• शुक्रबार-बैशाख-५-२०८२

‘लोकतन्त्र विशिष्ट किसिमको सुन्दर प्रणाली हो’ : सञ्चारमन्त्री गुरुङ

 

लुम्बिनी, २९ चैत : सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले सङ्घीय लोकतन्त्र केवल संरचना मात्र नभएर विशिष्ट किसिमको सुन्दर प्रणाली भएको बताउनुभएको छ । 

 

आजदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु भएको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को आठौँ महाधिवेशनको उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र समावेशिताका लागि ल्याइएको बताउनुभयो ।

 

उहाँले लोकतन्त्रमा कुनै पनि किसिमको अराजकता छुट नहुने र सरकारले अराजकता अन्त्य गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नुभयोे । उहाँले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा सम्मिलित व्यक्तिहरू कारबाहीको दायरामा ल्याएको जानकारी दिनुभयो ।

 

मन्त्री गुरुङले हाल सामाजिक सञ्जालका कारण विभिन्न घटना घटेकाले साइबर सुरक्षा सरकारको प्राथमिकतामा रहेको हुँदा सामाजिक सञ्जालसम्बन्धी विधेयक यसको व्यवस्थापनका लागि भएको बताउनुभयो ।

 

उहाँले सञ्चारमाध्यमहरू व्यवस्थापन गर्ने, श्रमजीवी पत्रकारहरूको हकअधिकार स्थापित गर्नेलगायत विषय सञ्चार विधेयकमा आवश्यक भएकाले सोसम्बन्धी गृहकार्य भएको जानकारी दिनुभयो ।

 

विगतमा राजतन्त्रात्मक व्यवस्था कहालीलाग्दो भएकाले नेपाली जनताले पुनः राजतन्त्र स्वीकार्न नसक्ने उहाँको भनाइ छ । कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले सुशासन कार्यान्वयनमा प्रदेश सरकारले जोड दिएको र समावेशिता कार्यान्वयनमा महत्त्वपूर्ण प्रयास भएको बताउनुभयो । 
---

 

प्रतिकृया दिनुहोस