• आइतबार-कार्तिक-४-२०८१

‘एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन अध्यक्ष  दाहालको सुझाव  


काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन सुझाएका छन् । 


निजि निवास खुमलटारमा शनिबार एनआरएनए अभियन्ताहरूको एक टोलीसँगको छलफलमा अध्यक्ष दाहालले विवादकै कारण एनआरएनए तितरबितरको अवस्थामा पुगेको प्रति चिन्ता व्यक्त गरे ।  


फुटेर नभई एकताबद्ध भएको खण्डमामात्रै समृद्ध नेपाल निर्माणका लागि एनआरएनएको भूमिका प्रभावकारी हुन सक्ने उनको भनाइ छ ।


विगतदेखि नै आफूले एकताबद्ध एनआरएनएका लागि भूमिका खेलेकोसमेत प्रचण्डले भेटका क्रममा स्मरण गरे ।  


२०८० असारमा प्रचण्डकै मध्यस्थतामा विभाजित अवस्थामा रहेका तत्कालीन दुई एनआरएनए (अध्यक्ष बद्री केसी, कुल आचार्य र रविना थापा पक्ष तथा विनोद कुँवर पक्ष)बिच एकता गर्ने सहमति जुटेको थियो ।
तर, त्यतिबेलाका तीन अध्यक्षमध्ये बद्री केसीले नचाहेसँगै एकता भाँडिएको थियो भने पछि विवाद थप बढेर विभिन्न समूहमा एनआरएनए रहेका छन् ।


अध्यक्ष दाहालले भने, ‘एनआरएनए प्रवासमा रहेका नेपालीहरूको सुखदुखको साथी हो । तपाईंहरुको जुन उद्देश्य छ, एक नभईकन त्यो पूरा हुन गाह्रो छ । विगतमा पनि मैले एकताका लागि पहल गरेको थिएँ । अब पनि त्यसका लागि पहल गर्छु ।’


सो अवसरमा एनआरएनए अभियन्ताहरूले एनआरएनएसँग सरोकार राख्ने विषयहरूबारे प्रचण्डको ध्यानाकर्षण गराएका थिए । 


पूर्वअध्यक्ष कुल आचार्यले गैरआवासीय नागरिकता कार्यान्वयनमा ढिलाइ भएकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । 


उनले भने, ‘यहाँकै हातबाट लिएको गैरआवासीय नेपाली नागरिकता अहिलेसम्म प्रयोगमा आउन सकेको छैन’, गैरआवासीय नागरिकता कार्यान्वयन हुन नसक्दा लाखौँ गैरआवासीय नेपाली चिन्तित छौँ । यसमा यहाँबाट सहजीकरणको अपेक्षा राखेको छु । ’


संविधानमा भएको व्यवस्थाअनुसार गैरआवासीय नेपाली नागरिकताबारे स्पष्ट व्यवस्था गरेर सम्पत्तिको सुरक्षा लगायतमा तलमाथि नहुनेगरी आवश्यक व्यवस्था मिलाउनका लागि समेत उनले आग्रह गरे । 

प्रतिकृया दिनुहोस