• आइतबार-चैत-३१-२०८१

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर युवतीको मृत्यु

 

नेपालगञ्ज (बाँके), ३० चैत । बाँकेको राप्ती नदीमा डुबेर आज एक युवतीको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–३ स्थित सिनावासमा राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर स्थानीय २० वर्षीया दिक्षिका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार गाउँका अन्य महिलासँग राप्ती नदीमा माछा मार्न गएका बेला दिक्षिकाको नदीमा डुबेर मृत्यु भएको हो । “माछा मार्न गएका ११ जना महिला पनि नदीमा दिक्षिकासँगै डुबेका थिए । उनीहरूको सकुशल उद्धार गरिएको छ”, उहाँले भन्नुभयो ।

 

दिक्षिकाको शवलाई नदीबाट एक घण्टापछि स्थानीय र प्रहरीको सहयोगमा निकालिएको थियो । मृतकको शवलाई परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । 
---

 

 

प्रतिकृया दिनुहोस