• बिहीबार-चैत-१५-२०८०

भावी पुस्तालाई च्यात्तिएको होइन, सग्लो नेपाल;  अधुरो, अपुरो र अधकल्चो होइन सिङ्गो नेपाल 

 


नेपालको जारी नयाँ नक्सा र छिमेकी भारतसँगको पछिल्लो विवादबारे थुप्रै नेपाली सेलिव्रेटीले आफ्नो अभिव्यक्ति राखिरहेका छन् । बलिउड नायिका मनिषा कोइरालाको एउटा ट्विटले त भारतमा भूकम्प नै ल्याइदियो । ‘भारतको मिचाहा प्रवृत्ति नेपाली जनताले सहँदैनन् । ....म यो भन्दिनँ, इतिहासमा हाम्रो कमजोरी थिएन, हामीले सम्झौता गरेनौं । जे होस्, हामीले हाम्रो स्वतन्त्रता बचाउन र सार्वभौमिकताका लागि त्यो त्याग गरेका हौं । यहाँको जनता अब कुनै पनि प्रकारका अन्याय हेरेर बस्नेवालामा छैन ।

 

यो अब सरकारको विषय मात्र होइन । यो मुद्दा अब हरेक नेपालीको हो । .....ऐतिहासिक प्रमाणले भन्छ कि लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो । यो राष्ट्रको नागरिकका हिसाबले हामी हाम्रो छिमेकी राष्ट्र भारतसँग हाम्रो क्षेत्रको सत्यतथ्य, इतिहास हेरेर यो मुद्दासँग न्यायिक ढंगले व्यवहार गर्न अनुरोध गर्छौं ।’ - महानायक राजेश हमाल भन्छन् ।

 

नायिका, निर्मात्री, सफल ब्यवसायी तथा समाजसेवी श्वेता खड्काले पनि यो जल्दोबल्दो विषयमा आफ्नो अभिव्यक्ति सार्वजनिक गरेकी छिन् । २०७७ जेठ ८ गते बिहीबार फेसबुकमा लामो स्टाटस लेख्दै नायिका  श्वेताले आफ्नो भनाई राखेकी हुन् । श्वेताले आफ्ना अभिब्यक्तिमा प्रकाशित नयाँँ नक्सा र सीमाको मात्रै नभएर महत्वपूर्ण धेरै क्षेत्रलाई समेटेकी छिन् जुन सबैले बुझ्नु आवश्यक भएकोले उनले व्यक्त गरेका सबै बुँदाहरुलाई संक्षेपमा राखेको छु :

 

१ मन्त्रिपरिषद्को २०७७ जेठ ५ गते सोमबारको बैठकले भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहित ३३५ वर्गकिलोमिटर भूमि समेटिएको नेपालको नक्सा पारित गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन;


२ सारा संसारनै कोरोनाको संकटमा जुधिरहेको मौका छोपेर नेपाली भूमि हुँदै मानसरोवर पुग्ने बाटोको उद्घाटन गरी नेपालको सर्वभौमिकतामाथि धावा बोल्ने छिमेकीका विरुद्ध सबै नेपाली एकताबद्ध भएकोमा खुशियाली ब्यक्त;


३ नेपालको नक्सामा अतिक्रमित लिम्पियाधुरासहित ३३५ वर्गकिलोमिटर भूमि समाहित गर्नुलाई सफलताको एउटा कडी मान्न सकिए तापनि अतिक्रमित हाम्रो भूमिलाई निर्वाधरुपमा प्रयोग गर्न पाउनु अबको हाम्रो अर्को चुनौती ;


४ लिम्पियाधुराको चिसो माटोमा सुन्तला फलाउन, पार्वतीकुण्डदेखि गुन्जोसम्म कालोपत्रे सडक निर्माण गर्न, कुटी; नाभी र छाङरुमा भेडाबाख्रा अनि चौरीहरु व्यवसाय सन्चालन गर्न, दशकौंदेखि हाम्रो भूमिमा परेड खेलिरहेका छिमेकी सुरक्षकर्मीको दस्तालाई विस्थापित गरेर आफ्नै सुरक्षाकर्मीको क्याम्प खडा गरी नेपाली राष्ट्रिय झण्डालाई लिपुलेकको चुचुरोमा फरफराउन प्रत्येक नेपाली तयार भएर सरकारलाई आगामी कदम चाल्नको लागि नैतिक दवावका साथै अझ थप बल प्रदान गरिनुपर्ने;


५ हामीले खपत गर्ने दैनिक उपभोग्य सामाग्रीमध्ये ७० प्रतिशत सामाग्री भारतीय बजारबाट नै आयात हुने भएकोले भारतले ०७२ सालको भूकम्पको कष्टकर घडीमा समेत नाकाबन्दी गरे जस्तै गरी हाम्रो आँट, साहस र हिम्मतलाई टुटाउन डर, धाक वा धम्कीको रुपमा उपभोग्य सामाग्री निर्यातमा रोक्न संभावित 'नाकाबन्दी'को घोषणाको धम्कीलाई लत्याउन सक्ने हाम्रो प्रमुख शस्त्र/अस्त्र भनेकोको नै हाम्रो आत्मविश्वास भएकोले यसका लागि हामी सम्पूर्ण नेपालीहरु मानसिक रुपमा तयार भएर ग्याँसको सट्टा गुईठो बाल्न, पेट्रोलको अभावमा पैदल हिंडेर यात्रा तय गर्न, चामलको अभावमा भोकभोकै मर्न, अदुवा, लसुन र प्याजबिनाको खल्लो 'खोले' खान, मधुमेहलाई बढावा दिने चिनियुक्त चिया छोड्न तयार हुन आग्रह । यस्ता कुराहरुको लागि तयार हुने हिम्मत नगरिंदासम्म कालापानी, लिपुलेख र लिम्पियाधुराले देशको नक्सा भित्रबाट हामीलाई "धिक्कार, तिमीहरुको राष्ट्रवाद !" भनेर गिज्याइरहेको हुने;


६ यतिखेर भारतीय मिडियाहरुले नेपाल र नेपालीहरुको स्वाधीनतामाथि निम्नस्तरका टिप्पणीहरु गरिरहँदा यसले आक्रोसित तुल्याउनु स्वाभाविक भए तापनि वुद्धको धर्तीमा जन्मिएकी नाताले बम र बारुदको बिस्फोटनले गरेको युद्धभन्दा मन र मस्तिष्ककाे सम्म्रिश्रणले लडेको युद्ध सफल हुने विश्वासका साथ संवाद, शान्ति र सौहार्द्ध  व्यवहारमा विश्वास ।

 

अत: सबैले संयमित हुँदै राष्ट्रिय स्वाधीनतालाई जोगाउन जोड । हामीले हाम्रो भावी पुस्तालाई च्यात्तिएको होइन, सग्लो नेपाल; अधुरो, अपुरो र अधकल्चो होइन सिङ्गो नेपाल; लोलाएको, सेलाएको र झोक्राएको होइन कलकलाएको, फुलेको र फलेको नेपाल दिनुछ भन्दै समस्त नेपालीहरु एक ढिक्का हुन आग्रह । काँग्रेस र कम्युनिस्टको सोच त्याग्दै, जातीय संकीर्णतालाई भुल्दै र धार्मिक पर्खाललाई भत्काउँदै कायम गरिने हाम्रो एकता नै हाम्रो लागि सबैभन्दा ठूलो आणविक 'क्षेप्यास्त्र' हुने भएकोले एकाकार र गोलबद्ध हुँदै


"माछी मार्न जाउँन दाजै, कालापानीमा,


छेकी बारी दुवाली महाकालीमा…. "


एकै स्वर र लयमा गाउन आग्रह गरेकी छिन् नेपालकी छोरी/चेलीको रुपमा श्वेता खड्काले ।


प्रस्तुति : Ram Kumar Shresthahttps://www.facebook.com/Ramkshrestha/photos/a.2673742122858802/2714973315402349/?type=3&theater

प्रतिकृया दिनुहोस