काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा चलाएपछि सांसदबाट निलम्बनमा परेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको अध्यक्ष पदबाट भने राजीनामा नदिने भएका छन् । पार्टीभित्र आफ्नो पकड गुम्ने र भोलिको दिनमा विरासत फिर्ता गराउन नसकिएला भनेर उनी राजीनामा नदिने अवस्थामा पुगेको स्रोतका दावी छ । ‘एस’ दलका नेताहरुका अनुसार अध्यक्ष नेपालले कार्यबाहक अध्यक्ष झलनाथ खनाललाई दिनै नचाहने र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई सबैले स्वीकार नगर्ने भएका कारणले नेपाल मौन देखिएका हुन् ।
वरिष्ठ उपाध्यक्ष पाण्डेसँग नेपालको निकटता भने रहेको छ । तर, पूर्ण विश्वासमा पनि नभएको एस स्रोतको भनाइ छ । विगतमा झलनाथ खनालनिकट रहेर काम गरेका पाण्डे अन्तिम समयमा मात्रै माधव नेपालको लाइनमा आएका हुन् । अझ ०८१ साल असारको महाधिवेशनमा नेपालको समूहबाट पाण्डेलाई उपाध्यक्षको उम्मेदवार बनाउन पनि खनालले नै सहयोग गरेका थिए । त्यतिबेला खासमा पाण्डे उपाध्यक्ष भएकै कारण भाई सुरेन्द्र पाण्डेले ६ मतले महासचिवमा पराजित हुनुपरेको आरोप पनि लाग्ने गरेको छ । अनि, माधव नेपाल स्वयम्लाई पनि असर गरेको विश्लेषण भइरहेको हुन्छ । त्यसैले, खनाल निकट भएर माधव नेपालसँग जोडिएका पाण्डेप्रति नेपालको भरोसा नदेखिएको एसका नेताहरु दाबी गर्छन् । सोहीकारण नेपाल अहिले कार्यबाहक अध्यक्ष पाण्डेलाई दिने पक्षमा देखिएका छैनन् ।
पाण्डे र उनीनिकट नेताहरुले भने संसदीय दलको नेता पनि पाण्डे नै हुने भएपछि अध्यक्ष पनि पाउनुपर्ने तर्क गरिरहेका छन् । सांसदबाट निलम्बनमा परेको नेपाल संसदीय दलको नेताबाट पनि हटेका छन् । उपनेता रहेका पाण्डे स्वभाविक रुपमा दलको नेता हुने अवस्था रहेको छ । त्यसैले, दलको नेता र पार्टीको अध्यक्ष एकैजना हुनुपर्ने पक्षमा पाण्डे पक्षले लवी बढाएको छ ।
यता खनाल समूह भने पार्टीको हाइटका लागि पनि पाण्डेभन्दा खनाल नै उपयुक्त हुने भनेर लवि गरिरहेका छन् । तर, खनाललाई अध्यक्ष नदिने नेपालको रणनीति रहेको छ । खनालकै साथका कारण २०८१ असारको महाधिवेशनमा नेपालले अध्यक्ष सर्वसम्मत हुने अवसर पाएका थिए । खनालले त्यतिबेला घनश्याम भुसाललाई धोका दिएर नेपालतिर लागेका थिए । त्यो गुण नेपालले अहिले खनाललाई तिर्नुपर्ने अर्थमा पनि खनालनिकट नेताहरुले बताइरहेका छन् ।
यी दुईको आफ्नो आफ्नो प्रयास र लवि भइरहेपनि नेपाल भने दुवैलाई अध्यक्ष नदिने तयारीमा रहेको एस स्रोतको दाबी छ । उक्त दाबी अनुसार, कानूनले पार्टीको अध्यक्ष छोड्न बाध्य नबनाएका कारणले नेपाल छोड्ने पक्षमा रहेका छैनन् । पार्टीको पकड नै गुम्ने डर नेपालमा रहेको छ । विगतमा पनि एमालेको महासचिव छोड्दा पार्टीको पकडमात्र गुमेन पार्टी नै छोडेर हिड्नुपर्ने अवस्था आएको थियो । नेपालनिकट नेताहरुको भनाइमा उनी त्यही बेलाको डरबाट अहिले पनि त्रसित रहेका छन् । (साँघु साप्ताहिक, २०८२ असार २)
प्रतिकृया दिनुहोस