• शुक्रबार-बैशाख-७-२०८१

दाहालको सत्तामा दाहाल नै पीडित !


काठमाडौं । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पालामा राजस्व अनुसन्धान विभागको महानिर्देशक हुन सफल भएका सहसचिव मदन दाहालको यतिवेला हरि विजोग भएको खबर छ । देउवा सरकारको पालामा ‘तर’ मार्ने ठाउँमा पुगेका दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आएपछि पीडित हुन पुगेका हुन । राजश्व अनुसन्धान विभाग पुल्चोकमा ०७९ माघ २३ गते सहसचिव नारायणप्रसाद सापकोटाले जिम्मेवारी पाएसँगै विगत डेढ महिनादेखि सहसचिव जिम्मेवारविहीन हुँदै आएका छन् ।


सरकारले दाहालको सरुवा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा गरेको थियो । तर, उनी विगत डेढ महिनादेखि उक्त मन्त्रालयको १०३ नम्बर कोठामा कुर्सी पाएका भएपनि महाशाखाको जिम्मेवारी भने पाउन सकेका छैनन् । चालक र सवारी साधनको सुविधा पाएपनि उनी जिम्ेवारीविहीन छन । आफ्नो कुनै जिम्मेवारी नतोकिएपछि दैनिक सचिव एकनारायण अर्यालको कार्य कक्षमा पुगेर हाजिर गर्छन् । अनि कालो चिया खादै आगन्तुकलाई भेटेर दिन कटाउदै घर फर्किने गरेकाछन् ।


श्रम मन्त्रालयमा चार जना सहसचिवको दरबन्दी रहेको छ । प्रशासन तथा योजना महाशाखाको जिम्मेवारी सहसचिव उत्तर कुमार खत्रीको रहेको छ । रोजगार व्यवस्थापन महाशाखामा राजिव पोखरेल, श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा डण्डुराज घिमिरेले सम्हाल्दै आएका छन । प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखाको जिम्मेवारी सहसचिव रामचन्द्र ढकालले पाएका छन ।


मन्त्रालयको महाशाखा र श्रम विभागमा पहिले नै भरिभराउ छन । वैदेशिक रोजगार विभाग मातहतको वैदेशिक रोजगार कार्यालय ताहाचलमा सहसचिवस्तरको कार्यालय प्रमुख पद भने रिक्त रहेको छ । तर राजस्व अनुसन्धान विभागको महानिर्देशक र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रशासन प्रमुख भएर काम गरिसकेको सिनियर सहसचिवलाई विभाग मातहतको कार्यालय प्रमुखमा पठाउने कुरै भएन ।


महानिर्देशक भइसकेका सहसचिवलाई प्रायः मन्त्रालय वा अर्काे विभागको प्रमुखमा सरूवा गरिने प्रचलनलाई तोडेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री अमनलाल मोदी, सचिव कृष्णहरि पुस्कर र श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले खाली नहुँदा नहुँदै भित्र्याउने सहमति दिएर निजामती प्रशासनमा भाँडभैलो र बेथिति भित्र्याएका छन् । श्रम मन्त्रालयको सचिव हुनुअघि सामान्य प्रशासन सचिव भएर कर्मचारीको सरूवा–बढुवामा राम्रो अनुभव बटुलेका अर्यालले नै कर्मचारीको सरूवामा सफल व्यवस्थापन गर्नु चुकेको दाहाल सरुवाको घटनाले पुष्टि गरेको छ ।


दरबन्दी नहुँदा नहुँदै श्रम मन्त्रालयमा सिनियर सहसचिव सरूवाको सहमति दिएर उनले निजामती प्रशासनमा गाई जात्रे प्रवृत्ति देखाएका छन । आफूलाई नेकपा एमाले निकट अब्बल सचिव दाबी गर्दै आएका स्याङजा निवासी अर्यालले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि सामाजिक सुरक्षाको कार्यक्रम ल्याएर उत्कृष्ट काम गरेको बताउदै हिंडेका छन । वैदेशिक रोजगारमा जाने कामदारको सामाजिक सुरक्षा कार्यक्रम ल्याएको र वाहवाही कमाएको दावी गरेका सचिव अर्यालले सहसचिव दाहाललाई डेढ महिनादेखि कामविहीन राखेर एक सिनियर सहसचिवको अपमान गर्दै आएको स्रोत बताउँछ । उनले श्रम मन्त्रालयमा जिम्मेवारी नदिने हो भने दाहाललाई सामान्य प्रशासन मन्त्रालयमै फिर्ता पठाउनु कर्मचारीको माग छ । त्यसका लागि मुख्य सचिव डा. शंकरदास बैरागीलाई कन्भिन्स गर्न सक्नुपर्ने श्रम मन्त्रालयको उच्चसमाचार स्रोतले साँघुलाई बतायो ।

प्रतिकृया दिनुहोस