रौतहट । रौतहटको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा रु.१० लाख ३८ हजार बराबरको क्षति भएको छ । गरुडा नगरपालिका –५ मा रहेको ठाकुर ग्रिल उद्योगमा सोमबार बेलुका करिब ९ बजे तिर आगलागी भएको हो ।
आगलागीको घटनाका बारेमा जानकारी पाउनका साथ ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओम प्रकाश यादवको नेतृत्वको टोली खटिएको थियोे ।सुरक्षाकर्मी , स्थानीयबासी र वरुण यन्त्र (दमकल ) सहयोगमा आगो करीब एक घण्टा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार रायले बताए ।
उनका अनुसार बिद्युत तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट उद्योगमा रहेको टायर, वल्डिङ मेसिन ,मर्मतका लागि राखिएको ट्याक्टर लगायत जलेर क्षति पुगेको उनले जानकारी दिए । आगलागीबाट कुनै प्रकारको मानवीय क्षति नभएको उनको भनाइ छ ।
आगलागीमा रु.१० लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । यस्तै इशनाथ नगरपालिका ६ जयनगर बस्ने शेख वसिर अख्तरको पक्की घरको एक कोठामा आगोलागी भएको रौतहट प्रहरीले जनाएको छ । आगलागीबाट कोठामा रहेका टि.भी, पलङ, साइकल लगायत जलेर क्षति भएको प्रहरीको भनाइ छ । घरको कोठामा मात्र आगोलागी भएकाले करीब ३८ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
प्रतिकृया दिनुहोस