• सोमबार-जेठ-२६-२०८२

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसमा प्लास्टिक फोहोर संकलनसहित हाइकिङ

वृक्षारोपण र वातावरण संरक्षणमा बहुआयामिक पहल

काठमाडौँ, जेठ २६ ।  विश्व वातावरण दिवसको अवसर पारेर ग्लोबल आइएमई बैंक लिमिटेडले वातावरणीय चेतना र संरक्षणको सन्देश दिनका लागि प्लास्टिक फोहोर संकलनसहितको हाइकिङ कार्यक्रम सम्पन्न गरेको छ।

 

कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिरसम्मको एकदिने हाइकिङमार्फत बैंकले वातावरण सरसफाइमा योगदान दिने उद्देश्यसहित जनसहभागितामूलक अभियान सञ्चालन गरेको हो।

कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर शाखासँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा करिब १५० केजी प्लास्टिक फोहोर संकलन गरिएको छ। सहभागीहरूले हाइकिङ मार्गमा रहेका पर्यटकीय क्षेत्रहरूबाट प्लास्टिकजन्य फोहोर संकलन गर्दै वातावरण सफा राख्न सन्देश दिएका थिए।

कार्यक्रमका दौरान स्थानीय समुदायद्वारा उत्पादन गरिएका बाँसका डोका (डस्टबिन) विभिन्न स्थानहरूमा राखिएको छ, जसले दीर्घकालीन फोहोर व्यवस्थापनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ। संकलित फोहोर कीर्तिपुर नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा जिम्मा लगाइएको बैंकले जनाएको छ।

उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कीर्तिपुर नगरपालिकाका प्रतिनिधिहरू, नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर शाखाका पदाधिकारी, बैंकका कर्मचारी तथा स्थानीय स्वयंसेवकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैंकले केवल बैंकिङ सेवा मात्रै नभई, जलवायु परिवर्तन न्यूनीकरण, स्वदेशी उत्पादन प्रवद्र्धन, वातावरण संरक्षण, र दिगो विकासमा समेत विशेष योगदान पुर्‍याउने नीति अघि सारेको स्पष्ट पारेको छ।

वृक्षारोपणमा १८ हजारको लक्ष्य

विश्व वातावरण दिवसकै अवसरमा ग्लोबल आइएमई बैंकले देशभरि वृहत वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको छ। आफ्नो १८औँ वार्षिकोत्सवको सन्दर्भमा बैंकले १८ हजार वृक्षारोपण गर्ने लक्ष्य लिएको हो।

बैंकका अनुसार वृक्षारोपणबाट वातावरण संरक्षणसँगै जलवायु परिवर्तन न्यूनीकरण र स्थानीय समुदायको आय–आर्जनमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। विभिन्न शाखा, स्थानीय निकाय र सामुदायिक वनसँगको सहकार्यमा वृक्षारोपण कार्यक्रम सञ्‍चालन भइरहेको छ।

सम्मान र उपस्थिति

ग्लोबल आइएमई बैंक हालै ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भएको छ। साथै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट समेत फरकफरक विधामा सम्मानित हुँदै आएको छ।

बैंकको सेवा सञ्जाल

ग्लोबल आइएमई बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो, जसले देशका ७७ वटै जिल्लामा सेवा विस्तार गरिसकेको छ। हालसम्म बैंकसँग ३५४ शाखा कार्यालय, ३८५ एटीएम, २०२ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर छन्। यिनका साथै, बैंकका ३ वटा विदेशी प्रतिनिधि कार्यालयमार्फत समेत सेवा दिइरहेको छ।

रेमिट्यान्स सेवा

ग्लोबल आइएमई बैंकले अमेरिकादेखि अष्ट्रेलिया, जापानदेखि खाडी मुलुकहरूसम्म दर्जनौँ मुलुकहरूबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ। यसले लाखौँ प्रवासी नेपालीहरूको परिवारमा वित्तीय पहुँच सुनिश्चित गराएको छ।

प्रतिकृया दिनुहोस