाएको छ । स्व पङ्गेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीत सङ्ग्रह प्रकाशित छन् । 

    
यसबाहेक प्रणयवेदका ऋचाहरू (गजल सङ्ग्रह) र अक्षरभरि अक्षता (कविता सङ्ग्रह) उहाँका प्रकाशित कृतिहरू हुन् । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।

 

अस्पतालमा उपचारका क्रममा आर्थिक अभाव भएपछि सांस्कृतिक परिवारको अग्रसरतामा आजदेखि नै सहयोग रकम सङ्कलन अभियान सुरु भएको थियो । सांस्कृतिक परिवारले रु २५ हजार राखेर सुरु गरेको सो अभियानमा पोखरा महानगरपालिकाले रु एक लाख सहयोग गर्ने घोषणा गरेको थियो ।
---

 

प्रतिकृया दिनुहोस