काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले बाग्लुङ क्षेत्र नं. १ को कालीगण्डकी नदीमा भइरहेको अवैध बालुवा उत्खनन तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा बालुवा र गिट्टी झिक्ने काम निरन्तर जारी रहेको आरोप लगाए। उनले यसअघि पनि सो विषयमा सदनमा आवाज उठाइसकेको स्मरण गराउँदै भने,
“बाग्लुङ क्षेत्र नं. १ को कालीगण्डकीमा अवैध रूपमा बालुवा झिक्ने काम भइरहेको छ। यसअघि पनि मैले यो कुरा उठाएको थिएँ। जनप्रतिनिधि र कर्मचारीहरू मिलेर लुटपाट गरिरहेका छन् भने सरकार रमिता हेरिरहेजस्तो देखिन्छ।”
उनले थप चेतावनी दिए कि बालुवा र गिट्टीको अवैध उत्खनन तत्काल नरोके कालीगण्डकी करिडोरको सडकसमेत भासिने जोखिम छ।
“सर्वोच्च अदालतले उत्खनन नगर्न आदेश दिइसकेको अवस्थामा समेत जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा लुटपाट जारी छ,” भन्दै उनले तत्काल कडाइका साथ रोक लगाउन सरकारलाई आग्रह गरे।
प्रतिकृया दिनुहोस