काठमाडौं, चैत १९ गते – दुबईबाट नेपाल आउने यात्रुहरूले व्यक्तिगत प्रयोजनका लागि १/१ थान ल्यापटप र मोबाइल ल्याउन पाउने कानूनी व्यवस्थाको दुरुपयोग गर्दै भन्सार छली चोरी तस्करी भइरहेको सूचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान प्रहरीले कारबाही गरेको छ। अनुसन्धानको क्रममा २०८१ साल चैत १८ गते विभिन्न उडानमार्फत नेपाल आएका यात्रुहरूमार्फत ल्याइएका ल्यापटप र मोबाइलसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी र भन्सार विभागको संयुक्त अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर ९ गौशला बत्तिसपुतली क्षेत्रबाट ३ जना यात्रुहरुलाई नियन्त्रणमा लिइएको छ। ती यात्रुहरू मार्फत ल्याइएका सामान लिन आएका अन्य ३ जनालाई पनि सोही स्थानबाट नियन्त्रणमा लिइएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा, पक्राउ परेकाहरू न्युरोडको संकटा मन्दिर नजिक रहेको Alited Suppliers Pvt. Ltd. नामक ल्यापटप पसलका सञ्चालक रसिद आलमको निर्देशनमा कार्य गरिरहेको खुलेको छ।
यसै सिलसिलामा न्युरोडस्थित रसिद आलमको पसल तथा स्टोरमा छापा मार्दा बिलबिजविहीन ६९ थान Dell ब्रान्डका ल्यापटप र २ थान मोबाइल बरामद गरिएको छ। ती सामानहरू अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएको हुन सक्ने आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरी स्रोतका अनुसार, रसिद आलमले यसअघि पनि सोही तरिकाबाट पटक–पटक अवैध रूपमा ल्यापटप तथा मोबाइल भित्र्याउने कार्य गरेको पाइएको छ। यस घटनासँग सम्बन्धित अन्य व्यक्ति र संस्थाको खोजी तथा अनुसन्धान जारी रहेको छ।
बरामद गरिएका सामानहरू र पक्राउ परेका ७ जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर, काठमाडौँ मा बुझाइएको छ। भन्सार छलीका घटनाहरू न्यूनीकरण गर्न सुरक्षा निकायले निगरानीलाई थप कडाइ गरिने जनाएको छ।
प्रतिकृया दिनुहोस