• मंगलबार-चैत-१९-२०८१

सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध


सुदूरपश्चिम, १७ चैत : सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक निर्धारित कार्यसूचीमा प्रवेश नगरी स्थगन गरिएको छ । 

 

बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले आ–आफ्नो आसनबाट उभिएर अवरोध गरेपछि कार्यसूचीमा प्रवेश नगरी बैठक अवरुद्ध हुन पुगेको हो । अवरोधका बीच सभामुखको अनुमतिमा प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सदस्य खेमादेवी विष्टले आफ्नो धारणा राख्दै सुशासन कायम राख्न र नियमविपरीत गरिएका राजनीतिक नियुक्तिका सवालमा सरकारले जवाफ दिनुपर्ने माग गर्नुभयो ।

 

उहाँले दिगो वन व्यवस्थापनसम्बन्धी विधेयक तयारीका क्रममा वनमन्त्रीबाट आर्थिक चलखेल भएको भनेर सार्वजनिक भएको श्रव्य सामग्रीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुभयो । उक्त सामग्री सार्वजनिक भएको घटनामा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले शनिबार पदबाट राजीनामा दिनुभएको थियो । 

 

विष्टको सम्बोधनपछि पनि प्रतिपक्षी दलका सदस्यले अवरोध जारी राखेपछि सभामुख भीमबहादुर भण्डारीले आजको बैठकको पूर्वनिर्धारित कार्यसूची हटाई अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगन गरिएको जानकारी गराउनुभयो ।   

 

प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्र सदस्यले प्रदेशसभाको बैठक अवरुद्ध पार्दै आएका छन् ।---

 

 

प्रतिकृया दिनुहोस