• शनिबार-श्रावण-१२-२०८१

तानसेन (पाल्पा)को बदलिंदो चित्र(११) : ‘तानसेन घमाइलो जता निर्माया उतै रमाइलो’ 

 

पाल्पा भैरवमा चढाउने रोट घरबाट बनाएर लग्नु पर्ने, टुट फुट हुन नहुने, भएमा अनिष्ट हुने मान्यता, पहिलो पूजा, दोस्रो पूजा, तेस्रो पूजा आदि बलि, पञ्चबलि आदि रोचक पक्ष थिए । जो हालसम्म विद्यमान र अझ बढी आस्था रहेको देखिन्छ । घन्टीको आवाजको सुमधुर स्वर र त्यहाँबाट देखिने हरियाली मनमोहक छ । अहिले त्यसैको नजिकै जिप लाइन र साहसिक पर्यटनले समेत पुरानो चन्द्रयानलाई जोडेको छ । रिडी जाने बाटो त्यही भएर जान्छ । 

 

माघे संक्रान्तिको दिन मधेसी समुदायका व्यक्ति, साधु  सन्तको भीड हुने र लस्करका लस्कर लगाएर रिडीमा नुहाउन जाने त्यो परम्परा, संस्कार र मान्यता रहेको थियो । नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकमा मेनेजेरहरु परिवर्तन भइरहने तर खजाञ्ची परिवर्तन नहुने हँुदा बाणिज्य बैंकमा भक्तपुरबाट गएका धौभडेल र नेपाल बैंकमा हरि प्रसाद खजाञ्ची भनेपछि नचिन्ने कोही थिएन ।


भो भो नरोउ जुनेली चरी ...,‘‘कविता लेख भनेर लेखिन्न कविता ..., सपना देख्छु भनेर देखिन्न सपना, यो एउटा मनोवैज्ञानिक रोग हो’’ भन्ने कवि चन्द्रमणि अधिकारी, हाँस्न हँसाउन र जात्रामा “ज्याशी नाशी झ्याई” प्रहसन गर्ने भीमसेन टोलका लाले जोकरको त्यो प्राकृतिक प्रहसन त्यो कालखण्डको झझल्को  दिने प्रमुख र असल पात्रहरु थिए ।


 समग्रमा,   अर्थविद्, पर्यटनविद्,  कवि, साहित्यकार, स्रस्टाहरुले भने झैं छ तानसेनको विगत मनमोहक, वर्तमान आकर्षक र भविष्य उज्ज्वल छ  । तानसेनको बखान हुन्थ्यो गीत गीतमा । लोक गायक मास्टर मित्रसेनलाई रमाइलो लाग्थ्यो तानसेन । उनले गाए :


“तानसेन रमाइलो डाँडा बाबु साहेब तानसेन रमाइलो डाँडा
उकाली ओराली लड्दै पड्दै बुटौली सातकोस टाढा ।’’
अनि झलकमान गन्धर्वले त आफ्नो गाएन यसरी पोखे तानसेनलाई
‘‘घाँसै काटी दुई खोली दोभान, हाँसीखेली विताउँला जोवन, तानसेन घमाइलो जता निरमाया उतै रमाइलो’’

ईन्द्रलाल श्रेष्ठले गाए
‘‘मनोहर डाँडा श्रीनगर हामीलाई प्यारो लाग्ने तानसेन शहर’’


पछि देउराली परिवारले गाए
‘‘चरी गाउँछे मादलको तालैमा, घन्क्यो मादल शीतलपाटीमा, मायाँ लाउन श्रीनगर डाँडैमा ।’’
चर्चित साहित्यकार हरिभक्त कटुवालले “एउटा रहर : तानसेन’’ भन्ने लेखमा गोरखापत्रमा कार्तिक २३, २०२६ मा लेखेका छन् यस्तै  दश– बाह्र वर्षे ठिटो हुदाकै कुरो–मामाले भर्खरै शहरबाट ल्याउनु  भएको ग्रामोफोनमा एउटा नेपाली गीत बजिरहेको हुन्छ र म चाहिं गीत सुनिरहेको अरु धेरै साथीहरु भन्दा अघि ग्रामोफोन  राखिएकै टेबुल समातेर उभिरहेको हुन्छु–मानौ त्यो गीत अरुका  लागि भन्दा मेरो लागि बढ्ता भएर बजिरहेको छ र त्यसले मलाई केही भनि रहेको छ । गीत बजिरहन्छ  र फेरिन्छ ।

 

मलाई लागिरहेको मज्जा एक्कासी खलबलिन्छ  र म त्यहाँबाट केही पर  सर्छु । ...... त्यसरी एउटा गीतले मभित्र जरा गाड्छ । आज त्यो गीतका प्राय  जम्मै शब्द र त्यो  मलाई लोभ्याउने  लय बिर्सिसकें ।  तर  बिर्सिनै नसक्ने त्यस गीतले दिएका यातनाहरु हृदयभरि सजीव छन् ।  दुई– तीन दिन भित्रै त्यो गीत मलाई आई सकेको हुन्छ र जुन बेला पनि मेरा ओंठभरि त्यही गीत गिदी भरि आई दिन्छ– अन्यमनस्क भए वापत पिटाई पाउछु, भात खान बसेको बेला हातमा गाँस लिएर त्यही गीत बर्बराउछु– आमा अगुल्टो देखाएर ओंठमा झोसीदिने धम्की दिनु हुन्छ, बेलुका पाठ घोक्न  बस्दा आँखा किताबमा  राखेर मनभरी त्यही गीत खेलाउछु– पिताजी पछिल्तिरबाट सुटुक्क आएर मेरो टुप्पी तानी दिनु हुन्छ ।


यसरी एउटा गीत सितै  म हुर्किन्छु र म भरी एउटा गीत हुर्किन्छ  ।  गीतका जम्मै  अरु शब्द समयको आँधीबेरीले उडाएर लगे पनि तीनवटा शब्द  ‘‘तानसेन रमाइलो डाँडा’’ म भित्र छिप्पिएको हुन्छ...र उमेरको भ¥याङ उक्लदै जाँदा थाहा पाउछु–त्यो गीत मास्टर मित्रसेनको रहेछ ।  म एक पल्ट मास्टर मित्रसेनलाई  मनमनै नमस्कार गर्छु ।


हरि भक्त कटुवाल अगाडि लेख्छन्, ‘‘यसरी तानसेन रमाईलो  डाँडा मेरो आँखा भन्दा पर, तर छातीभरी फैलिएको  हुन्छ ।  जिन्दगीका कति पाइला कैयौं खाडल र कैयौं थुम्काभरि पर्दै जान्छन, तर तानसेनको डाँडोसम्म पुग्न पच्चिसवटा लामा वर्षभरि अझ पर्खिनु पर्छ ।२०२३ सालमा द्वितीय देशब्यापी साहित्य सम्मेलन पछि .... १० सेप्टेम्बेर १९६९ सनको दिन भैरहवा आई पुग्छु ।’’ 


बुटवलबाट पाल्पाको स्मरण गर्दै उनी लेख्छन “...एकजना साथीसँग सल्लाह परामर्श लिई १५ सेप्टेम्बर १९६९ का दिन लामो अवधिभर पर्खी रहेको तानसेनको रमाईलो डाँडातिर बुटवलबाट  जाने बसमा एक पटक मनमनै  मुस्कुराउछु बस चल्छ–मेरा आँखाहरु कहिले बाटो मुन्तिर बगेको खोलासम्म झर्छन् र कहिले फेरि बाटो बोकेर अग्लिएका पहाडहरुमा हराउछन् ।  बिचमा पुल बनि सकेकोले बस बदलेर मेरो यात्रा भोटबाट फर्किरहेका धरै मदनहरुसंगै–धेरै लाहुरेहरुसंगै अघि अघि सर्दै जान्छ  ।

 

मनभरि एउटा रोमाञ्च र आँखा भरि एउटा जिज्ञासा झन्झन् बढ्दै  जान्छ । अघिल्तिर देखिने प्रत्येक पहाडसम्मको बसको झ्यालबाट चिरेका  मेरा आँखाहरु छ्यापछ्याप्ती पुग्छन्  र एउटा रमाईलो डाँडामा बिसाउन व्यग्र हुँदै जान्छन् । ठाउँ–ठाउँमा बस रोकिन्छ ।  अघिल्तिर मजदूरहरु भर्खरै खसेर बाटो थुनेका ढुंगाहरु पन्छाउन्  ब्यस्त हुन्छन् ।


एउटा सम्भावित मृत्युबाट जोगिनुको हर्ष आफूभित्र फक्रिन्छ ।  ढुंगा पन्साईन्छ–बस चल्न लाग्छ आँखा फेरि बरालिन्छन  क्ष् यसरी प्रायः तीन घण्टाको छटपटी एक्कष्सी बसको अघिल्तिरको ऐना छिचोलेर–एउटा सानो शहर  प्रतिक्षित अभिलाशापूर्ण  हुनुको  मिठो गन्ध लिएर आँखामा पोतिन्छ  । एउटा क्यानभास–नीलो आकाश–एउटा अग्लो डाँडो– पेटीमा सेताराता घरहरु–दायाँ बायाँ  अरु धेरै पहाड । एउटा निलो छातामा सेता सेता टाला हालेर त्यसैको शीतल छायाँमा तानसेन मलाई पर्खिरहेको हुन्छ । आँखाभरि सानो तानसेन फैलिन्छ–बस घुमाउरो बाटो फन्को मार्दै अघि बढ्छ ।  


तानसेन हराउछ– तानसेन देखा  पर्छ–केही ठुलो  भएर । फेरि हराउछ– फेरि देखा  पर्छ , फेरि हराउछ– फेरि देखा पर्छ ।यस्तै  हराउनु र देखा पर्नुको क्रमसितै  तानसेन बढ्दै जान्छ–बढ्दै जान्छ ।  अनि बस रोकिन्छ र सहयात्रीहरुको घँुईचो र हतारसितै म पनि बसबाट ओर्लिन्छु । आँखा उठाएर तानसेन हेर्न खोज्छु–तर तानसेन मेरा आँखामा नअटाउने भइसकेको  हुन्छ ।’’


यसरी तानसेनप्रतिको जिज्ञासा, वास्तविकता र भविष्यको अथाह सम्भावना बोकेर बसेको तानसेन पाल्पा अहिले केही ओझेलमा परेको छ ।  तर, भावी दिनमा यसको सम्भावनालाई पँुजीकृत गर्न युवा जोस चाहिन्छ । युवा जति सबै विदेश गएमा र देशमा बस्ने वातावरण नभएमा यो सम्भब छैन ।त्यसर्थ, सम्बन्धित निकाय, स्थनीय र विदेशिएको “एनआरएन”ले समेत आफ्नो मातृभूमिको प्रगति र उन्नयनमा ध्यान र सक्दो योगदान दिनु आवश्यक र अनिवार्य छ ।(समाप्त)


(क्षमाप्रार्थी छौं–साँघु साप्ताहिकको डेस्कको गल्तीले गर्दा २०८० कात्तिक २० गतेको अंकमा २०८० कात्तिक १३ गते कै शंकर मान सिंहको लेख दोहोरिएर प्रकाशित भएकोमा हामी हाम्रा पाठक र सम्बन्धित समक्ष हाम्रो गल्तीप्रति क्षमा गरिदिनु हुन अनुरोध गर्दछौं–सम्पादक) (साँघु साप्ताहिक, २०८० मंसिर ४)
 

प्रतिकृया दिनुहोस