• आइतबार-कार्तिक-४-२०८१

चिउरीको दाना पेलेर घ्यूको जोहो गरिँदै

देउखुरी (दाङ), ४ कात्तिक : गाउँका घरमा भोटेताल्चा लागेका, गाउँ सुनसान तर गाउँको बीचमा रहेको टिनको टहरामा ढिकी कुटेको आवाज एकनासले आइरहेको छ । नजिकै आगो बालेको धुवाँ आइरहेको छ ।

 

आगोमाथि कालो भाँडोबाट एकनासले बाफ निस्किरहेको छ । गाउँले धेरैजसो यसरी नै सोही ठाउँमा चिउरीका बिजुला कुट्न र पेल्दै गरेका भेटिए ।  

 

गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला दाङको घोराही उपमहानगरपालिका–१८ घोरदौराका नागरिकले परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरेका छन् । घोरादौरको लामीधारा गाउँमा १४ परिवारको बसोबास छ । 

 

सोही  गाउँका राधा गिरी चिउरीका बिजुला पकाउँदै गरेको अवस्थामा भेटिनुभयो । उहाँले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घ्यू उत्पादन गर्ने गरेको बताउनुभयो ।

 

घरको कामबाट फुर्सद निकालेर नजिकैको जङ्गलमा गएर चिउरी टिप्ने गरेको उहाँले सुनाउनुभयो । “प्रत्येक वर्ष बिजुला टिप्ने र पेल्ने गर्छौँ, यस वर्ष पाँच मुरी चिउरी टिपेका थियौँ, त्यही पेलेर घ्यू बनाउँदैछौँ”, गिरीले भन्नुभयो । जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घरमै घ्यू उत्पादन गर्दैआएको उहाँले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “बाउबाजेको पालादेखि घोरदौरामा चिउरीको राम्रो उत्पादन हुँदै आएको छ, हामीले पनि प्रत्येक वर्ष घ्यू उत्पादन गर्दै आएका छौँ ।” चिउरीकै घ्यू प्रयोग गरेर खाना पकाउँदै आएको गिरीले बताउनुभयो । तिहारमा रोटी पकाउन पनि चिउरीको घ्यू प्रयोग गर्ने उहाँले बताउनुभयो ।

 

बजारको तेलप्रति रुचि नभएको उल्लेख गर्दै उहाँले घरमै एकपटक चिउरीको बियाँ पेलेपछि वर्षभरिलाई पुग्ने गरेको बताउनुभयो । गाउँका सबै मिलेर चिउरी कुट्ने, पेल्ने गरेका छौँ, एक्लै काम गर्न गाह्रो हुन्छ गाउँघरका सबै मिलेर पालैपालो काम गर्ने गरेको गिरीले बताउनुभयो ।

 

    सोही ठाउँका खडकबहादुर महरा पनि चिउरी पेल्न आएकाले पालो कुरेर बसेको बताउनुभयो । पैसा तिर्नु नपर्ने जङ्गलमा त्यसै खेर गइरहेको चिउरीको दानाबाट अग्र्यानिक खाना खान पाएको उहाँले बताउनुभयो ।

 

“बजारको तेल किन्नै पर्दैन, पैसाको पनि बचत हुन्छ”, उहाँले भन्नुभयो । आफूलाई पुगेर बचेको घ्यू बिक्री गरेर आम्दानी गर्ने गरेको महराले बताउनुभयो । चिउरीको घ्यू स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । चिउरीको घ्यूमा कुनै मिसावट हँुदैन आफैँले टिप्ने र पेल्ने गरेकाले शुद्ध हुने उहाँको भनाइ छ ।

 

चिउरी असारमा पाक्छ । साउनमा टिप्ने गरिन्छ । महराले भन्नुभयो, “चिउरी खाएर रहेको बियाँलाई धोएर नबिग्रने गरी सुरक्षित राख्छौँ ।” एक वर्षमा झण्डै तीन मुरी चिउरी टिप्ने गरेको वर्षभरिलाई पुग्ने गरेको उहाँले बताउनुभयो ।

 

“यसलाई बजारमा बिक्री गर्न नलैजाने गाउँघरमै बित्रली हुने गरेको छ । घ्यू किन्न आउनेलाई रु आठ सय धार्नीमा बिक्री गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो । त्यहाँका सबैजसोले चिउरी टिप्ने गरेको महराले बताउभयो । एक महिना दुःख गर्यो भने वर्षभरि खान पुग्ने चिउरी घ्यू हुन्छ, त्यसैले गाउँले सबै मिलेर बिजुला टिप्ने गरेको बताउनुभयो ।


 
घोराही उपमहानगरपालिका–१८ का वडाध्यक्ष भरत अर्यालले चिउरीको घ्यू पेल्ने कोल र ढिकीलाई संरक्षण गरेको बताउनुभयो । खुला आकाशमुनि रहेको परम्परगत कोलको संरक्षण गर्न वडा कार्यालयले रु एक लाख उपलब्ध गराएको उहाँले बताउनुभयो ।  
–––

प्रतिकृया दिनुहोस