• बिहीबार-बैशाख-१३-२०८१

सुन तस्करीका फरार एयरपोर्टबाटै दुबई ओहोरदोहोर : अध्यागमन कर्मचारीको मिलेमतो

 

काठमाडौं । चार वर्ष अघि ३३ किलो ५७७.४० ग्राम सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बरामद गरेको थियो । २०७३ पुस २१ गते उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट पार भइसकेपछि बरामद भएको थियो । भन्सारका तथ्यांक अधिकृत श्रीनारायण यादव, एयरपोर्ट प्रहरीका एसपी श्याम खत्री, पूर्व एसएसपी रविराज श्रेष्ठ, करारका एक्सरे कर्मचारी राजकुमार ढकाललगायतसँग सेटिङ गरी वर्षाैंदेखि दुबईबाट नेपालमा सुन तस्करी हुँदै आएको थियो । सीआईबीले उक्त सुन बरामद गरेपछि तस्करी नाइके रोशन भुसाल भनिने गुप्तलाल भुसाल र हरिशरण खड्का रहेको खुल्यो । 


प्रहरीले गोपाल शाहीलगायतका भरियालाई मात्र नियन्त्रणमा लिएको थियो । मुख्य नाइके भुसाल र खड्का भएको खुलेपछि सीआईबीले उनीहरूकाविरुद्ध रेडकर्नर नोटिस जारी ग¥यो । पक्राउ परेका गोपाल शाहीले आफुले यसअघि धेरै पटक सुन ओसारपसार गरेको स्वीकार गरे । त्यसबाट पनि नेपालमा भुसाल र खड्काले वर्षाैंदेखि सुन तस्करी गरेको कुरालाई पुष्टि गर्दछ । रेड कर्नर नोटिस जारी गरेपछि सुन तस्करीका मुख्य नाइके मध्येका एक हरिशरण खड्का २०७५ माघमा दुबईमा पक्राउ परे । तर गुप्तलाल भुसाल भने नेपालका तत्कालीन प्रहरी प्रमुख प्रकाश अर्यालसँग सेटिङ गरी अदालतमा हाजिर हुने चाँजोपाँजो मिलाए । प्रहरीको सहयोगमा उनी अदालतमा हाजिर भए, थुनामा बस्नु परेन ।

 

तत्कालीन सीआईबीका डीआईजी नवराज सिलवालले उनलाई रेडकर्नर नोटिस जारी गरेका थिए । उनलाई आईजीपी हुन नदिएर नेपाल प्रहरीको महानिरीक्षक भएका प्रकाश अर्यालले सुन तस्कर भुसालसँग ठूलो रकम लाभ लिई उनलाई नेपालमा आउने र अदालतमा हाजिर हुने व्यवस्था मिलाइदिएको आरोप समेत लाग्यो । पछि भुुसालले  सेटिङका आधारमा सुन तस्करीको मुद्दा धकेल्दै आएको श्रोत बताउँछ । 


फरार अभियुक्त कसरी गर्छन् 
दुबई–काठमाडौं ओहोरदोहोर

श्रोतका अनुसार, कानुनको दृष्टिमा फरार रहेका अभियुक्त गुप्तलाल भुसाल पटक पटक नेपाल र दुबई ओहोरदोहोर गर्ने गर्दछन् । कानुनीरुपमा सबै प्रक्रिया पूरा गरेर जाने नेपालीलाई भिसाको साइज सानो भएको भनेर फर्काउने अध्यागमनका कर्मचारीले फरार अभियुक्त भुसाललाई पटक पटक दुबई जान छुट दिँदै आएको श्रोत बताउछ । हालसालै पनि भुसाल त्रिभुवन विमानस्थलबाट दुबई गएका छन् । भुसालले नेपालमा राजनीतिक संक्रमणको मौका छोपेर फेरि सुन तस्करी सुरु गरेको सुरक्षा श्रोतको दावी छ । केही दिन अगाडि विमानस्थलमा बरामद भएको सुन पनि भुसालकै गु्रपको भएको प्रहरीले आशंक गरेको छ ।

 

भुसालले ३३ किलो सुन र सनम शाक्य हत्याका योजनाकार चुडामणि उप्रेती ‘गोरे’ ग्याङका कृष्ण अग्रवाललाई साझेदार बनाएर नेपालमा सुन तस्करीको धन्दा सुरु गरेको श्रोत बताउँछ । भुसालले सुन तस्करीबाट अर्बाैं सम्पत्ति आर्जन गरेको तथ्य फेला परेको छ । १७ वर्ष अगाडि काठमाडौंमा टेम्पो चलाउने भुसाल आज अर्बाैंका मालिक कसरी बने ? सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यस बारेमा अनुसन्धान गरिरहेको जानकारी हुन आएको छ । उनको दुबईमा क्लबदेखि ज्वेलरी सप र नेपालमा थुप्रै स्थानमा घरजग्गादेखि कम्प्लेक्स समेत रहेका छन् । 


 श्रोतका अनुसार, भुसालका दुबईमा नौ वटा कम्पनी सञ्चालनमा रहेका छन् । उनले लण्डनमा बस्ने साला कृष्णप्रसाद थपलियाका नाममा दुबईमा याक एण्ड यति दोहोरी सञ्चालन गरिरहेका छन् । उक्त दोहोरीमा सुन तस्करीका पार्टनर कृष्ण अग्रवाल पनि छन् । उक्त दोहोरीमा नविन पाठकसमेत पाटर्नर छन् । उनी पनि भुसालकै नातेदार हुन् । कृष्ण अग्रवाल र भुसालका नाममा माउन्ट एभरेष्ट ज्वेलर्स छ । जुन ज्वेलर्सबाट अवैध सुन तस्करी र हुन्डीको कारोबार हुँदै आएको छ । भुसालको याक एण्ड यति नेप्लिज कुजिन रेस्टुरेन्ट पनि सञ्चालनमा छ । सुन तस्करीकै धनले भुसालले हालै याक एण्ड यति क्लब पनि सुरु गरेका छन् ।

 

उनले सुन तस्करीबाट काठमाडौंका धेरै ठाउँमा घरजग्गा जोडेका छन् भने काठमाडौंको सामाखुसीस्थित टोखा रोडमा भव्य व्यापारिक कम्प्लेक्स निर्माण गरिरहेका छन् । साविक गोंगबु गाविस–५ क कित्ता नं. २४९ को ३ रोपनी ८ आना ३ पैसा जग्गामा उनको शानदार कम्प्लेक्स निर्माण भइरहेको छ । गेम्जो गुरुङकी श्रीमती डोल्मा गुरुङको नाममा रहेको उक्त जग्गा खरिद गरी भुसालले कम्प्लेक्स निर्माण गरिरहेका छन् । उक्त कम्प्लेक्सको बारेमा पनि सम्पत्ति शुद्धीकरणले खोजी सुरु गरेको छ । 


सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राष्ट्र बैंकलाई २०७५ असार २९ मा नेपाल राष्ट्र बैंकसँग गुप्तलाल भुसालसहितका आरोपीहरूको बैंकमा रहेको विवरण माग गरेको थियो । सम्पत्ति शुद्धीकरणसम्बन्धी जाँचबुझका सिलसिलामा रहेका भुसाललगायतका व्यक्तिहरूको सबै प्रकारका खाताहरू, एलसी (लेटर अफ क्रेडिट), कारोबारसमेतका विवरण उपलब्ध गराउन राष्ट्र बैंकलाई अनुरोध गरेको थियो । 


भुसालले अदालत मात्र होइन, सम्पत्ति शुद्धीकरणसमेत सेटिङ गरी मिलाउने प्रयत्न गरेको बुझिएको छ । सम्पत्ति शुद्धीकरण विभागका प्रवक्ता सुशील आचार्यले भुसाललगायतको सुन तस्करीसँग जोडिएका व्यक्तिहरूको अनुसन्धान भइरहेको प्रतिक्रिया दिँदै यस विषयमा केही बोल्न नमिल्ने बताए । 


सीआईबीले ३३ किलो सुन प्रकरणमा सुन तस्कर भुसालसहितका व्यक्तिविरुद्ध संगठित अपराधमा मुद्दा चलाएको थियो । तस्करीमा संलग्नहरूको सम्पत्ति विवरण संकलन गरेको थियो । त्यसमा भुसालको सम्पत्ति अस्वभाविक देखिएकाले छानबिनका लागि सम्पत्ति शुद्धिकरणमा पठाइएको थियो । 


गोरेसँग जोडिएका अग्रवाल भुसालका पार्टनर
गुप्तलाल भुसाल, हरिशरण खड्का, कृष्ण अग्रवाल र चुडामणि उप्रेती ‘गोरे’ सहितको समूहले दुबईबाट नेपालमा सुन तस्करी गर्ने गरेको खुलेको छ । सनम शाक्य हत्या र ३३ किलो सुन प्रकरणमा सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले बुझाएको ७१५ पृष्ठको प्रधानमन्त्री कार्यालयको दराजमा थन्किएको प्रतिवेदनमा कृष्ण अग्रवालको नाम पनि रहेको श्रोत बताउछ । अग्रवाल र भुसाल व्यापारिक साझेदार भएकाले पनि गोरे र भुसालको संलग्नतालाई पुष्टि गर्दछ । सनम शाक्य हत्या र ३३ किलो सुन तस्करीमा कृष्ण अग्रवाललाई पनि प्रहरीले पक्राउको सूचीमा राखेको थियो । 
 

प्रतिकृया दिनुहोस