काठमाडौँ : चीनको गुइलिनमा आगामी वैशाखमा नेपाल–चीन सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना हुने भएको छ । चीनस्थित गुइलिन मर्चेन्टस इन्टरनेशनल ट्राभल सर्भिस, गुइलिन पर्यटन विश्वविद्यालय र गुइलिन इग्लिस कर्नर स्कुलसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कम्पनीका अध्यक्ष सत्या लामा तामाङले नेपाली कलाकार, पर्यटन व्यवसायी, उद्यमी तथा व्यापारी, सरकारी प्रतिनिधिलगायत सहभागी हुने जानकारी दिनुभयो ।
आगामी वैशाख २८ गते चीनको गुइलिनमा दुईदेशीय सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिनेछ । यसले द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउनुका साथै पर्यटन क्षेत्रमा सहकार्य बढ्ने विश्वास लिएका छौँ”, अध्यक्ष तामाङले भन्नुभयो ।
कार्यक्रममा नेपाल र चीनका मौलिक गीत, नृत्य प्रस्तुत गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धन गरिने कम्पनीका प्रबन्ध निर्देशक फुर्बा ग्याल्बो मोक्तानले बताउनुभयो । उहाँले त्यस अवसरमा नेपालको संस्कृति र पर्यटन क्षेत्रमा योगदान गरेका व्यक्तिलाई पुरस्कृत गरिने जानकारी दिनुभयो ।
कोरियोग्राफर’ कमल राईले चीनको गुइलिनमा राई, लिम्बू, गुरुङ, थारुलगायत पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका वेशभूषा र संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने बताउनुभयो ।
प्रतिकृया दिनुहोस