• आइतबार-बैशाख-१-२०८२

एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली

 

रुपन्देही । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरु असफल भएको जनाउँदै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताए ।

 

नेकपा एमालेको रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर देशी विदेशी प्रतिक्रियावादी स्वार्थी तत्वहरुले एमालेलाई विभाजनको कोशिश गर्नेहरु असफल भएको टिप्पणी गर्दै भने, “एमालेलाई सिध्याउँछु, केपी ओली विनाको एमाले बनाउँछु भन्नेहरु सफल हुँदैनन् । म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान नेताहरु पार्टीमा आउनेछन् । यस देशको विकासको भाग्यरेखा हामी आफै कोर्छौँ । मान्छेको घरमा आगो लगाएर  र पसलबाट चोरेर भाग्नेहरुले क्रान्ति र परिवर्तनका लागि केही गर्न सक्दैनन् ।”

 


राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अहिलेको सरकारले आफ्ना सबै प्रयास गरिरहेको बताए । उनले विगतमा आफ्ना कुशासन र निरङ्कुशताको राज सम्झिएर प्रतिगामी तत्वहरुले यस व्यवस्थालाई बदनाम गर्न अराजकता र अफबाह फैल्याउन खोजे पनि त्यसबाट कुर्न विचलित नभई समृद्धि र सुसाशनको अहिलेको यात्रामा योगदान दिन सबैमा आग्रह गरेका छन । 

 

अहिलेको आधुनिक समयमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा पछि लाग्नु बेक्कार भएको जनाउँर्द उहाँले लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउँदै जनताको समृद्धि र विकासलाई तीव्र गति दिन वर्तमान संयुक्त सरकार कटिबद्ध रहेको स्पष्ट गर्नुभयो । देशका ठुला दलहरु नेपाली काँग्रेस र एमालेले मुलुकलाई स्थायित्व दिन र देशलाई परिवर्तनका लागि सरकार बनाएले यो गठबन्धन आगामी निर्वाचनसम्म जाने स्पष्ट गर्दै भन्नुभयो, “यो सरकार ढल्न त के हल्लन पनि हल्लँदैन ।”

 


प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारको पालामा लुम्बिनीमा विभिन्न राजमार्ग, अस्पताल, अन्राष्ट्रिय सम्मेलन केन्द्र, ध्यान केन्द्र, कृषि उत्पादन क्षेत्रको विकासजस्ता अनेकै विकास र प्रविधिका योजना र कार्यक्रमहरु ल्याएको अवगत गराए । 

 


सभामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले समृद्धि र सुशासनका लागि प्रधानमन्त्री ओलीको नेतृत्वमा भएका राम्रा कामलाई ओझेलमा पार्ने गरी गरिएका गलत प्रचारलाई चिरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

 


एमालेका सचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले एमाले र यसको नेतृत्वले देश र जनताका पक्षमा गरेका कामबारे आफूहरु खुलस्त छलफल गर्न तयार रहेकाले विपक्षी र प्रतिगामी पक्षहरुबाट हुने गलत प्रचारको पछि नलाग्न आग्रह गरे । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सङ्घका भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलगायत सहभागी थिए ।
 

प्रतिकृया दिनुहोस