• सोमबार-माघ-२१-२०८१

सिटीको पोस्टमा आर्सनलको पाँच गोल

 

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आइतबार राति म्यानचेस्टर सिटीले लज्जास्पद हार व्यहोरेको छ । सिटीलाई‌ आर्सनलले ५-१ ले हराएको हो। यो जितसँगै आर्सनलले शीर्ष स्थानको लिभरपुलसँगको दुरी घटाएको छ ।

 

आर्सनललाई जित दिलाउन मार्टिन ओडेगोर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे । सिटीका एर्लिङ हालान्डले गोल गरे । ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरेका थिए । ५५ औं मिनेटमा हालान्डले बराबरी गोल गर्दै सिटीलाई खेलमा फर्काए पनि त्यसको एक मिनेटमै पार्टेले गोल गर्दै आर्सनल २-१ को स्थितिमा पुर्‍याए । त्यसपछि सिटी सम्हालिएर खेलमा फर्किन सकेन ।

 

स्केलीले ६२औं मिनेटमा गोल गरे । ७६औं मिनेटमा हार्भेट्ज र इन्ज्युरी समयको तेस्रो मिनेटमा नोनेरीले गोल गरेपछि आर्सनलको जित सहज बन्यो । २४ खेलमा दोस्रो स्थानको आर्सनलको ५० अंक छ । एक खेल कम खेलेको लिभरपुलको ५६ अंक छ। सिटी ४१ अंकसहित चौथो स्थानमा छ ।

 

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले हार व्यहोरेको छ । युनाइटेड आइतबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरेका थिए । खेलमा टोटेनहमले बेन्टफोर्डलाई २-० ले हराएको छ । जारी लिगमा आठौं खेलमा टोटेनहमको यो पहिलो जित हो ।

प्रतिकृया दिनुहोस