• बिहीबार-असार-२६-२०८२

सशस्त्र प्रहरीद्वारा गोदावरी खोलाबाट बाढीमा फसेका ६ जनाको सकुशल उद्धार

कैलाली, असार २५ गते । कैलाली जिल्लाको गोदावरी नगरपालिका-४ स्थित गोदावरी खोलामा बाढीले फसेका ६ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। २०८२ असार २५ गते दिउँसो घटेको उक्त घटनामा जोखिमपूर्ण अवस्थाबाट समयमै उद्धार गरी मानवीय क्षति हुनबाट जोगाइएको हो।

उद्धार गरिएका व्यक्तिहरू कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–६ र १० तथा बेदकोट नगरपालिकाका बासिन्दा हुन्। उनीहरूमा ६५ वर्षीय कल्लु सार्की, ६५ वर्षीया बिना सार्की, १२ वर्षीय योगेश सार्की, २५ वर्षीय दीपक सार्की, ३५ वर्षीय बीर सार्की र २२ वर्षीय अर्जुन सार्की रहेका छन्।

परिवारका सदस्यहरू गोदावरी खोलामा श्राद्ध गर्न गएका बेला वर्षाका कारण एक्कासी खोलामा पानीको बहाव तीव्र भएपछि उनीहरू बीचको टापुमा फसेका थिए। घटना घट्नासाथ नेपाल सशस्त्र प्रहरी बल नं. ७ बाहिनी मुख्यालय अत्तरीया कैलाली, नं. ३४ गण र नं. ४३ रिजर्भ गणबाट खटिएको विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षाफौज घटनास्थलमा परिचालित भएको थियो।

अन्य सुरक्षा निकायहरूको सहयोगमा चलाइएको उद्धार अभियान सफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ। सबै उद्धार गरिएका व्यक्तिहरूको अवस्था सामान्य रहेको र प्राथमिक स्वास्थ्य परीक्षणपछि घर फर्काइएको जानकारी प्राप्त भएको छ।

स्थानीय सतर्कता र प्रहरी तत्परताको सफल संयोजन


बाढी, पहिरो र खोलानालामा अचानक बढ्ने पानीको बहावले हरेक वर्ष मानव क्षति पुर्‍याउने गरेको सन्दर्भमा यसपटक समयमै उद्धार कार्य हुनु सकारात्मक संकेत हो। सुरक्षाकर्मीहरूको सक्रियता र स्थानीयको सूचनात्मक सतर्कताले मिलेर सम्भावित दुर्घटना टारिएको छ।

प्रहरीको अपिल
सशस्त्र प्रहरी बलले वर्षायाममा नदी, खोल्सा, झरना र बगर क्षेत्रमा अत्यधिक सावधानी अपनाउन सर्वसाधारणलाई अपिल गरेको छ। श्राद्ध, चाडपर्व वा दैनिक कार्यका लागि खोलानाला तर्ने बेला मौसम र पानीको बहावको यथोचित अवलोकन गरी मात्र जानुपर्नेमा जोड दिइएको छ।

प्रतिकृया दिनुहोस