• आइतबार-जेठ-६-२०८१

धितोपत्रको अध्यक्ष नियुक्तिमा मन्त्री पुनको अलमल : ठाडो हस्तक्षेपले छनोट प्रक्रिया नै रोकियो

 

काठमाडौं । देशको अर्थतन्त्रलाई चलायमान बनाउने पुँजी बजारको नियमन निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनमा अर्थमन्त्री  बर्षमान पुनले खास चासो देखाएपछि तीन महिनाभन्दा बढी समयदेखि बोर्डको अध्यक्ष नियुक्त हुन सकेको छैन । आगामी आर्थिक बर्षको बजेट तर्जुमामा खटिरहेका अर्थ मन्त्री पुनले यसमा खास चासो देखाएपछि २०८० चैत २९ गते बिहीबार हुने भनिएको सर्ट लिष्टमा परेका पाँच उम्मेद्वारको प्रस्तुतिकरण अनिश्चितकालको लागि रोकिएको खबर छ । 


प्रतिस्पर्धीहरुका अनुसार छनोट समितिका तर्फबाट मन्त्रालयबाट चैत २९ गते बिहीबारको लागि निर्धारित प्रस्तुतिकरण रोकिएको जानकारी अघिल्लो दिन दिइएको थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठ नेतृत्वको छनोट समितिले सम्पूर्ण प्रकृया पूरा गरेर उत्कृष्ट पाँच जनालाई प्रस्तुतिकरणको लागि सर्ट लिष्ट तयार गरेको थियो । समितिले डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईं, मुक्तिनाथ श्रेष्ठ, सन्तोष नारायण श्रेष्ठ रु र कृष्णबहादुर कार्कीको नाम सर्टलिष्ट गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको सिफारिस समितिले २०८० फागुन १६ गते धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा पदपूर्तिका लागि दरखास्त आव्हान गरेको थियो । प्रस्तुतिकरणपछि उत्कृष्ट ३ जनाको नाम  समितिले अर्थ मन्त्रालयमा पठाउने छ र तिनै तीन जना मध्येबाट  मन्त्रिपरिषदले एक जनालाई अध्यक्षमा चयन गर्नेछ । २०८० पुस २० गते रमेशकुमार हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहेको छ । यसले गर्दा पुँजी बजारको सम्पूर्ण कार्य ठप्प भएको अवस्था छ । 


सर्टलिष्टमा परेकाहरुमध्ये डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ बोर्डमा निर्देशक रहेका छन् । दुवै जनाले माओवादी कोटाबाट आफू चयन हुने दावी गरिरहेका छन् । चिरञ्जीवी चापागाईं माओवादी कोटाबाटै पहिले बीमा समितिको अध्यक्ष भैसकेका असफल व्यक्ति हुन् । कृष्णबहादुर कार्की अहिले नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृत रहेका छन् ।


सन्तोष श्रेष्ठ निजी क्षेत्रमा कार्यरत व्यवस्थापन विज्ञ हुन् । उनी बिचौलिया दीपक भट्ट र उनका दाजु तथा लगानी बोर्डका सिईओ सुशील भट्टसंग अति निकट रहेको स्रोत बताउछ । उनी नेपाल विद्युत प्राधिकरणको बोर्ड सदस्य भएको बेला दीपक भट्टसंग मिलेर व्यक्तिगत ूवार्थका लागि साझेदारीमा काम गरेको त्यस बखत अ विद्युत प्राधिकरणका कर्मचारीहरुले आरोप 
लगाउने गर्दथे । 


त्यसबेला यो समूहले शक्ति केन्द्रको आडमा प्रशारण लाइनको ठेक्का पाएको थियो । दीपक भट्ट सीजीजीसीको एजेण्ट भएको बेलामा यो समूहले त्रिशुली ३–ए को ठेक्का पाएको थियो । श्रेष्ठ र भट्ट बिचौलियाहरुको साझेदारी तोडिएर अलग अलग कम्पनीबाट काम गर्न थालेका थिए । सुशील भट्ट लगानी बोर्डको सीईओ भएपछि भने पुनः मिलेर काम गर्न थालेको बताइन्छ । उनीहरुबीच तल्लो अरुण र माथिल्लो कर्णालीको काम बढाउन सहकार्य भएको बताइन्छ । (साँघु साप्ताहिक, २०८१ वैशाख ३)

प्रतिकृया दिनुहोस