• मंगलबार-भदौ-३-२०८२

पत्रकार महासङ्घबाट राष्ट्रिय समाचार समितिलाई पुस्तक प्रदान

 

काठमाडौँ, २ भदौ : नेपाल पत्रकार महासङ्घले राष्ट्रिय समाचार समिति (रासस)लाई पत्रकारितासम्बन्धी ५० थान पुस्तक उपलब्ध गराएको छ ।

 

रासस केन्द्रीय कार्यालय, भ्रद्रकाली प्लाजामा आज महासङ्घ महासचिव रामप्रसाद दाहालले राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई उक्त पुस्तक हस्तान्तरण गर्नुभएको हो ।

 

पुस्तक ग्रहण गर्दै कार्यकारी अध्यक्ष झाले राससको पुस्तकालयका लागि पत्रकारितासम्बन्धी महत्त्वपूर्ण पुस्तक उपलब्ध गराएकामा धन्यवाद दिनुभयो । उहाँले राससले स्थापना गरेको पुस्तकालयले पत्रकार र पत्रकारिताका विद्यार्थीलगायत मिडिया तथा पत्रकारिताबारे रुचि राख्नेहरू लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । 

 

राससका महाप्रबन्धक सन्दीप राईले राससलाई पत्रकारिताको अनुसन्धान केन्द्र बनाउने अभियानमा महासङ्घले पुस्तक उपलब्ध गराएकामा खुसी व्यक्त गर्नुभयो । 

 

महासङ्घका महासचिव दाहालले पत्रकारिताबारे सोध, अनुसन्धान गर्नेहरूको सहजताका लागि रासस पुस्तकालय सहयोग पुग्ने भन्दै यसलाई ‘इलाइब्रेरी’ कै रूपमा विकास गर्न सके अझै राम्रो हुने बताउनुभयो । 

 

रासस मिडिया सङ्ग्रहालयसँगै पुस्तकालयको स्थापना गरेको छ । यसप्रति आकर्षण बढ्दो छ । मिडिया सङ्ग्रहालय सञ्चालन भएको दिनदेखि विज्ञ, सरोकार भएका व्यक्ति तथा संस्थाका प्रतिनिधिहरू अवलोकनका लागि आउने क्रम जारी छ । 

 

राससले आफ्नो ६४औँ वार्षिकोत्सवका अवसरमा २०८१ फागुन ७ गतेदेखि ‘रासस मिडिया सङ्ग्रहालय समाचार बुलेटिन कक्ष’ सबैका लागि खुला गरेको छ । यहाँ रासस स्थापना भएको दिन २०१८ फागुन ७ गतेदेखि हालसम्मका समाचार सामग्री बुलेटिन तथा सञ्चार उपकरण राखिएका छन् । यस्तै, पुस्तकालयमा हाल विभिन्न किसिमका ७०० हाराहारी पुस्तक छन् ।
---

 

प्रतिकृया दिनुहोस