• बुधबार-असार-२५-२०८२

महानगरभित्र ‘शासकीय टस्सल’: एक्लिंदै मेयर बालेन, पूर्व राष्ट्रपतिसमक्ष के ‘गुनासो’ लिएर पुगे ? 

दलका वडाध्यक्षहरूले अवरोध खडा गरेपछि...बजेट अलपत्र

काठमाडाैं, असार २५ गते । काठमाडाैं महानगरपालिकाका मेयर बालेन साह अहिले आफूले नेतृत्व गरेको संस्थाभित्रै ‘असहयोग र अवरोध’ का घेराभित्र परेका छन्।  स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भई ‘शहर सुधार’ को प्रतीकजस्तै देखिएका बालेन हाल वडाध्यक्षदेखि प्रमुख प्रशासकीय अधिकृतसम्मको असहयोगबीच एक्लिँदै गएका छन्।

शहर सञ्चालनका आधारभूत संरचना- नीति, कार्यक्रम र बजेट- जस्ता महत्त्वपूर्ण विषयमै तानातानी बढेपछि मेयर साह पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीकैमा पुगेर ‘राजनीतिक सहयोग’काे माग गर्न बाध्य भएका छन्।

बालेन र गुरागाईंबीच टक्कर 


स्रोतका अनुसार, मेयर साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीच गम्भीर मतभेद चुलिएको छ। कामकाजको तरिका, निर्णयको प्रक्रिया र कार्यान्वयनको शैलीमै दुई शीर्ष व्यक्तित्वबीच समन्वयको अभाव देखिएको हो । यस टकरावले महानगरको समग्र कार्यप्रवाहमा नै असर पुर्‍याएको छ।

बालेन समर्थकहरूले गुरागाईंलाई ‘राजनीतिक प्रभावमा आएका व्यक्ति’ भनेर आलोचना गर्ने गरेका छन्, भने प्रशासकीय वृत्तमा भने मेयरलाई ‘एकल निर्णय गर्ने र समन्वय नगर्ने स्वभाव’ का रूपमा हेरिएको पाइन्छ।

दलका वडाध्यक्षहरूले अवरोध खडा गरेपछि...


काठमाडाैं महानगरपालिकामा एमाले र नेपाली कांग्रेसका निर्वाचित वडाध्यक्षहरू पनि आ-आफ्ना दलको निर्देशन बिना नचल्ने प्रवृत्तिमा देखिएका छन्। यही कारणले २०८२ असार ११ गते नै महानगरका सबै विभाग, इकाइ र वडामा नीति तथा कार्यक्रम पुगिसक्दा पनि अझै छलफल र स्वीकृति प्रक्रिया अघि बढ्न सकेको छैन।

‘स्थानीय तहको बजेट र कार्यक्रमलाई मूलतः राजनीतिक दलहरूले अनुमोदन गर्नुपर्ने बाध्यता छ, स्वतन्त्र मेयरले जतिसुकै पहल गरे पनि दलहरू नतोकिएसम्म प्रक्रिया अगाडि बढ्दैन’, एक वडाध्यक्षले नाम गोप्य राख्ने सर्तमा भने।

बालेनको भेट पूर्व राष्ट्रपतिसँग: अन्तिम उपाय ?


महानगरभित्रैबाट साथ नपाएपछि मेयर बालेन साह २०८२ असार १९ गते पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगे। स्रोतका अनुसार, उनले गुरागाईंको सरूवा, नीति तथा कार्यक्रम पारित गर्न र बजेट अघि बढाउनका लागि राजनीतिक रूपमा सहयोग गरिदिन आग्रह गरेका थिए ।

विद्या भण्डारी निकट स्रोत भन्छ- 'विद्याले व्यक्तिगत रूपमा सहयोग गर्ने आश्वासन दिइन्, तर आफ्नो औपचारिक भूमिका सीमित रहेको पनि प्रस्ट पारिन्।'

पूर्व राष्ट्रपतिले उक्त गुनासोका विषयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत छलफल गरेकी थिइन् । गुरागाईंको सरूवा सम्बन्धी विषय पनि त्यही संवादमा उठेको थियो।

'शक्ति सन्तुलन' नभएको महानगर


काठमाडाैं महानगर आज राजनीतिक शक्तिसन्तुलन र कार्यकारी–प्रशासकीय समन्वयविहीन संस्थाजस्तो देखिन थालेको छ। एकातर्फ मेयर स्वतन्त्र छन्, अर्कोतर्फ वडाध्यक्षहरू पार्टी अनुशासनमा। तेस्रो पाटोमा भने प्रशासकीय अधिकृतको संवैधानिक, कानुनी संरचना शक्तिशाली छ- जसमा संघीय सरकारको प्रत्यक्ष हस्तक्षेप हुने सम्भावना रहन्छ।  त्यसैले पनि बालेनका लागि नीति, कार्यक्रम र बजेट ‘सपना’जस्तै बनिरहेका छन्।

‘एक्लो वृहस्पति’को स्थिति


स्रोतका अनुसार, बालेन साह अहिले “सबैको असहयोगमा परेका एक्लो व्यक्ति” जस्तै महसुस गर्दै छन्। न राजनीतिक दलको समर्थन, न प्रशासनको विश्वास— यस्तो जटिल अवस्थाले उनलाई अब या त रणनीति बदल्न वा सार्वजनिक अपिलमार्फत दबाब सिर्जना गर्न बाध्य बनाउँदैछ।

निस्कर्षतर्फ
यसबीच, बालेनले उठाएको विषय- सरूवा, नीति, कार्यक्रम र बजेट- कुनै व्यक्तिको होइन, संस्थाको सञ्चालनसँग जोडिएको हो। यो विवाद चाँडै समाधान नहुने हो भने काठमाडौं महानगरको विकास थला पर्ने मात्र होइन, समग्रमा स्वतन्त्र नेतृत्वको औचित्यमाथि पनि गम्भीर प्रश्न उठ्न सक्छ।

प्रतिकृया दिनुहोस