• बुधबार-फाल्गुण-२८-२०८१

होली मनाउने नाममा समाजमा बढेको बेथिति, हुँदैछ जनधनको क्षति !

होलीको अमर्यादित व्यवहारले निम्त्याएका समस्या

 

  २०८१ फागुन २९ गते होली पर्व छ। रंगको यो उत्सव हर्षोल्लासका साथ मनाउने प्रचलन भए पनि पछिल्लो समय समाजमा अनेक विकृति देखिन थालेका छन्। जबरजस्ती अबिर दलिदिने, घरकाे छतमा बसेर पैदलयात्रीलाई लोला हिर्काउने, पानी खन्याइदिने, मोबिल दलिदिने जस्ता अमर्यादित कार्य विगतमा व्यापक भइरहेका हुन्।

 

कतिपय व्यक्तिहरूले अरूको घरभित्र जबरजस्ती प्रवेश गरेर अबिर लगाउने समेत गरेका छन्। देशभरि विभिन्न स्थानमा होलीका कार्यक्रम आयोजना गरिन्छन्, जहाँ महिलामाथि दुर्व्यवहारको जोखिम उच्च हुन्छ। रंग लगाउने बहानामा महिलाहरूका संवेदनशील अंग छुन खोज्ने प्रवृत्ति बढ्दो छ। सभ्य रूपमा खेलिनुपर्ने होली पछिल्ला वर्षहरूमा असभ्य हुँदै गएको देखिन्छ।

 

होली मनाउने नाममा मादक पदार्थको अत्यधिक सेवन, होहल्ला गर्ने, जुवातास खेल्ने जस्ता असामाजिक क्रियाकलापले प्राथमिकता पाइरहेको छ। कतिपय व्यक्तिहरू सवारी दुर्घटना र मातेर छतबाट लडेर ज्यान गुमाउने घटनाहरू पनि भएका छन् । 

 

त्यस्तै, व्यापारीहरूले यो अवसरलाई फाइदा उठाउँदै अत्यधिक महँगो मूल्यमा सामान बेच्ने गरेका छन्। एक सय रुपैयाँ पर्ने टि-शर्ट पाँच सयमा बिक्री भइरहेको छ भने छाला(स्किन)लाई असर गर्न सक्ने नक्कली रंगहरू खुलेआम बेच्ने गरिन्छ। दुर्भाग्यवश, सरोकारवाला निकायले यसको अनुगमन गर्ने कुनै चासो देखाएको छैन।

 

होलीको अमर्यादित व्यवहारले निम्त्याएका समस्या

 

होली आफन्त तथा नातागोताबीच जमघट गर्ने पर्व हो, तर यहाँ पनि मादक पदार्थको अत्यधिक सेवन गरिन्छ। मादक पदार्थ सेवन तथा लागूपदार्थको प्रभावमा आएर सवारी साधन चलाउने घटनाहरू अत्यधिक देखिन्छन्। बार्दली र छतबाट पानी हान्दा मानिसहरू लडेका घटनाहरू बारम्बार सुन्न पाइन्छ। कतिपय घटनाहरूमा गम्भीर घाइते हुने वा ज्यान नै गुमाउने अवस्था आएको छ।

 

सरकारले यस्ता समस्याप्रति चासो देखाउने भनेको घटना घटेपछि मात्र हो। जब अप्रिय घटना भइहाल्छ, अनि मात्र प्रहरी परिचालन गरिन्छ। तर, हरेक वर्ष उस्तै प्रकृतिका घटना दोहोरिए पनि सरकार सचेतना अभियान सञ्चालन गर्न अग्रसर देखिँदैन। गृह मन्त्रालयले होलीलाई व्यवस्थित, मर्यादित बनाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको पाइँदैन।

 

अर्कोतर्फ, समाजमा चरम गरिबी व्याप्त छ। धेरै बालबालिकाहरू कापी-किताब अभावका कारण स्कुल जान सकिरहेका छैनन्। गरिब र वृद्धाश्रममा बस्नेहरूले एक छाक  खान पाइरहेका छैनन् । यस्तो अवस्थामा अनावश्यक रूपमा अबिर, लोला, पिचकारी किन्नु फजुल खर्च मात्र हो । 

 

बेरोजगार युवाहरू दुई छाक खानसमेत संघर्ष गरिरहेका छन्। उपचार अभावमा थुप्रै गरिब, बिरामीहरू छटपटाइरहेका छन्। यस्ता आवश्यकताहरू पूरा गर्न सकिने रकम फजुल रूपमा खर्च गर्नु समाजका लागि दुर्भाग्यपूर्ण कुरा हो।

 

समाजमा नैतिक शिक्षाको कमी

 

शिक्षा लिएर पनि मानिसहरू व्यवहारिक रूपमा चेतनशील बन्न सकेका छैनन् । सरकार जनतालाई नैतिकताको पाठ पढाउन असफल देखिन्छ। धनीहरू आफ्नो सम्पन्नता देखाउन गला र हातभरी सुनका गहना लगाएर हिँड्छन्, जसले गर्दा चोरी तथा लुटपाटका घटना बढ्दै गएका छन्। 

 

केही वर्षअघि चावहिलको सरस्वतीनगरमा दिउँसै सुनकै लागि एकजना पसलेको हत्या गरिएको थियो। यस्तो घटना घटिरहे पनि मानिसहरू सचेत हुन चाहँदैनन्।

 

सुनका गरगहना लगाएर होली खेल्न जानेहरूको सम्पत्ति चोरी भएमा दोष कसलाई दिने ? राज्यलाई ? तर, राज्यले सुन लगाएर होली खेल्न उर्दी जारी गरेको त हैन। नागरिकहरू नै यस्ता लापरवाहीपूर्ण क्रियाकलाप गर्छन्, जसको परिणामस्वरूप अप्रिय घटना निम्तिन्छ। सरकारले मात्र हैन, हाम्रै सचेतना जरुरी छ।

 

सरकारको जिम्मेवारी र जनताको कर्तव्य

 

सरकारले अनावश्यक खर्च रोक्न, आवश्यक परेकालाई सहयोग गर्न सचेतना अभियान चलाउनुपर्छ। तर, सरकारलाई जनताको वास्तविक अवस्थाबारे कुनै चासो छैन। 

 

दैनिक ७० हजार रुपैयाँको विदेशी पानी खाने प्रधानमन्त्रीलाई जनता भोकै छन् कि सन्तुष्ट छन् भन्ने थाहा नै छैन। जब शासकहरूले जनताको वास्तविकता बुझ्न सक्दैनन्, तब जनता पनि समाजप्रति उत्तरदायी बन्न सक्दैनन्।

 

टिकटक र जुवातास खेल्नमै जनता मस्त छन् भने सरकार आफ्नै खेलमा रमाइरहेको छ। यस्तो स्थितिमा देश कहिल्यै उन्नतिको बाटोमा जान सक्दैन। देशमा धनी र गरिबबीचको खाडल झनै गहिरो बन्दै गएको छ। भ्रष्टाचार, कर छल्ने प्रवृत्ति, कालोबजारी आदि मार्फत धन कमाएर समाजलाई नै अन्यौलमा पार्ने प्रवृत्ति मौलाइरहेको छ। सरकार निरीह देखिएको छ।

 

होलीलाई सार्वजनिक बिदा दिइन्छ, तर यो बिदाको औचित्य के? वर्षभरि धेरै सार्वजनिक बिदा दिइएर पनि देश पछाडि नै छ। अन्य देशहरू रातदिन नभनी परिश्रम गरिरहेछन्, तर हामीकहाँ अनावश्यक बिदा दिने प्रवृत्तिले काम नगर्ने संस्कृतिलाई बल पुर्‍याइरहेको छ।

निष्कर्ष

नेपाली समाजमा नैतिकता र सामाजिक उत्तरदायित्वको ठूलो अभाव देखिन्छ। सामान्य समयमा तिर्खा लाग्दा पानी दिन नचाहने मानिसहरू होलीको अवसरमा बाल्टिनभरि पानी खन्याएर रमाउँछन्। यस्तो कार्य सभ्य समाजकाे संकेत हैनन्।

 

कोही अस्पताल जाँदै होलान्, कोही अत्यावश्यक कामका लागि हिँड्दै होलान्, तर उनीहरूलाई बेवास्ता गर्दै पानी खन्याइन्छ। यस्तो प्रवृत्तिले समाजमा असभ्यताको जरा गाड्दै लग्छ।

 

होली मनाउने नाममा अमर्यादित गतिविधि नगर्नु आवश्यक छ। ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरूलाई कडा कारबाही गरोस्। अन्यथा, होलीको चाड खुशीको सट्टा दुःखद घटनामा परिणत हुन सक्छ। सचेत नागरिक भएर होली मनाऔं, समाजमा सद्भाव फैलाऔं, मर्यादित रूपमा रंगको पर्वलाई अविस्मरणीय बनाऔं।

 

प्रतिकृया दिनुहोस