• शनिबार-कार्तिक-१०-२०८१

रोटरी चौतारीद्वारा नियमित बैठकपछि मानव सेवामा आश्रितलाई भोजन

बुटवल, १० कात्तिक । मानव सेवा आश्रममा आश्रय लिएकाहरुलाई खाना खुवाएर रोटरी क्लव अफ बुटवल चौतारीले आफ्नो २२४औं बैठक सम्पन्न गरेको छ ।

रुपन्देहीको तिलोत्तमा भलवारीस्थित मोक्षधाममा सञ्चालित मानव सेवा आश्रममा आश्रय लिएकाहरुलाई २०८१ कात्तिक ९ गतेशुक्रबार साँझ भोजनसहित रोटरी चौतारीले आफ्नो नियमित बैठक सम्पन्न गरेको हो ।

  विभिन्न कारणले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन बन्न पुगेका व्यक्तिहरुलाई मानवसेवा आश्रमले आश्रय दिँदै आएको छ । यसरी आश्रय लिएकाहरुलाई क्लवले खाना खुवाएको अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए ।


  मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताउँदै पौडेलले यहाँ आश्रित असहायहरुका लागि खर्च गर्न पाउँदा सबैभन्दा ठूलो उपलव्धि हासिल गरेको महसुस भएको बताए । पौडेलले आफ्नो जन्मदिनको अवसर समेत पारेर क्लवको तर्फबाट आश्रममा भोजन गराएका हुन् ।

 

क्लवका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरेले मानव सेवा आश्रममा कार्यक्रम गर्न पाउँदा खुसीको अनुभूति भएको बताए । उनले क्लवले आगामी दिनमा पनि आश्रममा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

मानव सेवा आश्रमकी सह–संयोजक विष्णु घर्तीले सडक मानवको उद्धार गरी भलवारीमा १२५ जना र बुटवल शाखामा ४३ जनालाई राखिएको जानकारी दिइन् । घर्तीका अनुसार संस्थाले नेपालभर ७ वटै प्रदेशमा आफ्नो शाखा तथा सेवा केन्द्र सञ्चालन गरी ७ हजार बढी खुला आकाशमुनी, सडक पेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार, उपचार, पालपोषण तथा परिवार भेटिएका वा नभेटिएका परिवारको खोजी र पुनर्मिलन गर्दै आएको छ । कार्यक्रममा क्लवका पदाधिकारी, सदस्य एवं सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।

 

आश्रममा १२५ जनाले आश्रय लिएको मानवसेवा आश्रमकी स्वयमसेवक पार्वती तिवारीले जानकारी दिइन् । पछिल्लो समय वैवाहिक उत्सव, जन्मदिन, पितृकार्यलगायतका अवसरमा आश्रममा आश्रितलाई खाना खुवाउने र आर्थिक सहयोग गर्ने क्रम बढ्दै गएको तिवारीले बताइन् ।

प्रतिकृया दिनुहोस