• मंगलबार-असोज-२२-२०८१

सडक सञ्जाल पुनःसञ्चालनमा आएपछि सामान्य बन्दै हवाई उडान


काठमाडौँ, २२ असोज : बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि बढेको हवाई उडान चाप विस्तारै सामान्य बन्दै गएको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि विकल्पका रुपमा रहेको हवाई उडानमा अत्यधिक चाप भएको थियो । पछिल्ला दिनमा विभिन्न नाका भएर काठमाडौँ भित्रिने र बाहिरिने सडक सञ्जाल पुनःसञ्चालनमा आउनथालेपछि हवाई उडान पनि सामान्य बन्दै गएको हो ।
     
मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले हवाई उडान सामान्य रूपमा सञ्चालन भइरहेको छ । बाढी, पहिरोलगायत विपत्तिका घटनाले सङ्घीय राजधानी काठमाडौँ भित्रिने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रुको चाप बढेको थियो ।

 

अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप भएको थियो । उडान चाप र यात्रु बढेपछि विमानस्थलको टर्मिनल भवना यात्रुको खचाखच भिडभाड देखिन्थ्यो । अन्तर्राष्ट्रिय विमानस्थलमा यही असोज १४ गते सोमबार एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ हवाई उडान भए । ती उडानमार्फत ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरेका थिए । आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँचसय अहिले उडान सामान्य बन्दै गएपछि विस्तारै भीडभाड कम हुँदै गएको विमानस्थल कार्यालयले जनाएको छ ।

     
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उडान चाप र यात्रु सङ्ख्या बढे पनि केही दिनअघि जस्तो भीडभाड नरहेको बताउनुभयो । “उडान चाप र यात्रुको सङ्ख्या त उस्तै, छ, तर, अघिल्लो दिन जस्तो अत्यधिक चाप र भिडभाड छैन”, उहाँले भन्नुभयो ।

     
प्रवक्ता शेर्पाका अनुसार यही असोज १३, १४, १५ र १६ गते उडान चाप थियो । पछिल्लो तीन दिनमा उडान सङ्ख्या केही कम भएको छ । विमानस्थलको विवरणमा यही असोज १९ गते दुईतर्फी दुई सय ९९, असोज २० गते तीन सय १८ र २१ गते तीन सय छ उडान भएको छ । यो हेलिकप्टरबाहेकको उडान सङ्ख्या हो । अन्तर्राष्ट्रियतर्फ पनि उडान सामान्य अवस्थामै सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

     
उडान चाप कम भए पनि यात्रुले अझै पनि गन्तव्य पुग्न सहज रुपमा हवाई टिकट पाउन सकेका छैनन् । यात्रुको मागअनुसार केही एयरलाइन्सले विभिन्न गन्तव्यमा उडान सङ्ख्या थपेर सेवा दिइरहेका छन् । यात्रुले महँगो शुल्क तिरेर भए पनि हवाई यात्रामार्फत गाउँ गएका छन् । बडादसैँको सङ्घारमा त्यसै पनि उडान चाप र यात्रुको सङ्ख्या बढी हुने गरेकामा यो पटक बाढी पहिरोलगायत विपत्तिका घटनाले सडकमार्ग अवरुद्ध बनाएपछि हवाई उडान चाप बढेको थियो ।
–––

 

प्रतिकृया दिनुहोस