• शुक्रबार-बैशाख-७-२०८१

प्रहरीबाट न्यूनदृष्टियुक्त र अशक्तलाई दशैँ राहत


काठमाडौँ, १ कात्तिक :रोग लागेर दुवै खुट्टा गुमाएका सिन्धुपाल्चोकका निमा लामा मुखैमा आएको बडादशैँमा परिवारको छाक कसरी टार्ने भन्ने चिन्तामा हुनुहुन्थ्यो । केही युवाले राहत ल्याइदिने खबर सुनाएपछि खुशीले दुई दिनदेखि उहाँलाई निद्रा परेको थिएन । 

 

आज राहत लिने दिन भएकाले उहाँ काठमाडौँको चुच्चेपाटीमा अपराह्न २ बज्नुअघि नै ह्वीलचियर गुडाउँदै आइपुग्नुभयो । उहाँलाई नेपाल प्रहरीको एउटा समूहले एक पोका राहत उपलब्ध गरायो । त्यसमा थियो १० किलो चामल, आधा लिटर तेल, एकएक किलाको दरमा दाल, चना, नुन र मसला तथा साबुन । राहत पाउँदा उहाँको मुहारमा खुशीको चमक देखियो । “थोरै नै भए पनि सहयोग दिनु ठूलो हो, (अन्यलाई औँल्याउँदै) यतिका धेरै मानिसलाई राहत दिइएको छ, खुशी नै छु”, लामाले भन्नुभयो । 

 

काठमाडौँमा बसेको निकै वर्ष भए पनि कोरोनाकालमा बेहोरेको सकस उहाँलाई कहिल्यै नमेटिने छाप बनेको छ । कठिनाइ अझै हटिसकेको छैन । उहाँ कुनै बेला खाना वितरण गरेका ठाउँमा पुगेर भात खानुहुन्छ, कतै राहत दिएको चाल पाए त्यहीँ पुग्नुहुन्छ । दैनिकी यसैगरी बितिरहेका बेला निकैपछि घटस्थापनाको दिन आज एक पोका राहत पाउँदा उहाँ निकै खुशी हुनुभयो ।

 

लामासँगै सेतो लौरो टेकेर धेरै न्यूनदृष्टियुक्तहरु चाबहिल जोरपाटी सडकपेटीमा लामबद्ध हुनुहुन्थ्यो । लस्करै बसेका उनीहरुका अगाडि नेपाल प्रहरीले राहतका पोका राखिदियो । छामछुम गर्दै सबैले आआफ्नो पोका सम्हाल्नुभयो । आपसमा कानेखुशी गर्दै एक जनाले भन्नुभयो, “राहत त थोरैथोरै पो छ ।” “थोरैै भए पनि दिएको छ, चित्त बुझाऊ न”, अर्काबाट जवाफ आयो ।  

 

न्यूनदृष्टियुक्त अमर ओलीले दशैँका मुखमा राहत पाएकामा खुशी व्यक्त गर्नुभयो । “खै कुन संस्थाले दियो थाहा भएन, तपाईँ पत्रकार हुनुहुँदो रहेछ, त्यो संस्थालाई धन्यवाद सुनाइदिनू”, उहाँले भन्नुभयो । सुर्खेतका ओलीको विसं २०६० मा दुवै आँखा बन्द भएको थियो । शल्यक्रियापछि एउटा आँखाले घुर्मैलो देख्न थाल्दा केही खुशी थपियो ।

 

अहिले विस्तारै त्यही आँखो कमजोर हुँदै जाँदा उहाँ चिन्तित हुनुहुन्छ । ओली सडकमा दैनिक गीत गाएर परिवारको गुजारा चलाउनुहुन्छ । कोरोनाकालमा गीत गाउन पनि गाह्रो भइरहेको उहाँ सुनाउनुहुन्छ ।  पाँच महिनाको कोठाभाडासमेत तिर्न नसकेको अनुभव उहाँसँग छ । त्यो ऋण अझै तिर्न सकिएको छैन । उहाँ आज प्राप्त खाद्य सहयोगले दशैँका मुखमा केही राहत मिलेको बताउनुहुन्छ । 

 

उहाँसँगै राहत प्राप्त गर्नुभएका अर्का न्यूनदृष्टियुक्त दिवस विष्टले केही दिनलाई छाक टार्न समस्या नपर्ने बताउनुभयो । उहाँ पनि सडकमा गीत गाएरै परिवार पाल्ने गर्नुहुन्छ । समयमै आँखाको उपचार नहुँदा दृष्टि गुमाउनुभएका जुम्लाका विष्ट एकार्कामा सूचना प्राप्त भएकाले राहत लिन नारायणटारबाट चुच्चेपाटी आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गोकर्णेश्वर नगरपालिकाले पाँच किलो चामल दिएको थियो, अहिले १० किलो पाउनु ठूलो राहत हो ।” यसअघि बन्दाबन्दीका समयमा वितरण भएको राहत पाउनुपर्ने व्यक्तिले भने नपाएको गुनासो उहाँको छ ।


 नेपालीको महान् चाड शुरु भएको पहिलो दिन आज झण्डै १०० असख्क्त अपाङ्ग र दृष्टिविहिनले राहत पाएका छन् । ठुलो राहत नभए पनि सम्झेकोमा उनीहरु खुसी छन् ।
उक्त राहत विभिन्न बैँकसँगको सहकार्यमा महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका पहलमा वितरण गरिएको हो । “हामीकहाँ राहत चाहियो, दशैँमा भोकभोकै हुने भयौँ भनेर धेरै अनुरोध आयो”, पोखरेलले रासससँग भन्नुभयो, “त्यसैले इच्छुक बैंकसँगको सहकार्यमा विपन्न परिवारलाई राहत पु¥याएका हौँ ।” 


दशैैँका मुखमा ५०० विपन्न र अशक्त परिवारलाई राहत दिने योजना रहेको उहाँले जानकारी दिनुभयो । आज पहिलो दिन  चुच्चेपाटी र बौद्धका १०० जनालाई राहत उपलब्ध गराइएको छ । राहत लिन आउनेमा न्यूनदृष्टियुक्त, अशक्त, असहाय र अपाङ्गता भएका व्यक्ति थिए । प्रहरीले आफैँ बौद्धसम्म पुगेर राहत वितरण गरेको महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । उहाँकै नेतृत्वमा स्थानीय युवाको सहयोगमा राहत पु¥याइएको थियो । 


स्थानीय युवा र प्रहरीले नामावली सङ्कलन गरेर छाक टार्न धौधौ भएका अशक्त र  अपाङ्गता भएकाहरुको पहिचान गरी दशैँ राहत दिइएको हो । आगामी केही दिन विभिन्न ठाउँमा पुगेर पहिचान भएका त्यस्ता ५०० जनालाई राहत उपलब्ध गराउने योजना रहेको पोखरेलले सुनाउनुभयो ।

 

यसअघि पोखरेलकै नेतृत्वमा बन्दाबन्दीका समयमा झण्डै छ हजार परिवारलाई यसैगरी राहत उपलब्ध गराइएको थियो । खाने अन्नसमेत नभएर भोकभोकै बस्न बाध्य भएको भनी गुनासो आउन थालेपछि बन्दाबन्दीका समयमा राहत बाँडिएको उहाँले जानकारी दिनुभयो ।रासस
 

प्रतिकृया दिनुहोस