• सोमबार-बैशाख-२९-२०८२

जेष्ठ नागरिकलाई यातायात र औषधिको छुटमा लोप्पा !

 

तपाईको जनप्रिय राष्ट्रिय साप्ताहिक साँघु पत्रिकामार्फत सार्वजनिक जनसरोकारको अति महत्वपूर्ण विषयलाई मध्यनजर राख्दै प्रकाशन गरिदिनुहुनेछ भन्ने पूर्ण विश्वासका साथ विनम्र अनुरोध गर्दछु । 

 

जेष्ठ नागरिक सम्बन्धि ऐन २०६३ को दफा २ ‘क’ मा भएको व्यवस्था ६० वर्षदेखि माथिका नेपाली नागरिकलाई सार्वजनिक सवारी साधन प्रयोग गर्दा वा स्वास्थ्य सम्बन्धी उपचार खर्चमा दफा ९ को उपदफा २,४ मा उल्लेख भए बमोजिम ५० प्रतिशत छुट पाउने व्यवस्था हुँदाहुँदै पनि सार्वजनिक यातायात सवारीमा यात्रा गर्दा अधिकांश सहचालकले २५ प्रतिशत या ३० प्रतिशत मात्र दिने हो, त्यहाँ भन्दा बढी दिन सक्दैनौं, अरु नै गाडी चढ्नु पर्छ भन्छन् र म ५० हजार बाजी राख्छु ५० प्रतिशत छुट दिने अरु कुनै गाडी रहेछ भने भनेर सार्वजनिक यातायातका सहचालकहरुले भन्ने गरेका छन् ।

 

यस्तै केही अस्पतालले जेष्ठ नागरिकले उपचार गराउँदा पाउने छुट बारे कुरा उठाउदा जेष्ठ नागरिक परिचय पत्र देखाउँदा पनि अस्पतालका प्रमुखले अनुमति नदिई छुट पाइँदैन भन्ने समेत जवाफ पाएर निरिह बनेर बिल वमोजिम रकम तिर्न‘ परेको अवस्था छ ।


नेपाल अधिराज्यभर ७०–८० लाख जेष्ठ नागरिकहरुको कानूनले पाउने सुविधा वारे यातायात सम्वन्धी गुनासो राख्दै महानगरीय ट्राफिक प्रहरी कार्यालयमा मिति २०७२÷०३÷२८ मा विस्तृत व्यहोरा खुलाई निवेदन दिएकोमा त्यस कार्यालयका डिएसपीबाट तोकादेश भई मुद्दा शाखामा पुगेकोमा हालसम्म कुनै ठोस कारबाही भएको पाइएन । 


यस विषयमा सम्बन्धित निकायले सम्बन्धित ठाउँ वा कार्यालयलाई कडा निर्देशन दिई पालना गराउनु पर्दछ । त्यसैगरी, जेष्ठ नागरिक बनाउने निकायले कार्डकै कैफियतमा कानूनको दफा उल्लेख गरी यातायात सार्वजनिक सवारीमा यात्रा गर्दा वा स्वास्थ्य उपचार गराउन आउने विरामीलाई ५० प्रतिशत छुट दिनुपर्दछ भन्ने व्यहोरा कार्डमा नजनाएसम्म जेष्ठ नागरिकहरुले सबैले हमेसा दुःख पीडा भोग्दै आउनु परेको सरकार !               – दिनेशकुमार अच्छामी, का.म.न.पा, वडा नं. १४, बन्धुदत्त मार्ग (साँघु साप्ताहिक, २०८० मंसिर ४)

प्रतिकृया दिनुहोस