काठमाडौँ, चैत्र २९गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपति शम्सेर राणाले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणालाई थुनामा राख्नु सरकारले प्रजातन्त्र र मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको आरोप लगाएका छन्।
चैत २९ गते शुक्रबार आफ्नै निवासमा आयोजित कार्यक्रममा पूर्वअध्यक्ष राणाले अभिव्यक्ति स्वतन्त्रता नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै फरक मत राखेकै कारण नेताहरूलाई थुनामा राख्नु गम्भीर अन्याय भएको टिप्पणी गरे।
“प्रजातन्त्रमा विचार स्वतन्त्रता हुन्छ, फरक मत राख्न पाइन्छ। यही अधिकार प्रयोग गर्दा नेताद्वयलाई थुनामा राखिएको छ, जुन सरकारको प्रतिगामी कार्य हो,” उनले भने।
कार्यक्रममा बोल्दै उनले हिरासतमा रहेका मिश्र, राणा लगायतका राष्ट्रवादी नेताहरूको रिहाइको माग गर्दै राप्रपाले देशव्यापी दबाबमूलक आन्दोलनको तयारी गर्नुपर्ने आवश्यकता औंल्याए। उनले पार्टीका सबै तहका नेता र कार्यकर्ताहरूलाई आन्दोलनमा सक्रिय सहभागिता जनाउन आह्वान समेत गरे।
यसअघि चैत्र १६ गते बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले २४ घण्टाभित्र दुई नेतालाई रिहा नगरेमा आन्दोलनमा उत्रिने निर्णय गरिसकेको थियो। सोही निर्णयअनुसार राप्रपाले राष्ट्रवादी शक्तिहरूसँग सहकार्य गर्दै संवैधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्य पुनर्स्थापनाको लक्ष्यसहित निर्णायक आन्दोलन थालनी गर्ने तयारी गरेको छ।
पूर्वअध्यक्ष राणाको निवासमा आयोजित छलफलमा महामन्त्री कुन्ती शाही, प्रवक्ता सगुन सुन्दर लावती, बागमती प्रदेश प्रमुख विक्रम थापा, कार्यसम्पादन समिति सदस्य कर्णबहादुर शाही, सहमहामन्त्री रवीन्द्र प्रताप शाह, तथा वरिष्ठ केन्द्रीय सदस्यहरू समेतको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी नेताहरूले अब देश आन्दोलन र परिवर्तनको बाटोबाट पछि फर्कन नसक्ने भन्दै पार्टीले निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
प्रतिकृया दिनुहोस